सोलुखुम्बुको प्रहरी चाैकीमा विप्लवद्वारा आक्रमणकाे प्रयास, सेनाकाे हेलिकप्टर गस्तीमा पठाउने तयारी

समाधान संवाददाता २०७६ जेठ २० गते १६:००

समाधान संवाददाता, काठमाडाैं

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामा प्रहरी चौकी आक्रमण प्रयास गरेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक डाकिएको छ ।

प्रहरी चौकीमा आक्रमण प्रयास र सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सारिएको विषयमा गृहमन्त्री रामबहादुर थापाले सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक डाकेका हुन् ।

Advertisement

बैठकमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी प्रमुख तथा गृहका उच्च अधिकारीहरू छन् । गृहले यसलाई ‘नियमित बैठक’ भनेको छ । गृह स्रोतका अनुसार विप्लव माओवादीबाट त्यहाँ हुनसक्ने सम्भावित गतिविधि रोक्न रणनीति बनाउने उद्देश्यले बैठक डाकिएको हो ।

सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षक शालिकराम शर्माको टोली छेस्का पुगिसकेको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा रहेको प्रहरी चौकी खाली गराइसकिएको छ । त्यहाँका प्रहरीलाई आइतबार राति नै सुरक्षित स्थानमा सारिएको छ ।

Advertisement

मध्यराति विप्लव माओवादीको ठूलो समूह चौकीमा पुगेको थियो, त्यसबेलासम्म चौकीमा प्रहरी थिएनन् ।

प्रहरीले नेपाली सेनासँग हेलिकप्टर मागेको छ । सोलुखुम्बुमा हवाई गस्तीका लागि प्रहरीले सेनाको एमआई–१७ हेलिकप्टर मागेको हो । उक्त हेलिकप्टर तयारी अवस्थामा राखिएको सैनिक स्रोतले जनायो ।

तपाईको प्रतिक्रिया