भीमादमा पहिलाेपटक वडाबाटै अपांगता परिचयपत्र वितरण

समाधान संवाददाता
दमौली
तनहुँको भीमाद नगरपालिकाले पहिलो पटक वडाबाटै अपांगता परिचयपत्र वितरण थालेको छ । अपांगता परिचयत्र वितरणको जिम्मेवारी स्थानीय तहमा आएपछि नगरपालिकाले पहिलो पटक परिचयपत्र वितरण थालेको हो ।
यसअघि महिला तथा बालबालिका कार्यालयले वितरण गर्दै आएको परिचयपत्र नगरपालिकाले कार्यविधि बनाएर वितरण शुरु गरेको नगरपालिकाका उपप्रमुख शारदा खनालले जानकारी दिइन् । उनले भनिन्, ‘परिचयपत्रका आधारमा अपांगता भएका व्यक्तिले सेवा सुविधा पाउनुहुन्छ, परिचयपत्र हेरेर नगरपालिकाले दिने सेवा सुविधा दिन्छौ ।’
नगरपालिकाले वडा नं ४ बाट परिचयपत्र वितरण सुरु गरिएको छ । वडाका ५३ जनामध्ये १३ जनाले ‘क’ वर्ग, १६ जनाले ‘ख’ वर्ग, १० जनाले ‘ग’ वर्ग र १४ जनाले ‘घ’ वर्गको परिचयपत्र प्राप्त गरेका छन् । वडाबाटै परिचयपत्र पाउन थालेपछि अपांगता भएका व्यक्तिहरुले सहज भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
वडाबाटै परिचयपत्र वितरणले आफूहरुलाई सहज भएको अपांगता भएका रमेश थापाले बताए । नगरपालिकामा पुगेर परिचयपत्र लिन अप्ठ्यारो हुने भएकोले वडाबाटै परिचयपत्र पाउँदा खुशी लागेको अर्का अपांगता भएका युवराज आलेल बताए । उनले भने, ‘अपांगता भएका हामीहरुलाई नगरपालिकामा आउजाउ गरेर परिचयपत्र लिन कठिन हुन्थ्यो । वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाएर नगरपालिकाले राम्रो काम गरेको छ ।’
अपांगताका कारण बसको यात्रा हुँदै नगरपालिकासम्म पुग्न असहज हुने भएकोले वडाबाटै परिचयपत्र पाउँदा खुसी लागेको अपांगता भएका हिराबहादुर दमैले बताए । नगरपालिकाले जेठ २४ गते वडा नं ३, २५ मा वडा नं १, २७ गते वडा नं ६, २८ गते वडा नं २, २९ गते वडा नं ७, ३१ गते वडा नं ८, असार १ गते वडा नं ५ र २ गते वडा नम्बर ९ बाट अपांगता परिचयपत्र वितरण गर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया