रत्न मन्दिर पुग्ने पर्यटक भन्छन्ः भित्र कहिले हेर्न पाइएला ?

समाधान संवाददाता २०८० साउन ४ गते १०:४३

पोखरा ।
नाम मन्दिर तर संरचना विशेष खालको दरबार । पोखरा, लेकसाइडको रत्न मन्दिर पूर्व राजपरिवारको दरबार हो; न नि पूजाआजा गर्ने तीर्थालुको मन्दिर । गएको जेठ १४ सम्म फेवाताल छेउको दरबारमा सेनाको पहरा र ताल्चा लागिरहन्थ्यो । सर्वसाधारणका लागि दरबार खुला गर्ने वाचा धेरै सरकारले गरे पनि पूरा भएको थिएन । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा दरबार सर्वसाधारणका लागि खुला गरियो । दरबार परिसर र केही स्थान खुला गरिए पनि दरबारको भित्री भाग भने अझै बन्द छ ।

Advertisement


राजा महेन्द्रले आफ्नी रानी रत्नाको नाममा २०१५ सालमा यो दरबार बनाएका हुन् । यो दरबारमा चीनका प्रधानमन्त्री, बेलायतकी महारानी जस्ता विशिष्ट व्यक्तित्व आएर बसेका थिए । दरबारभित्र बैठक कक्ष, राजारानी शयन कक्ष, शाही नातेदारका शयन कक्षहरु र डाइनिङ हल गरी ११ कोठा छन् ।


टिकट काटेर रत्न मन्दिर हेर्न पुगेकाहरु दरबारको भित्री भागमा प्रवेश नपाउँदा खिन्न हुन्छन् । पोखरा, गगनगौडाका सुमनराज ढकाल हालसालै खुलेको दरबार हेर्न मंगलबार आएका थिए । उनी भन्छन्, ‘बाहिर राम्रै रहेछ तर टिकट काटेर अनुसार भित्र हेर्न पाइँएन । काठमाडौंको सिंहदरबार त खुला भइसकेको छ, यो किन नखुलेको होला ?’

रत्न मन्दिर प्रवेशमा विदेशीले तिनुपर्ने शुल्क आधाभन्दा बढी घटेको छ तर दरबारको भित्री भाग कहिले खुल्छ यकिन छैन


चितवनबाट पोखरा घुम्न आएका शशांक न्यौपानेले पनि रत्न मन्दिरबारे सुनेका थिए । १ सय रुपैयाँको टिकट काटेर भित्र पसेका उनले दरबारको बाहिरी भाग, बगैंचा, हावाघर र राजा महेन्द्रले प्रयोग गरेका डुंगाहरु मात्र हेर्न पाए । उनी भन्छन्, ‘बाहिरी भाग हेरियो, भित्र हेर्ने ठूलो इच्छा छ, कहिले हेर्न पाइएला खै ?’

Advertisement


राजा वीरन्द्र र उनको परिवारको दरबार हत्याकाण्डमा मृत्यु भएपछि ०६७ मंसिर २० गते यो दरबार नेपाल ट्रस्टमातहत आएको हो । १ सय ७४ रोपनी ४ आना २ दाममा फैलिएको रत्न मन्दिर परिसरमा तालघर, बाग बगैंचा र अन्य प्रयोजनाका साना ठूला गरी १० भवन छन् ।


नेपाल ट्रस्टकी सूचना अधिकारी सरस्वती पौडेल खनाल यही वर्षभित्र दरबारका भित्री भागसमेत खोलिने बताउँछिन् । दरबार खुला भएकै दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले चाडै भित्री भाग पनि सर्वसाधारणका लागि खुला गरिने घोषणा गरेका थिए ।


ट्रस्टकी सूचना अधिकारी खनाल भन्छिन्, ‘हामी निकट भविष्यमै खोल्छौं । त्यसका लागि बजेट व्यवस्थापन भइसकेको छ ।’ नयाँ आर्थिक वर्ष बल्ल सुरु भएको र त्यहाँका सामग्रीहरुको व्यवस्थापन बाँकी रहेको उनले सुनाइन् ।


दरबार हरेक सोमबार बन्द हुन्छ भने आइतबार ३ बजेसम्ममात्र खुला हुन्छ । रत्न मन्दिर कार्यालयकी प्रमुख गीता मिजारले दरबारमा अहिले नेपालीको आकर्षण बढिरहेको सुनाइन् । दरबार खुला भएको डेढ महिनामा साढे ७ लाख राजस्व संकलन भइसकेको छ । असार मसान्तसम्म ८ हजारभन्दा बढीले दरबार भ्रमण गरेको कार्यालयको तथ्यांक छ । तीमध्ये ६१ जना विदेशी हुन् । शुक्रबार र शनिबार धेरै पर्यटक आउने गरेका छन् ।


कार्यालय प्रमुख मिजार दरबार हेर्न नगण्य मात्रामा मात्र विदेशी आएको बताउँछिन् । उनी भन्छिन्, ‘अहिले पर्यटकीय सिजन नभएकाले पनि होला । चीन र भारतका केही पर्यटक आउनुभएको छ, धेरैजसो नेपाली नै आउनुहुन्छ ।’


दरबार घुम्न आउन धेरैजसोले भित्री भाग पनि खुला गर्न र टिकटको मूल्य घटाउन सुझाव दिने गरेका थिए । नेपाल ट्रस्टको कार्यालय कमलादी, काठमाडौंले गएको जेठ ३२ गते प्रवेश शुल्क संशोधन गरेको थियो । रत्न मन्दिर परिसर सञ्चालन कार्यविधि २०८० को संशोधित खण्डमा स्वदेशीका लागि पुरानै प्रवेश शुल्क लाग्ने उल्लेख छ । नेपाली नागरिकले यो दरबार प्रवेश गर्दा १ सय रुपैयाँ र विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएकाले ५० रुपैयाँ तिनुपर्छ ।


जेठसम्म सबै विदेशीले दरबार प्रवेशका लागि १ हजार तिर्नुपर्ने प्रावधान थियो । संशोधित कार्यविधिमा भारत र चीनका नागरिकले २ सय, सार्क राष्ट्रका पर्यटकले ३ सय र अरु विदेशीले ५ सय तिनुपर्ने उल्लेख छ । व्यापारिक भिडियो वा चलचित्र छायांकनका लागि ५ हजार शुल्क तिर्नुपर्छ । यसअघि भिडियो छायांकनका लागि १० हजार शुल्क तोकिएको थियो ।

तपाईको प्रतिक्रिया