लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस

समाधान संवाददाता २०८० असार २१ गते १५:०३

लेखनाथ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटकीय राजधानी बनाउने उद्घोष गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघको २७ औं संस्थापना दिवस तथा २६ औं वार्षिकोत्सवमा उनले पोखरालाई पर्यटकीय ह्बको रुपमा विकास गर्ने प्रचुर सम्भावना भएको जनाए ।


मुख्यमन्त्री पाण्डेले लेखनाथ उद्योग वाणिज्य संघद्वारा वेगनासतालमा निर्मित बेगनास ताल बोर्डसमेत अनावरण गरे । पोखरा महानगरका प्रमुख धनराज आर्चायले पोखरा र लेखनाथका बीचमा देखिएको असमझदारी अन्त्य गर्दै भावनात्मक रुपमा जोडिएका मनलाई बहकाउमा नलाग्न आग्रह गरे । उनले विकास निर्माणका साथै नीति निर्माण र बजेट विनियोजनमा लेखनाथ र पोखराका वडाबीच विभेद नभएको दाबी गरे ।


लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयलेसंघ उद्योग व्यवसायीको संस्थामात्र नभई सबै जातजाति, सामाजिक संघ, संस्थाहरुको प्रतिनिधि भएको जनाए । पुँडिटारमा औद्योगिक क्षेत्र बनाउन स्थानीय स्रोतसाधन र जनसहभागिताबाट सम्भव रहेको र यसका लागि गम्भीर हुन दुवै स्थानीय र प्रदेश सरकारलाई उनले आग्रह गरे । उनले बैंक ब्याज दर कम गर्न, घरभाडा वृद्धि नगर्न र न्यूनतम पारिश्रमिक बृद्धि नगर्न सबै पक्षसँग आग्रह गरे ।

Advertisement


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरजकृष्ण वैद्य, नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक राजु राई, लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्व अध्यक्ष चतुराखर अधिकारी, वागलुङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल, लेउवा संघका उपमहासचिव जानुका पराजुली लगायतले बोलेका थिए ।


संघले स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा ३२ को श्री राधाकृष्ण वृद्धाश्रममा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । आश्रमका अध्यक्ष प्रेम लिगललाई सो रकम प्रदान गरियउउो । लेखनाथ उद्योग महोत्सव २०७९ मा उत्कृष्ट शैक्षिक प्रदर्शन गरेवापत त्रिभुवन शान्ति माविलाई ५० हजार र व्यवसाय प्रर्वद्धन तथा सर्भेक्षण कार्यका लागि त्रिवेणी इन्टरनेसनल कलेजलाई ५० हजार, व्यवसायी कल्यणकारी कोष अन्तर्गत आगलागीबाट क्षति भोगेका संघका सदस्य शोभामोहन सुवेदीलाई ५० हजार, पावरहाउस बजार व्यवस्थापन समितिलाई उज्यालो कार्यक्रमका लागि ४० हजारको चेक हस्तान्तरण गरिएको छ ।

Advertisement


व्यवसायी सम्मान कार्यक्रम अन्तर्गत पोखरा ३१ माझीकुनाका पर्यटन व्यवसायी सूर्यप्रसाद लामिछानेलाई सम्मान गरिएको छ ।

यस्तै, संघद्वारा प्रदान गरिने १ लाख १ हजार बराबरको नगद पुरस्कार चन्द्र लक्ष्मी ज्येष्ठ नागरिक सम्मान पुरस्कारबाट समाजसेवी भक्तराज श्रेष्ठलाई सम्मान गरिने भएको छ ।


कार्यक्रमम संघका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ र महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया