पाेखरा महानगरका घाटहरूको ठेक्का आह्वान

समाधान संवाददाता २०८० साउन ९ गते १०:४८

पोखरा ।
गत आर्थिक वर्षमा पोखरा महानगरपालिकाले नदी र खोलाका घाट सञ्चालन गर्न नसक्दा ठूलोमात्रामा राजस्व आम्दानी गुमायो । आर्थिक वर्षको अन्तिमसम्म पनि घाट ठेक्का लगाउन नसक्दा महानगरले लक्ष्य अनुसारको राजस्व उठाउन सकेन । पटकपटक थुप्रै घाटको ठेक्का आह्वान गर्दा कसैले पनि टेन्डर हालेनन् ।

Advertisement


पोखरा महानगरले चालु आर्थिक वर्षको सुरुआतमै नगरभित्रका घाट ठेक्कामा लगाउन बोलपत्र आह्वान गरेको छ । महानगरले रामघाटदेखि सिसौघारी, लामगादी गरेर २१ वटा घाटको ठेक्का लगाउन टेन्डर खुलाएको हो । महानगरले घाटअनुसारको न्यूनतम रकम तोकेको छ । महानगरले जारी गरेको बोलपत्रमा घाटलाई दुई किसिमम वर्गीकरण गरेको छ । १८ वटा घाटबाट ढुंगा, बालुवा दहत्तर, बहत्तर निकाल्न बोलपत्र आह्वान गरिएको छ भने ३ वटाबाट ग्राभेल निकाल्न बोलपत्र आह्वान गरिएको छ ।


दशखेत, तुलसीतारा, पुरुन्चौर नयाँघाट, रुद्रमहादेव, ढाबघाट, गोस्ते लामाचौर तल्लो गोस्ते बायाँ गजेरे घाट, याम्दी लालटिन बजार घाट छन् । पुन्चौर ढोडेनी, नारायणस्थान, रामघाट, पशुपति घाट बायाँ, पशुपति घुमाउरे घाट, द्वार कस्यार गाउँखर्क ओखलढुंगा भेडिफारम, रातोपैरो खौरी घाट, पुँडी माथिल्लो/पुँडी तल्लो, तल्लो खेत बीच भाग, सिसौरी, लामगादी घाटमा ढुंगा गिटी र बालुवा उत्खनन गर्न बोलपत्र आह्वान गरेको हो ।


यी घाटमा महानगरले न्यूनतम रकम प्रतिघनमिटर ८ सय २० रुपैयाँ दर तोकेको छ । महानगरले घाटको क्षमता हेरेर उत्खनन गर्ने अधिकतम परिणाम पनि तोकेको छ । रामघाटबाट सबैभन्दा बढी ८२ हजार ८ सय घनमिटर ढुंगागिटी, बालुवा, दहत्तर, बहत्तर निकाल्न बोलपत्र आह्वान गरेको हो । सबैभन्दा कम परिणाम रहेको पशुपति घाटबाट ३५ सय घनमिटर उत्खनन गर्न आह्वान गरिएको छ ।


महानगरले जारी गरेको बोलपत्रमा ग्राभेलमात्र निकाल्न तीन वटा घाटको बोलपत्र माग गरिएको छ । सुइँखेतखोला, काहुँखोला विजयपुर खोलामा ग्राभेल मात्र उत्खनन गर्न बोलपत्र आह्वान गरिएको हो । यी तीनमध्ये सुइँखेतखोलाबाट १६ हजार ९ सय ६० घनमिटर उत्खनन गर्ने सीमा ताकिएको छ । यसरी यी तीन घाटको ग्राभेलको न्यूनतम रकम प्रतिघनमिटर ३ सय ५० रुपैयाँ तोकिएको छ । महानगरले जारी गरेको बोलपत्रका घाटमा फारम दस्तुर र धरौटी रकम बुझाउनुपर्ने उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया