हिमपहिरोग्रष्त क्षेत्रमा वृक्षरोपण

समाधान संवाददाता २०८० असार २७ गते १३:२५

जोमसोम ।
मुस्ताङको थासाङ गाउँपालिका—२ नाउरिकोट माथिको हिमपहिरोग्रष्त क्षेत्रमा वृक्षरोपण गरिएको छ । थासाङ गाउँपालिका तथा डिभिजन वन कार्यालयको सहयोगमा हिमपहिरोग्रष्त क्षेत्र नाउरिकोट जंगलमा १६ सय वटा बिरुवा रोपण गरिएको हो ।


नाउरिकोट, लार्जुङ, बोक्सीखोला, कोबाङ, खन्ती लगायत गाउँहरुको संयुक्त जगंल क्षेत्र रहेको सो क्षेत्रमा हिमपहिरोले सयौं रुखहरु ढलेर क्षति पुगेको थियो । २०७८ साल कात्तिकमा धौलागिरि क्षेत्रको मानापाथी हिमालको फेदबाट आएको हिमपहिरोले सो स्थानको जंगल क्षेत्र ढलेर उजाडिएका थिए । सो स्थानलाई पुन हरियाली गराई साविककै स्थानमा ल्याउन थासाङ गाउँपालिका र डिभिजन वन कार्यालयले पहल गरेको हो ।


थासाङ गाउँपालिकाले हिमपहिरोग्रष्त क्षेत्रको करिब १ हेक्टर क्षेत्रफलमा ४ लाख ५० हजार बजेट खर्च गरेर फलामे ट्रससहितको तारबार लगाइएको छ । चरन क्षेत्रमा छाडिएका पशुचौपाया र अन्यबाट विरुवालाई सुरक्षित राख्न थासाङ गाउँपालिकाले सुरक्षित वृक्षरोपण पूर्वाधार निर्माण गरेको बताइएको छ ।

Advertisement


डिभिजन वन कार्यालय मुस्ताङले आफ्नो स्वामित्वमा रहेको थासाङ—३ लेतेस्थित नर्सरीबाट बिरुवा उपलब्ध गराएर स्थानीय उपभोक्ता समितिमार्फत वृक्षारोपण गरेको हो । चालु वर्षको वार्षिक कार्यक्रम अनुसार डिभिजन वन कार्यालयले थासाङ—२ नाउरिकोट माथिको क्षेत्रमा १४ सय थान गोब्रे सल्ला र २ सय थान धुपी सल्लाका बिरुवा रोपिएको डिभिजन वन कार्यालय मुस्ताङका प्रमुख वसन्तकेशव अधिकारीले जानकारी दिए ।


थासाङको मानापाथी हिमालबाट पटक÷पटक हिमपहिरो खस्ने गर्दा त्यसक्षेत्र हिमपहिरोको उच्च जोखिममा छन् । हिमपहिरोले प्राकृतिक स्रोतसाधनमा ठूलो क्षति हुने गरेको छ । पछिल्लोपटकको हिमपहिरोले उच्चलेकमा पालन गरिएका दर्जनौं याकचौरी हिमपहिरोमा बेपत्ता भएका थिए । हिमपहिरोग्रष्त क्षेत्रको एक तिहाईमा मात्र अहिले वृक्षरोपण गरिएको हो । हिमपहिरो ग्रष्त क्षेत्रमा अहिले पनि दर्जनाैं सल्ला, धुपी लगायतका रुखहरु ढलेर क्षति भएको देख्न सकिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया