विद्यालय वडाध्यक्ष कपकाे उपाधि फिस्टेल एकेडेमीलाई

समाधान संवाददाता २०७६ जेठ २० गते १२:१२

समाधान संवाददाता
पोखरा

पोखरा १७ ले आयोजना गरेको अन्तर विद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगितामा फिस्टेल एकेडेमी च्याम्पियन बनेको छ । आइतबार भएको फाइनलमा ढुंगेसाँघु बोर्डिङ स्कुललाई ३–० गोलले हराउँदै फिस्टेलले उपाधि उचालेको हो ।

फिस्टेलले २५ हजार र ढुंगेसाँघुले २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । पार्दी माविले तेस्रो हुँदै १० हजार र चौथो शान्ति निकुञ्जले ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । फिस्टेलका मिलन गिरी प्रतियोगिताकै बेस्ट प्लेयर बने । पार्दी माविका सन्दीप बैजु उत्कृष्ट किपर, ढुंगेसाँघुका कौशल पुनमगर उत्कृष्ट डिफेन्डर, फिस्टेलका सञ्जय गुरुङ उत्कृष्ट मिड फिल्डर, फिस्टेलकै आयुष गुरुङ उत्कृष्ट फरवार्ड र फिस्टेलकै राजेन्द्र तामाङ उत्कृृष्ट प्रशिक्षक बने । उनीहरुले जनही नगद १ हजारसहित ट्रफी पाए ।

Advertisement

फाइनलमा फिस्टेलका प्रशान्त रानाभाट, सञ्जोग गुरुङ र आयुष गुरुङले गोल गरेका थिए । सञ्जय म्यान अफ दि म्याच बने । पूरै खेल अवधिभर फिस्टेलले ढुंगसाँघुलाई दबाबमा राखेको थियो ।

विजेतालाई पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, क्लब अध्यक्ष पदमबहादुर ढकाल, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी वसन्त गौचन लगायतले पुरस्कार प्रदान गरे । कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी वसन्त गौचन, क्लबका पूर्व अध्यक्ष रमेशकुमार गुरुङ र आयुष गुरुङलाई प्रशंसापत्रसहित क्लबले सम्मान ग¥यो ।

Advertisement

पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले मुख्य रेफ्री गम्भीर परियारलाई बल हस्तान्तरण गरी फाइनल खेल उद्घाटन गरे । जिसीले जाग्गा उपलब्ध हुन सके आगामी बजेटमा महानगरमा खेलग्राम बनाउने योजना सुनाए । मेयर जिसीले प्रत्येक वडामा कम्तीमा १ खेल मैदान निर्माण गरी व्यवसायिक खेलाडी उत्पादन र खेल पर्यटन प्रवद्र्धन गर्न महानगर लागेको बताए । उनले भने, ‘स्वस्थ रहन र राष्ट्रिय र अन्तर्राष्ट्रिय गौरव बढाउन खेल क्षेत्रले विशेष भूमिका खेल्न सक्छ ।’

पोखरा महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष तीर्र्थराज अधिकारीले आगामी वर्षमा पनि वडाध्यक्ष कपलाई निरन्तरता दिने प्रतिवद्धता गरे । उनले वडाभित्र रहेका गल्फ कोर्ष मैदानलाई व्यवस्थित गर्ने र पावरहाउसमा खेलमैदान निर्माण गर्ने योजना सुनाए । विकास, निर्माणको तुलनामा निकै थोरै बजेट भए पनि यो कार्यक्रमले विद्यार्थी र खेलप्रेमीमा हौसला थपेको उनको भनाइ छ ।

पोखरा १७ का वडा सदस्य तथा खेल संरक्षक राधिका शाही योगीले वडा कार्यालयको दोस्रो वार्षिकोत्सवको अवसरमा रचनात्मका काम थालनी गरिएको बताइन् । महानगर कार्यपालिका सदस्यसमेत रहेकी शाहीले वार्षिकोत्सवको अवसरमा सरसफाइ, कानुनी सचेतना, वडाले गरेका काम सार्वजनिक जस्ता कार्यक्रम भएको जानकारी दिइन् ।

क्लबका अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव कीर्तिबल्लभ त्रिपाठीले पनि बोलेका थिए । प्रतियोगितामा पोखरा १७ का १७ विद्यालय सहभागी थिए ।

त्यसअघि डेमसाइड क्लब र जनप्रतिनिधिबीच मैत्रीपूर्ण स्पर्धा भएको थियो । प्रतियोगितामा डेमसाइड क्लबले ३–१ ले जनप्रतिनिधिको टोलीलाई पराजित गर्‍यो ।

तपाईको प्रतिक्रिया