योगः मानवीय एकताको सूत्र

अरुण पौडेल २०८० साउन ८ गते १२:२७

योग संस्कृतको ‘युज्’धातुबाट बनेको हो, जसको अर्थ हुन्छ जोड्नु । हामीलाई हाम्रो अन्तरचेतनासँग जोड्ने विधि हो योग । सामान्य अर्थमा बुझ्दा हामीलाई परमात्मासँग मेल गराउने माध्यम हो योग । योग भारतीय उपमहाद्वीपमा शताब्दीयौँ अगाडि प्रतिपादित आध्यात्मिक पद्धति हो ।

Advertisement


ऋषिमुनीहरूले सनातनकालदेखि योगसाधना गर्दै आएका भए पनि योगलाई व्यवस्थित र बेग्लै दर्शनको रूपमा विकास गर्ने काम पतञ्जलिले गरेका हुन् । उनीद्वारा प्रतिपादित योगसूत्रलाई योगदर्शनको आधिकारिक थालनीका रूपमा लिइन्छ । पतञ्जलिले योगसूत्रबाट अष्टांग योगको प्रतिपादन गरेका हुन् । यसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि पर्दछन् । प्रथम पाँच अंग (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार) बहिरंग साधनाअन्तर्गत पर्छन् अर्थात् ती योगका लागि आवश्यक बाह्य तयारीका अंगहरू हुन् ।


अन्तिम तीन (धारणा, ध्यान, समाधि) चाहिँ अन्तरंग साधनाका अंगहरू हुन्, जो योगको वास्तविक लक्ष्य अर्थात् चित्तवृत्तिको सम्पूर्ण निरोध र परमात्मासँगको एकात्मतासँग सम्बन्धित छन् । योगले जोड्ने अर्थात् मिलन गराउने काम गर्ने भएकाले अन्य विभिन्न आध्यात्मिक साधनाका पद्धतिलाई पनि योगको नाम दिने गरिएको छ । जस्तै– मन्त्रयोग, तन्त्रयोग, लययोग, नादब्रह्मयोग, हठयोग आदि । यी सबै कुनै एक साधनको माध्यमद्वारा परमात्मासँग एकाकार हुने पद्धतिहरू हुन् ।


भगवद्गीतामा कृष्णले अर्जुनलाई योगको शिक्षा दिनुभएको छ, जसमा क्रियायोग, भक्तियोग र ज्ञानयोग मुख्य छन् । जेजे नाम वा पद्धति भए पनि यी सबै योगले कुनै एक आलम्बनको प्रयोग गरी चित्त वृत्तिहरूको निरोध गर्ने र चित्तलाई एकाकार बनाई अन्ततः निर्विकल्प चैतन्यको अवस्थामा पुग्ने बाटो देखाउँछन् ।

श्वास जसले पनि फेर्छ, यसमा कुनै सम्प्रदायको आधिपत्य छैन । आसन र प्राणायामले शरीर मात्र नभई मन पनि स्वस्थ र निर्मल पार्दछ

Advertisement


आजभोलि हठयोगलाई मात्र योग भनेर बुझ्नेने गरिएको छ, खासगरी पश्चिमा जगतमा । हठयोगमा शरीरको साधना महत्वपूर्ण हुन्छ । यसका मुख्य दुई साधन छन्ः शरीर र श्वास । मनलाई साधनाबाट यी दुईमा पूर्णरूपमा एकाकार गरिसकेपछि मनबाट माथि उठ्दै विशुद्ध चेतनाको स्तरमा पुग्न सकिन्छ, जसका लागि कठिन साधना गर्नुपर्छ ।


मोक्षको लक्ष्य हठयोगबाट पनि प्राप्त हुन सक्छ, तर यसको लागि एक स्तरमा पुगिसकेपछि शरीर र श्वासबाट ध्यानलाई अर्को चरणमा पु¥याउनुपर्छ र चेतनाको विशुद्ध स्तरमा स्थित हुनुपर्छ । यही हठयोगको प्रारम्भिक चरण अर्थात् शरीर र मनको साधनालाई हामीले सामान्यतया योग भनेर बुझ्नेने गरेका छौँ । एक अर्थमा भन्नुपर्दा, हामीले आफ्नो धरोहरलाई बिर्सेर पश्चिमा आँखाले नै योगलाई बुझ्नेने गरेका छौँ । हामीले बुझ्नेने गरेको र चलनचल्तीको भाषामा रहेको ’योगा’यही हठयोगको प्रारम्भिक साधना मात्र हो, अंग्रेजीमा भन्ने गरिएजस्तै ’टिप अफ द आइसबर्ग’मात्र हो ।


