सम्पादकीयः हेलिकप्टर उडान जोखिमपूर्ण

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोही जिल्लाको लाम्जुरापास क्षेत्रको लिखु पिके गाउँपालिका–५ मा दुर्घटनाग्रस्त भयो । यो लगायत लगातारको दुर्घटनाले हेलिकप्टर उडानको सुरक्षामा प्रश्न उठाएको छ ।
नागरिक उड्डयन प्राधिकरणको पछिल्लो हवाई सुरक्षा प्रतिवेदन तथ्यांकअनुसार नेपालको हवाई इतिहासमा ४० वटा हेलिकप्टर दुर्घटना भइसकेका छन् । यस्ता हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ९७ पुगिसकेको छ ।
सन् २०१९मा पर्यटन क्षेत्रका विभागीय मन्त्री रवीन्द्र अधिकारीले नै हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनुपर्यो । मन्त्री र राज्यमन्त्री सहितका विशिष्ट व्यक्ति र कैयौँ सर्वसाधारणले ज्यान गुमाइसके पनि नेपालमा हेलिकप्टर दुर्घटनाको जोखिम कम गर्न पर्याप्त पहल हुन सकेको छैन ।
नेपालमा पछिल्लो दशक हिमाली दृश्यावलोकन, ढुवानी र उद्धारका लागि हेलिकप्टरको प्रयोग बढ्दो छ । विकट तथा कठिन भौगोलिक क्षेत्रमा प्राकृतिक विपत पर्दा र स्थानीय तथा पर्यटकहरु बिरामी पर्दा उद्धारका हेलिकप्टर प्रभावकारी यातायात साधन बनेको छ । दुर्गम क्षेत्रमा ढुवानी मात्र होइन, हिमाली भेगमा पर्यटकहरु ओसारपसारमा हेलिकप्टर प्रयोग बढ्दो छ ।
नेपालमा भएका धेरै उड्डयन दुर्घटनामा प्रतिकूल मौसम र त्यसको आंकलनमा हुने चालकको कमजोरी प्रमुख देखिएका छन् ।
नेपाली आकाश कति सुरक्षित छ, घातक हवाईजहाज दुर्घटना किन भइरहन्छ । पटक–पटक हुने यस्ता दुर्घटनाले युरोपियन युनियनको हवाई सुरक्षा चासोको सूचीबाट हट्न प्रयासरत नेपाललाई झनै अप्ठेरो पर्ने देखिएको छ ।
हेलिकप्टरले धेरै अवस्थामा हेलिप्याड नभएको स्थानमा ल्याण्ड गर्नुपर्ने बाध्यता समेत हुन्छ । भएका हेलिप्याडहरुमा सुधार गरेर दुर्घटना न्युन गर्न सकिने भएपनि त्यसतर्फ कसैले ध्यान दिएको छैन । एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्ने, कुहिरोभित्र नछिर्ने लगायतका तोकिएका मापदण्ड पालना नगर्ने, जमिनकै नजिक हेलिकप्टर उडाएर हवाई गतिविधि गर्ने र तोकिएको भन्दाबढी लोड बोक्ने गतिविधिमा हेलिकप्टर संलग्न भएका छन् । उपकरणमा समस्या आएको अवस्थामा विमान वा हेलिकप्टरहरूमा पूर्व सूचना दिने आन्तरिक प्रणाली पनि जडान गरिएको हुन्छ । यस्ता दुर्घटनाहरूमा अन्तिम अवस्थामा लिइने निर्णय नै प्रमुख देखिन्छ ।
हेलिकप्टर उडानमा पाइलट र त्यसको चेकजाँचका कम्पनीका कमजोरीका घटना पनि देखिएका छन् । हेलिकप्टर दुर्घटनापछि गठन भएका अधिकांश छानबिन आयोगले नेपालको कठिन भौगोलिक अवस्थिति, छिनछिनमा परिवर्तन हुने मौसम र मौसम तथा भूगोलको परवाह नगरी उडान गर्ने पाइलटको प्रवृत्तिलाई मुख्य कारण ठहर्याउने गरेका छन् । उच्च पहाडी भूभागको मौसम पूर्वानुमानका लागि पर्याप्त पूर्वाधार र स्रोतको अभावले त्यो क्षेत्रको उडान चुनौतीपूर्ण हुने गरेको छ । नेपालमा मौसम पूर्वानुमानको पूर्वाधार हुनुपर्नेमा त्यो नहुँदा सबैभन्दा गाह्रो भएको छ । यसका लागि सरकारले पर्याप्त बजेट छुट्टाएर काम थाल्नु पर्ने देखिन्छ ।
तपाईको प्रतिक्रिया