आँधीमय समयकी अभिभावक

समाधान संवाददाता २०८० असार २८ गते ११:२८

काठमाडौं ।

Advertisement

कम्युनिस्ट आन्दोलनमै जीवन समर्पित गरेकी माओवादी केन्द्रकी सल्लाहाकार तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवनसाथी सीता दाहालको बुधबार निधन भएको छ । पार्किन्सन जस्ता विभिन्न रोगबाट विगत २ वर्षदेखि अचेत अवस्थामा रहेकी दाहालको बुधबार बिहान ८ः३३ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।


पशुपति आर्यघाटमा बुधबारै उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरियो । दाहालको निधनपछि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठकले उनको त्याग र योगदानप्रति आत्मसात गर्दै नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था सरकारले मिलाएको थियो ।


बिहान नर्भिक हस्पिटलमा निधन भएपछि सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । पेरिसडाँडाबाटै अन्तिम संस्कारका लागि पशुपति लगिएको थियो । प्रधानमन्त्री दाहालले पत्नी सीताको पार्थीव शरीरमा दागबत्ती दिएका थिए । दाहसंस्कारअघि सीताको शव पशुपतिको ब्रह्मनालमा राखिएको थियो ।

ब्रह्मनालमा प्रधानमन्त्री प्रचण्डसहित उनका छोरी रेणु, गंगा, बुहारी सिर्जना त्रिपाठी र बिना मगरले श्रद्धाञ्जली दिएका थिए ।

Advertisement

नाति, नातिनीहरूले पनि सीतालाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

माओवादी सशस्त्र जनयुद्ध हाँक्ने कमान्डर प्रचण्डको जीवनलाई लयमा राख्न समेत एक पत्नीका रुपमा सीता दाहालले कमाण्डरकै भूमिका निर्वाह गरेकी थिइन्


दाहालको निधनप्रति उनको पार्टी माओवादी केन्द्र, नेपालका राजनीतिक दलहरु र विभिन्न व्यक्तिहरुले दुःख व्यक्त गरेका छन् । नेकपा (माओवादी) केन्द्रले पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालपत्नी सीता दाहालको निधनबाट पार्टीले अभिभावक गुमाएको बताएको छ । महासचिव देव गुरूङले शोक वक्तव्य जारी गर्दै सीताको निधनबाट पार्टीले क्षति बेहोरेको उल्लेख गरेका छन् ।


‘सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको छ । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पु¥याउनुभएको छ । सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समपर्ण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनु हुनेछ,’ गुरूङले जारी गरेको शोक वक्तव्यमा भनिएको छ ।


प्रधानमन्त्री पत्नी सीता २०११ असार २१ गते पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा जन्मिएकी थिइन् । २०२६ सालमा उनको प्रचण्डसँग विवाह भएको हो । २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा सक्रिय उनी पञ्चायतकालमै भूमिगत रहेको पार्टीले बताएको छ ।


‘सीताले जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लोसमय उहाँ पार्किन्सनजस्तो दुर्लभ रोग लगायत रोगहरूबाट ग्रसित हुँदै आउनुभएको थियो,’ महासचिव गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ ।


पोखराको हेमजाका हरिकला पौडेल र महेश्वर पौडेलको सन्तानका रुपमा जन्मिएकी सीता १० वर्षको छँदा उनको परिवार चितवन बसाइ गएको थियो । प्रचण्डसँग बिहेको २ वर्षपछि २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध भएकी थिइन् ।

उनी पार्टीको जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहिन् । पार्टी कामका लागि पञ्चायती कालमा लामो समय भूमिगत जीवन बिताएकी दाहाल देशमा माओवादी जनयुद्ध सुरु भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहिन् ।

पछिल्लो समय उनी पार्किन्सनजस्तो दुर्लभ रोग लगायतबाट ग्रसित हुँदै आएकी थिइन् । माओवादी सशस्त्र जनयुद्ध हाँक्ने कमान्डर प्रचण्डको जीवनलाई लयमा राख्न समेत एक पत्नीका रुपमा सीता दाहालले कमाण्डरकै भूमिका निर्वाह गरेकी थिइन् ।

१ लाखमा ६ जनालाई लाग्ने रोग
प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाल लामो समयदेखि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी)बाट ग्रसित थिइन् । सीताको नेपालका साथै अमेरिका र भारतका विभिन्न अस्पताल पु¥याएर उपचार प्रयास गरिएको थियो । तर, उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएन । उनलाई लागेको रोग उपचारै असम्भव खालको हो ।


एक लाखमा ६ जनालाई हुने रोग सीतालाई लागेको हो । हिमालखबर डटकमले स्वास्थ्य साइट वेभमेडलाई उद्धृत गर्दै भनेको छ, ‘पिएसपी दुर्लभ रोग हो । यो रोग हरेक एक लाखमा तीनदेखि ६ जनालाई हुन्छ ।’ हिँड्न गाह्रो बनाउने, निद्रा नलगाउने र मस्तिष्कमा रक्तसञ्चारलाई सुस्त गराउने समेत गर्छ । ‘सामान्यतया पिएसपीको लक्षण ६० वर्षको उमेर पुगिसकेका व्यक्तिमा देखिने गरेको भए पनि कसै कसैलाई यो रोगले चाँडै पनि समात्न सक्छ ।

यो रोगले सुरूआती चरणमा शरीरको चाल बिगारिदिन्छ । त्यसपछि बिस्तारै दृष्टिमा समस्या आउने, आँखाको गतिविधि सुस्त हुन्छ । रोग बढ्दै जाँदा मानिसको मनोदशा अस्थिर हुने, अवसाद, उदासी बढ्ने र कुनै कुरामा पनि रुचि हुँदैन,’ वेबसाइटमा भनिएको छ ।


पिएसपी एक प्रकारको असामान्य मस्तिष्क विकार भएको र यसले शरीरको गतिदेखि व्यक्तिको मनोदशा र सोचलाई समेत प्रभावित बनाउने अमेरिकाको न्यासनल इन्स्टिच्युट अफ न्युरोलोजिकल डिसअर्डर एन्ड स्ट्रोक (एनआइएनडिएस)लाई उद्धृत गर्दै हिमालले लेखेको छ ।

तपाईको प्रतिक्रिया