सम्पादकीय: रंगशालाको उपायोगिता

४० वर्षअघि पोखरामा पहिलोपटक रंगशाला निर्माण भएको थियो—राष्ट्रिय खेलकुदको छेको पारेर । ऊ बेलाको रंगशालाले ४ दसक जेनतेन धान्यो । हालै अर्काे राष्ट्रिय खेलकुदकै अवसरमा पोखरा रंगशाला पुननिर्माण भयो । रंगशाला नबन्दासम्म बनेन, कुनै खेल गतिविधि हुन पाएनन् भन्ने गुनासो र दुखेसो थियो । अहिले भने रंगशाला बनिसकेपछि फेरि गतिविधि भने नगन्य छन् ।
खेल क्षेत्रका सरोकारवाला र स्वयं सरकारले खेल गतिविधि नगर्दा नै रंगशाला प्रयोगविहीन हुन पुगेको छ । सबा १ अर्ब जति लगानी भएको रंगशाला बेकामे हुनु हुँदैन । राज्यले रंगशालामा गरेको लगानी भनेको केवल खेलकुदकोमात्रै लगानी होइन, त्यो स्वास्थ्यमा भएको लगानी पनि हो र युवाशक्तिमा भएको लगानी हो । खेलकुदले स्वास्थ्यमा योगदान दिने भनेको मुलुकको समृद्धिमा टेवा पु¥याउने पनि हो । स्वस्थ नागरिकले मात्रै देशलाई योगदान हुने सिर्जनशील कर्म गर्न सक्छन् । खेलकुदले जीवनलाई आफैमा पनि अनुशासित बनाउँछ, राष्ट्रिय पहिचान दिलाउँछ ।
पोखरा रंशाशाला नयाँ बनेपछिको १ वर्षयता ८ वटामात्रै प्रतियोगिता भएका छन् । मूल रुपमा फुटबल मैदान पोखरा रंगशालाको मुख्य पाटो हो । तर, त्यसैका गतिविधि शून्य प्राय छन् । अखिल नेपाल फुटबल संघ रंगशाला सञ्चालन जिम्मेवारीको पर्खाइमा छ । तर राष्ट्रिय खेलकुद परिषदले आफै वा अरु कसैबाट यसलाई गतिदिने काम गरेको छैन । अर्काेतिर पोखरामा भइरहेको रंगशाला प्रदेश सरकार मातहत दिन ध्यान कसैको पुगेको छैन ।
अहिलेसम्म पनि संघ मातहतको क्षेत्रीय खेलकुद र प्रदेशको खेलकुद परिषद समानान्तर हिसाबले चलिरहेका छन् । खेलकुदमा संघीयता त आएन नै यो क्षेत्रका समस्या समाधानमा पनि ध्यान पुगेन । त्यसैको एउटा कडी रंगशाला पनि भएको हो । खेल क्षेत्रलाई सरकारले निकै उपेक्षा गर्दा रंगशाला अलपत्र परेको हो भन्न हिच्किचाउनु पर्दैन । त्यस्तो हुँदैनथ्यो भने त्यतिका लगानी गरी बनेको रंगशाला अलपत्र पारी त्यहाँका सरसामान टुटफुट हुने दिइने थिएन । रंगशाला बन्नु एउटा महत्वपूर्ण कुरा हो, तर त्यसको सञ्चालन, उपयोगिता र संरक्षण पनि उत्तिकै महत्वपूर्ण पक्ष हो । त्यसतर्फ ध्यान दिएर काम गर्न सरोकारवाला र सरकार लाग्नुपर्छ । त्यसो गर्न जति ढिला भयो रंगशाला उति नै भत्कँदै र बिग्रँदै जान्छ ।
तपाईको प्रतिक्रिया