योगको माथिल्लो चरणमा पुगिसकेपछि आफू र संसारको फरक मेटिन्छ । आफू जस्तो हो, अरू पनि त्यस्तै देखिन थाल्छ । योगमा हाम्रो चेतनाको उच्चतम अभिव्यक्ति हुन थाल्छ । ’अहम् ब्रह्मास्मि’र ’तत्वमसि’यही उच्चतम चेतनाको अवस्थामा उत्पन्न अभिव्यक्ति हुन् । पहिलोको अर्थ हुन्छ– म ब्रह्मस्वरूप हुँ । दोस्रोको अर्थ हुन्छ– तिमी पनि त्यही हौ । जे म हुँ, त्यही तिमी हौ । तिमी र ममा फरक छैन । तिम्रो र मेरो शरीर फरक होला, रूपरंग फरक होला, सोचविचार, बानीव्यवहार फरक होला ।


धनसम्पत्तिको स्तर फरक होला, तिमी धर्मात्मा र म पापी हुँला, तिमी महान् बुद्धिमान र म पटमूर्ख हुँला, तर ती सब बाहिरी आवरणका अभिव्यक्तिहरू मात्र हुन् । सारमा तिमी र ममा फरक छैन । हाम्रो अस्तित्वका विभिन्न तह छन् । जुन तहसँग हामी परिचित छौँ, त्यो पूर्णसत्य होइन, आंशिक सत्य मात्र हो । तिम्रो अस्तित्वको अन्तरतम तहमा जुन विशुद्ध चेतना छ, त्यो तिमी र ममा फरक छैन । अरू सबै आवरण हुन्, जुन फरक देखिन्छन् ।


‘अहम् ब्रह्मास्मि’र ‘तत्वमसि’मा जुन ब्रह्मको अभिव्यक्ति छ, त्यो हाम्रो हिन्दु पौराणिक परम्पराको चार टाउका भएको ब्रह्मा भगवान् होइन, बरु ब्रह्माण्डीय चेतना हो । यो निरन्तर छ, चैतन्य र आनन्दस्वरूप छ । हामी जन्मिनुभन्दा अर्बौं वर्ष अगाडिदेखि यो छ र हामी मरेको अर्बौं वर्ष पछाडिसम्म पनि यो रहनेछ ।


उच्चतम अर्थमा योगले हामीलाई यही ब्रह्माण्डीय चेतनासँग एकाकार गराउँछ । यसैलाई कसैले परमात्मा भन्छन्, कसैले कृष्ण चैतन्य, वा कसैले बुद्धतत्व । योगले हाम्रो अन्तरचेतनालाई यही परमात्मासँग एकाकार गराउँछ । तपाईं यसलाई खुदा भन्नुस् वा गड वा कस्मिक कन्ससनेस, कुरा उही हो । योगले हामीबीचको दूरी र विभेद समाप्त पारी स्वाभाविक रूपमा हामीलाई मानवीय एकताको सूत्रमा बाँध्छ । हामी सबै ब्रह्माण्डीय चेतनाका ससाना अभिव्यक्तिहरू हौँ, जसलाई विभिन्न आवरणहरूले छोपेको छ । हाम्रा खोल फरक–फरक छन् तर गुदी एउटै छ ।


योगको प्रारम्भिक साधना भए पनि आसन र प्राणायामले हामीलाई योगमार्गमा प्रवेश गराउँछ । आसन हाम्रो शारीरिक स्वास्थ्यको लागि हो, यसमा कुनै साम्प्रदायिकता छैन । प्राणायाम पनि हाम्रो शारीरिक स्वास्थ्यका लागि हो । श्वास जसले पनि फेर्छ, यसमा कुनै सम्प्रदायको आधिपत्य छैन । आसन र प्राणायामले शरीर मात्र नभई मन पनि स्वस्थ र निर्मल पार्दछ ।


विभिन्न देशका वैज्ञानिक, डाक्टर, मनोचिकित्सक र अनुसन्धाताहरूले यसको प्रभावकारिताको अध्ययन गरिरहेका छन् र सबैको निचोड उही छ । सही विधिद्वारा गरियो भने योग र प्राणायामले हिन्दुलाई जुन लाभ दिन्छ, क्रिश्चियन, बुद्धिस्ट, मुस्लिम वा शिखलाई पनि उही लाभ दिन्छ । शरीरको संरचना सबैको उही हो, सबैले फेर्ने उही श्वास हो । यसमा कसैले धार्मिक आस्था जोड्नु आवश्यक छैन ।

तपाईको प्रतिक्रिया