डेंगुको डरः पाेखरामा ८२ जना संक्रमित

प्रमिला कुँवर २०८० साउन ३ गते ११:२६

पोखरा ।
वर्षायामसँगै पोखरामा डेंगु संक्रमितको संख्या बढ्न थालेको छ । यो वर्षको मनसुन सुरु भएयता पोखरामा ८२ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ । विस्तारै डेंगु संक्रमण फैलन सक्ने जोखिम बढेको स्वास्थ्य अधिकारीहरु बताउँछन् ।

Advertisement


डेंगु लाग्न नदिने उपाय सामान्य छ तर संक्रमित भएपछिको खतरा धेरै ठूलो हुने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बद्री आचार्यले बताए । घर वरपर पानी जम्न नदिनु र सरसफाइमा विशेष ध्यान दिएमा मात्र डेंगुबाट बँच्न सकिने उनको भनाइ छ ।


डेंगु संक्रमणको जोखिम असार अन्तिम सातादेखि असोज अन्तिम साता सम्म बढि हुने र अबको चार महिना डेंगु संक्रमण उच्च हुने आचार्यले आंकलन गरे । लामखुट्टेको टोकाइबाट हुने डेंगुले पछिल्लो समय महामारीको रुप लिने गरेको छ । गत वर्ष महामारीको रुप लिएको डेंगु संक्रमण योपटक पनि बढ्न सक्ने जोखिम भएकाले यसको नियन्त्रणका लागि स्थानीय निकाय तथा सम्बन्धित निकाय बेलैमा सचेत हुनुपर्ने उनले औंल्याए ।


‘अहिले नै डेंगुले महामारीको रुप लिइसकेको छैन । जनचेतना जोगाउन सकेमा निर्मूल पार्न सकिन्छ । प्रदेश तथा पालिकाको मुख ताकेर बस्नुभन्दा स्थानीय निकाय आफैं अग्रसर भएर नियन्त्रण अभियान सञ्चालन गर्नुपर्छ,’ आचार्यले भने ‘स्थानीय तह तथा स्वास्थ्य संस्थाले बेलैमा सावधानी अपनाउन सके यसले विकराल रुप लिनबाट बच्न सकिन्छ ।’

पोखरामा यो वर्षा मौसम सुरु भएयता ८२ जनामा डेंगु संक्रमण देखिइसकेको छ

Advertisement


पोखरामा डेंगु संक्रमणको जोखिम अझै बढी पोखराको वडा नम्बर ९ मा रहेको उनी बताउँछन् । डेंगु नियन्त्रण अभियान प्रत्येक वडामा गर्न आवश्यक रहेको उनले बताए । डेंगु संक्रमण नियन्त्रण गर्न सरकारको भन्दा पनि आम नागरिकको महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ ।


विद्यार्थीलाई डेंगुका बारेमा जानकारी दिन सके बढी प्रभावकारी रहने उनले विश्वास व्यक्त गरे । स्वास्थ्य संस्थाहरु विद्यालयमा गएर विद्यार्थीलाई १० मिनेटमात्र सूचना दिएर ठूलो क्षति हुनबाट रोक्न सकिने उनले सुझाए । ‘विद्यार्थीले आफूले जानेको कुरा घरका सदस्यलाई सुनाउँछन् जसले डेंगु नियन्त्रणमा ठूलो सहयोग पुग्नेछ,’ उनले भने ।


के हो डेंगु
एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण फैलिन्छ । यो लामखुट्टेले एक पटकमा ८ सयदेखि १ हजारवटासम्म फुल पार्न सक्छ ।


नेपालमा डेंगु गराउने एडिजको जातको लामखुट्टेको सेरोटाइप १, २ र ३ देखिएका छन् । यो जातको लामखुट्टेका फरकफरक सेरोटाइपले टोकेको अवस्थामा स्वास्थ्यमा पर्ने असर जटिल हुन्छ । डेंगु लागेमा मानिसको सेता रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ ।


बच्ने उपाय
पानी छोपेर राख्ने, लामो समयसम्म पानी जमाएर नराख्ने, पानीलाई बिर्कोले छोपेर राख्ने तथा दिनमा देखिने लामखुट्टे नष्ट गर्ने विधि अपनाउनुपर्छ । शशीर पूरा ढाकिने गरी कपडा लगाउनु पर्छ ।


लामखुट्टेको टोकाइबाट बच्न मल्हम जस्ता सामग्रीको प्रयोग गर्नुपर्छ । झुलभित्र सुत्नुपर्छ । घर वरपर वा घर भन्दामाबाहिर कामगर्न जाँदा लामखुट्टेले टोक्छ कि ध्यान पुर्‍याउनुपर्छ । झ्याल र ढोकामा जाली लगाएर बन्द राख्नुपर्छ । पानी राख्ने भाडाहरु जस्तै पानी ट्यांकी, गाग्री, दहीको कतौरा, बाल्टिन, ड्रम आदि सधैं छोपेर राख्नुपर्छ । लामखट्टेको नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिन खाल्डा—खुल्डी पुर्नुपर्छ । घर आँगन सफा राख्नुपर्छ ।


लामखुट्टेले सफा पानीमा फुल पार्ने हुनाले लामो समयसम्म एउटै ठाउँमा पानी जम्मा गरेर राख्नु हुँदैन । पुराना टायर, पानी जम्न सक्ने भाँडाकुँडा, पुराना बट्टा खाल्डो खनेर नष्ट गर्नुपर्छ । गमला फूलदानी एअर कुलर जस्ता पानी जम्ने सामग्रीको पानी हप्तामा एक पटक नियमित रुपमा सुख्खा हुने गरी सफा गर्नुृपर्छ । त्यस्तै खानेपानीको पाइप तथा ढलहरु चुहिने भए तुरुन्त मर्मतको व्यवस्था गर्नुपर्छ ।


लक्षणहरु
चिकित्सकका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको हुन सक्ने बुझ्नुपर्छ । डेंगु ज्वरो आउँदा शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ । टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने, रातोरातो बिमिरा देखिने लगायत डेंगुका लक्षण हुन् ।

  • असाध्यै टाउको दुख्ने
  • आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
  • ढाड, जोर्नी तथा मांसपेशी दुख्ने
  • शरीरमा बिमिरा आउने
  • खानामा अरुचि
  • पेट दुख्ने
  • नाक वा गिजाबाट रगत बग्ने
  • रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया