दुर्घटनामा घाइतेको उपचारमा समस्या

समाधान संवाददाता २०८० साउन ३ गते १४:३८

पोखरा ।
आर्थिक अभावका कारण पोखरा १४ चाउथेमा डेरा गरी बस्दै आएका मनिष विश्वकर्माको उपचारमा समस्या भएको छ । गत वर्ष फागुन १५ गते राति काम गरेर पैदल कोठामा फर्किदै गरेका २२ वर्षीय मनिषलाई ग ६ प ४९४७ नम्बरको बाइकले ठक्कर दिएको थियो ।


ठक्करबाट घाइते मनिषको टाउकाको भित्री भागमा गम्भीर चोट देखिएकोमा हाल आर्थिक अभावकाले उपचारलाई निरन्तरता दिन नसकेको उनकी आमा उषाले बताइन् । चिकित्सकको अनुसार मनिषको टाउकोमा रगत जमेको थियो । एक महिना मणिपाल शिक्षण अस्पतालको आइसियुमा राखी टाउकोमा जमेको रगत निकालिएकोमा फेरि टाउकोमा पानी जमेको भन्दै मनिषका टाउकाको अपरेसन भएको उषाले सुनाइन् ।


हालसम्म टाउकाका २ वटा अपरेसन भएको र सो क्रममा मुस्किलले उपचार खर्च जुटाएकोमा अहिले फेरि घाँटीमा समस्या देखिएको उनले उल्लेख गरिन् । टाउकोमा बारम्बार पानी जम्दा मनिषको टाउको देखि पेटसम्म पाइप राखिएको छ ।

Advertisement


मनिषको घाँटीको थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल लैजान पोखराका चिकित्सकले सुझाव दिएका छन् । तर आर्थिक अभावका कारण मनिष घरकै ओछ्यानमा थला परेका छन् । हाल मनिषलाई अस्पतालबाट डिस्चार्ज गरी घरमै राखिएकोमा सास फेर्न गाह्रो भइरहेको र उपचार गर्न नसक्दा स्वास्थ्य अवस्था दिनदिनै बिग्रिएको भन्दै आमा उषाले आर्थिक सहयोगका लागि अपिल गरेकी छन् । मनिष दुर्घटनामा पर्नुअघि वाल आर्ट गर्थे ।


उनलाई सहयोगका लागि एसबिआइ बैंकको खाता नम्बर २४११५२४१४००९४२ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ । मनिषको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले मोबाइल नम्बर ९८०८३५१०३१ र ९८०६५४८३२९ मा सम्पर्क गरी आवश्यक सहयोगसमेत गर्न सक्नेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया