‘पुष्पलालले कम्युनिस्ट हुन सिकाए’

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसको सन्दर्भमा पुष्पलाल अध्ययन केन्द्र नेपालले शनिबार स्मृति सभा गरेको छ । केन्द्रका अध्यक्ष खगराज अधिकारीले पुष्पलालले प्रतिपादन गरेको संयुक्त जनआन्दोलनको नीतिले २०४६ सालको जनआन्दोलन सफल भएको दाबी गरे ।
जनआन्दोलनका प्रणेता पुष्पलालले प्रतिपादन गरेको नीति र विचार अनुसार पार्टी र मुलुकलाई अगाडि बढाउन ध्यान दिने उल्लेख गर्दै उनले पुष्पलालले सबै नेता तथा कार्यकर्तालाई सच्चा कम्युनिस्ट बन्न सिकाएको जानकारी दिए । नेकपा (एमाले)का स्थायी समितिका सदस्यसमेत रहेका अधिकारीले पुष्पलालले सिद्धान्त, संगठन र संघर्ष विना कम्युनिस्ट पार्टी अगाडि बढ्न नसक्ने परिकल्पना गरेको उल्लेख गरे ।
पुष्पलाल अध्ययन केन्द्र नेपालका महासचिव भीम कार्कीले पुष्पलालले प्रतिपादन गरेको नीति तथा विचार अहिले पनि सान्दर्भिक भएको जनाए । गण्डकी प्रदेश सभाका सदस्यसमेत रहेका कार्कीले कम्युनिस्ट पार्टी तथा नेपाली कांग्रेसको सहकार्यले २०४६ सालको आन्दोलनले सफलता पाएको सुनाए । उनले दुबै शक्ति मिलेको खण्डमा प्रतिक्रियावादीले टाउको उठाउन नसक्ने तर्क गरे ।
पोखरा २१ को फेदीपाटनमा रहेको अध्ययन केन्द्रमा रहेको कार्यालयमा भएको कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी कास्की अध्यक्ष मनबहादुर गुरुङ र स्थानीय सीता पौडेलले नेपालको राजनीतिमा पुष्पलालको योगदान बारे चर्चा गरेका थिए ।
पुष्पलाल स्मृति दिवसमा सरसफाइ
पुष्पलाल स्मृति दिवसको सन्दर्भमा नेकपा (एमाले)को जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीले सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । स्थानीय पृथ्वीचोकबाट सुरु भएको सरसफाइ कार्यक्रम सभागृहचोक सिर्जनाचोक, जिरोकिमी हुँदै पोखरा ७ नुवारथोकमा रहेको पुष्पलाल पार्कमा पुगेर समापन भएको संयोजक शिवप्रसाद अधिकारीले जानकारी दिए ।
पार्टीका स्थायी समितिका सदस्य थममाया थापामगरले नेपालको कम्युनिस्ट तथा प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान अविस्मरणीय भएको बताइन् । उनले युवालाई राजनीतिको अलवा सामाजिक तथा सिर्जनात्मक काममा लाग्न आग्रह गरिन् ।
उनले खेलकुद महासंघको सकारात्मक कार्यको पार्टीका अन्य जनसंगठनले समेत अनुशरण गर्नुपर्ने सुझाव दिइन् ।
कार्यक्रममा नेकपा (एमाले)गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, जिल्ला कमिटी कास्की उपाध्यक्ष तेजनारायण अधिकारी, नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु पुन, जिल्ला कमिटी कास्की सचिव शिवराज सुवेदीले महासंघले खेलकुदका अलवा सामाजिक काममा क्रियाशिल भएको बताए ।
‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ हाम्रो सरोकार’ भन्ने नाराका साथ कार्यक्रम भएको हो । यसैगरी, पुष्पलालको ४५ औं स्मृति दिवसको सन्दर्भमा नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले आइतबार नेपालको कम्युनिस्ट आन्दोलन र पुष्पलालको योगदान विषयक विचार गोष्ठी राखेको छ । राष्ट्रिय युवा संघ नेपाल कास्कीले खुला रक्तदान तथा नेकपा (एमाले) वडा कमिटी पोखरा ७ ले नुवारथोक स्थित पुष्पलाल पार्कमा सरसफाइ आयोगना गर्ने पार्टीका जिल्ला कमिटी कास्की सचिव बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया