सम्पादकीयः डेंगुलाई बेवास्ता नगर

नेपालमा हरेक वर्षजसो डेंगुको संक्रमण देखिन्छ । तर दुई, तीन वर्षको बीचमा महामारीझैँ फैलने गरेको छ । हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २० जनाले मृत्युवरण गरेका छन् । पोखरामा यो वर्षा मौसम सुरु भएयता ८२ जनामा डेंगु संक्रमण देखिइसकेको छ । तर, डेंगु नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन ।
नाम मात्रको ‘लामखुट्टेका लार्भा खोज र नष्ट गर’ अभियान चलाएको सरकारले सबै तहका सरकारबीच समन्वय गरी प्रभावकारी उपाय अपनाउनेबारे सोचेको छैन । बेलैमा उचित रणनीति र तयारी नहुँदा लम्पी स्किन रोगले देशैभरका पशु प्रभावित भएका छौं । अर्बाैं रुपैयाँको क्षति भएको छ । लम्पीमा जस्तै क्षति र महामारीकै रुपमा आएपछि मात्र तयारी गर्ने पुरानो बानी अब छाड्नै पर्छ । वर्षा यामसँगै पोखरामा डेंगु संक्रमितको संख्या बढेको र महामारीकै रुप लिन सक्ने सरोकारवालाहरु बताउँछन् ।
डेंगु लाग्न नदिने उपाय सरल छ । तर यसबाट संक्रमित भएपछि ठूलो खतरा हुन सक्छ । घर वरपर पानी जम्न नदिने र सरसफाइमा विशेष ध्यान दिएमा मात्र पनि डेंगुबाट धेरै हदसम्म बँच्न सकिन्छ । यसको जोखिम असार अन्तिम सातादेखि असोज अन्तिम साता सम्म हुन्छ । समयमै जनचेतना जगाउँदै उपचारको उचित व्यवस्था गर्न सके डंगुको संकट सामना गर्न सकिन्छ । अहिले संघ, प्रदेश र पालिका सरकार एकअर्काको मुख ताकेर बस्ने परिस्थिति बनेको छ । सबै तहका सरकारको पहलकदमी र नागरिक स्तरमा सचेतना भएमात्र यो संकट सजिलै पार हुन सक्छ ।
पोखरामा संक्रमण बढेकाले नियन्त्रण अभियान प्रत्येक वडामा चलाउनु आवश्यक छ । सरकारी नियन्त्रणका उपाय र स्वास्थ्यकर्मीहरु सबै ठाउँमा पुग्नु सम्भव छैन । यसमा नागरिक समाज र स्थानीयकै भूमिका महत्वपूर्ण हुन्छ । विद्यालय, विश्वविद्यालय, सरकारी कार्यालय र मानिसको बढी आवतजावत हुने स्थानमा सचेतनाका कार्यक्रम गर्न सके त्यसले चाडै नतिजा दिन्छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण फैलिन्छ ।
यो लामखुट्टेले १ पटकमा ८ सयदेखि १ हजारसम्म फुल पार्न सक्छ । नेपालमा एडिजको जातको लामखुट्टेको सेरोटाइप १, २ र ३ देखिएका छन् । यो जातको लामखुट्टेका फरक फरक सेरोटाइपले टोकेको अवस्थामा स्वास्थ्यमा पर्ने असर जटिल हुने विज्ञहरु बताउँछन् । डेंगु लागेमा मानिसको सेता रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । पानी छोपेर राख्ने, लामो समयसम्म पानी जमाएर नराख्ने, पानीलाई बिर्कोले छोपेर राख्ने तथा दिनमा देखिने लामखुट्टे नष्ट गर्ने जस्ता विधि अपनाउनुपर्छ । कोरोना संक्रमणबाट तंग्रिन नभ्याउँदै फेरि हामी अर्काे संकट थेग्न सक्ने अवस्थामा छैनौं । बेलैमा सचेत बनौं ।
तपाईको प्रतिक्रिया