मातृभाषामा पठनपाठनका लागि बजेटमार्फत् सम्बोधन गरेका छौंः मन्त्री आले

समाधान संवाददाता २०८० असार २७ गते १२:५९

पोखरा ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले आदिवासी जनजातिको मातृभाषा संरक्षणका लागि प्रदेश सरकारले बजेटमार्फत् विशेष सम्बोधन गरेको बताएका छन् ।

Advertisement


नेपाल मगर संघ, माटेपानी इकाई समितिको २९ औं स्थापना दिवसका अवसरमा सोमबार पोखरामा आयोजित प्रथम सहिद लखन थापामगरको सालिक अनावरण तथा स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले स्थानीय तहसँग समन्वय गरेर मातृभाषामा पाठ्यक्रम निर्माण गर्न प्रदेश सरकारले बजेटमार्फत् विशेष सम्बोधन गरेको उल्लेख गरे ।


मगर भाषाको संरक्षण गर्न समुदायले पनि विशेष चासो दिनुपर्ने उल्लेख गर्दै उनले नयाँ पुस्तालाई मातृभाषा बोल्न सिकाउन आवश्यक रहेकोमा जोड दिए । एक अर्को प्रसंगमा उनले नेपालमा प्रजातन्त्र ल्याउन र जहाँनियाँ निरंकुश राणा शासनको अन्त्यका लागि प्रथम सहिद लखन थापामगरको सहादत महत्वपूर्ण रहेको उल्लेख गरे ।


पोखरा महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले मगर जाति लगायत विभिन्न जातजातिको भाषा, संस्कृति संरक्षणका लागि वडाले विशेष चासो दिएको बताए । कार्यक्रममा नेपाल मगर संघ, कास्कीका अध्यक्ष रामबहादुर थापामगर, नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगर, नेपाल मगर सांस्कृतिक संघ, कास्कीकी अध्यक्ष सरिता सारूमगर, मगर संघ, माटेपानी इकाई समितिका पूर्व अध्यक्षहरू डिलबहादुर श्रीसमगर, पूर्व प्रहरी नायब निरीक्षक चन्द्रप्रकाश थापामगर, मोतीश्वर थापामगर, संस्थापक उपाध्यक्ष भक्तबहादुर थापामगर, नेपाल मगर महिला संघ, माटेपानी इकाई समितिकी अध्यक्ष तुलसी थापामगर, मगर अगुवा पदमबहादुर पुनमगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


नेपाल मगर संघ, माटेपानी इकाई समितिका अध्यक्ष सुबेदार पूर्णबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायणसिंह मास्कीमगर र सचिव इन्जिनियर बमबहादुर श्रीसमगरले पनि बोलेका थिए । कार्यक्रममा नेपाल मगर संघ, माटेपानी इकाई समिति र नेपाल मगर सांस्कृतिक संघ, कास्कीको तर्फबाट मौलिक कौरा नृत्य प्रस्तुत गरिएको थियो । लोक तथा दोहोरी गायिका दिलु श्रीसमगरले सांगीतिक प्रस्तुति राखेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया