सगरमाथाकाे सफल आराेहण गरेर फर्केका गाेपाल श्रेष्ठलाई महानगरद्वारा सम्मान

समाधान संवाददाता २०७६ जेठ २३ गते १३:२४

समाधान संवाददाता, पाेखरा

सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका गोपाल श्रेष्ठलाई पोखरा महानगरपालिकाले सम्मान गरेको छ । पोखरा ७ रत्नचोक निवासी श्रेष्ठलाई बिहीबार महानगरमा आयोजित एक कार्यक्रमका बीच पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले दोसल्ला ओढाएर सम्मान गरे ।

उनी झन्डैं २६ वर्ष यता एचआइभि संक्रमित व्यक्ति हुन् । मेयर जिसीले श्रेष्ठको साहसिक प्रयास सफल भएकोमा बधाई दिए । धैर्य साथ लागिरहे लक्ष्यमा अवश्य पुग्न सकिन्छ भन्ने सन्देश श्रेष्ठले आममानिसलाई दिन सफल भएको मेयर जिसीले बताए ।

Advertisement

‘श्रेष्ठजी प्रेरणाको स्रोत हुनुहुन्छ,’ मेयर जिसीले भने, ‘कुनै समस्या देखा परेमा हीनताबोध नगरी निरन्तरण लक्ष्यतर्फ अग्रसर हुनुपर्छ भन्ने सन्देश उहाँले दिनुभयो ।’ रोग लाग्दैमा कोही व्यक्ति पनि असक्षम वा कमजोर नहुने श्रेष्ठले प्रमाणित गरेको मेयर जिसीको भनाइ थियो ।

आरोहणको अनुभव सुनाउँदै श्रेष्ठले सबैको सद्भावले सगरमाथाको चुचुरोमा पुग्न बल पुगेको सुनाए । ‘एचआइभी संक्रमितलाई समाजमा हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउन जरुरी छ’, श्रेष्ठले भने,‘ हामी पनि सवल छौं भन्ने सन्देश दिन सगरमाथा चढेको हुँ, मलाई सहयोग गर्ने सबैप्रति आभारी छु ।’

Advertisement

सन् २०१५ मा सगरमाथा आरोहणको पहिलो प्रयास गरेका थिए । भूकम्पका कारण आधार शिविरबाट फर्केका श्रेष्ठले त्यसबेला ५ जना सहयात्रीलाई गुमाउनु परेको थियो । लक्ष्यबाट पछि हट्नु हुँदैन भन्दै उनी दोस्रो पटक पनि एचआइभी संक्रमितहरुको प्रतिनिधित्व गर्दैै सगरमाथा चढ्न गएका थिए र सफल भए ।

स्टेप अप क्याम्पियनले उनको अभियानलाई सहयोग गरेको थियो । एचआइभी संक्रमित भएर सगरमाथा चढ्ने उनी पहिलो भएको दाबी गरिएको छ । सन् २००३ मा आफू एचआइभी संक्रमित भएको सार्वजनिक गरेका उनी पूर्व राष्ट्रिय फुटबल खेलाडी हुन् ।

श्रेष्ठले सगरमाथा हिमाल आरोहण गर्नुअघि भर्जिन पिक, थोरङ पास, आइसल्यान्ड पिक लगायत अन्य केही हिमालको समेत आरोहण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया