सम्पादकीयः बर्खा, जोखिम र सचेतना

समाधान संवाददाता २०८० साउन १ गते १२:००

बर्खा उत्कर्षमा छ । साउन आजदेखि लाग्यो, ऋतु नै वर्षा हुन् साउन भदौ । यही बेला सबैभन्दा धेरै पानी पर्छ । खेतीपातीका लागि पानी नभई नहुने हुँदा पानी पर्नु राम्रो हो । तर पानीले ल्याउने जोखिम पनि उस्तै छन् । हरेक वर्ष नेपालमा बाढीपहिरोमा परी २ सय मानिसको ज्यान जान्छ । मनसुन सक्रिय नहुँदै पूर्वी नेपालमा दुई दर्जन व्यक्ति पहिरोमा पुरिएर बिते, ३ दर्जन त अझै बेपत्ता छन् । यो बेला जोखिम जताततै छ । नेपाल राज्य कतिसम्म उदासीन छ भने जोखिम क्षेत्रहरुको खासै पहिचानै गरेको छैन । जब बर्खा लाग्छ र विपद आउँछ अनि उद्धार गरेजस्तोमात्रै हुन्छ ।

Advertisement


उत्तरदायी राज्य नहुनुको दुख नागरिकले भोग्नुपर्छ । तसर्थ यस्तो बेला कसैको भर नपरी नदी किनारका बस्तीका नागरिकहरु चनाखो हुन जरुरी छ । पहिरोको जोखिम हुने क्षेत्रका बासिन्दा सचेत हुन जरुरी छ । सहरी क्षेत्रमै पनि पानी बग्ने नाली छैन, सडकमै पानी बग्दैनमात्रै मान्छे पनि बगाउँछ । तसर्थ होसियार हुन जरुरी छ । आफू सचेत भई अरुलाई पनि सचेत तुल्याउन जरुरी छ ।

पानीको उचित निकास निर्माण गर्न ३ वटै सरकारले आआफ्नो स्तर र गच्छेअनुसारका कर्तव्य पूरा गरी काम गर्न आवश्यक छ । नदीहरुमा बाढी आउने संकेत जनाउने यन्त्रहरु राख्न जरुरी छ । पूर्वसूचना दिएर नागरिकलाई सुरक्षित पार्नु उनीहरुको दायित्व हो । विपद आइसकेपछि तातिनुभन्दा पहिल्यै नियन्त्रण र रोकथाम गर्नु बुद्धिमत्ता काम हो । तर हाम्रोमा पनि प्रवृत्ति सुध्रिएको छैन—जब आयो विपद तब सरकार तात्योको स्थिति छ ।


स्थानीय सरकार वा प्रदेश र संघ सरकारले दीर्घकालीन रणनीति नै बनाएर जोखिम क्षेत्रहरुको पहिचान गर्ने, जोखिमका बस्ती स्थानान्तरण गर्ने कर्तव्य पूरा गर्नुपर्छ । त्यसका लागि उनीहरुलाई दबाब जरुरी छ । त्यसो त यसअघिका विपदका प्रभावितहरुको पनि उचित बन्दोबस्ती वा पुनस्थापना भएकै छैन । विपद आउँदासम्म मन्त्री र सांसदहरुले चासो दिए झै गर्छन् तर, त्यसपछि हराउँछन् । उनीहरुको सहानुभूति केवल गोहीको आँसु जस्तोमात्रै हुन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया