सभामुखसमेतको हस्ताक्षर गनेर बनेको सरकार अवैध ठहर
कोसी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त

पोखरा ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्। सर्वोच्च अदालतले सभामुखको हस्ताक्षरलाई अवैध ठहर गरेपछि मुख्यमन्त्री थापा पदमुक्त भएका हुन्।
न्यायाधीश ईश्वर प्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई अवैध ठहर गरेको हो।
सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको सहभागितालाई अवैधानिक ठहर गरेको हो।
सभामुखको गौतमको हस्ताक्षरमा ४७ जनाको बहुमत देखाएर थापा मुख्यमन्त्री बनेका थिए ।
सर्वोच्चले सभामुख गौतमको हस्ताक्षरलाई पनि मान्यता दिएर थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयलाई बदर गरिदिएको छ।
कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबीसहित नेकपा एमालेले गत असार २२ गते सर्वोच्च अदालतमा रिट हालेको थियो।
कोशीका सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर जोडेर बहुमत देखाई कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय खारेज गर्न मागसहित रिट हालिएको थियो।
उक्त रिट एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले सर्वोच्चमा दर्ता गराएका थिए।
एमालेले संविधानको धारा १६८(२) द्वारा निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको थियो। उक्त उपधाराअनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दललाई सरकार बनाउने बाटो खोलिदिन परमादेश माग गरिएको थियो।
तपाईको प्रतिक्रिया