स्वास्थ्य शिविरबाट साढे ६ सय लाभान्वित

समाधान संवाददाता २०८० साउन ८ गते १४:२३

लमजुङ ।
दोर्दी गाउँपालिका वडा नम्बर ४ नौथर सेरामा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय ५३ जना लाभान्वित भएका छन् । शनिबार नौथर सेरामा दोर्दी गाउँपालिका, नमुना सामुदायिक अस्पताल, लायन्स क्लब अफ लमजुङ बेँसीसहर र बबिता क्लिप्स् इन्टरटेन्मेन्ट लमजुङको संयुक्त आयोजनामा आयोजित शिविरमा दोर्दी गाउँपालिकाका स्थानीय लाभान्वित भएका हुन् ।

Advertisement


अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार ४ सय ५ जना महिला र २ सय ४८ जना पुरुष लाभान्वित भएका हुन् । निशुल्क शिविरमा सामान्य परीक्षण, दन्त सेवा, महिला रोग परीक्षण, छाला रोग, भिडिओ एक्सरे, रगत परीक्षण, मनोविमर्श दिइएको थियो ।


शिविरमा २ सय १५ जनाको भिडिओ एक्सरे, १ सय ३८ जनाको सामान्य परीक्षण, ९५ जनाको रगत परीक्षण, ६५ जनाको महिला रोग परीक्षण, ५५ जनाको दन्त परीक्षण, ५५ जनाको छाला रोग परीक्षण, १५ जनाको दात उखालेको र १५ जनालाई मनोविमर्श दिइएको थियो । शिविरमा स्वास्थ्य परीक्षण गरेकाहरुको पाठेघर, पेटसम्बन्धी, हाडजोर्नी, एलर्जी, छालारोग सम्बन्धि, डिप्रेसनका समस्या बढी देखिएको थियो ।


अस्पतालका प्रमुख श्रेष्ठको नेतृत्वमा महिला रोग विषेशक्ष विजय शाह, शल्य चिकित्सक आशीष गिरीसहित १२ स्वास्थ्यकर्मी शिविरमा खटिएका थिए । पालिका तथा ग्रामीण क्षेत्रका बिरामीलाई लक्ष्य गरी शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए ।


लुकेर रहेका तथा उपचारका लागि टाढा जानुपर्ने भए पनि पालिकामा सञ्चालन गरिएको शिविरले सहज भएको उनको भनाइ छ । उनले भने, ‘गाउँपालिका नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेकाले नागरिकलाई स्वास्थ्य बनाई राख्न आवश्यक बजेट समेत छुट्याएका छौँ ।’

Advertisement


आगामी दिनमा समेत आवश्यक शिविर पालिकाभित्रै गर्दै नागरिकलाई सेवा दिइने भएको छ । पालिकादेखि जिल्लाको सदरमुकाम बेँसीसहर तथा जिल्ला बाहिर उपचार तथा जाँचका लागि जानुपर्ने नागरिकले पालिकामै निशुल्क स्वास्थ्य परीक्षण गर्न पाएपछि हर्षित भएका थिए ।

तपाईको प्रतिक्रिया