अरुण थापाको यादमा उनकै गीत

समाधान संवाददाता २०८० साउन १५ गते १५:५६

पोखरा ।
पोखरामा गायक अरुण थापाको स्मृतिमा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले २४ औं अरुण थापा स्मृति दिवसको अवसरमा समता सांगीतिक कार्यक्रम शनिबार गरेको हो । पोखराका संगीत प्रशिक्षण स्कुलका प्रशिक्षार्थीले अरुण थापाका गीत सुनाए ।


भारतको कोलकातामा जन्मेका अरुण बुबा गञ्जुप्रसाद नेपाल बैंकको क्षेत्रीय प्रबन्धक भएर पोखरा आउँदासँगै आएका थिए । रमाइलो मन पराउने अरुणले पोखरामा छोटो अवधिमा प्रशस्तै साथी बनाए । यहाँ हुने विभिन्न कार्यक्रमले उनले जादूयी स्वरबाट पस्केका गीतबाट मन्त्रमुग्ध हुने उत्तिकै थिए । स्टेजमा उनले गाएका हिन्दी गीतकै कारण युवतीहरु उनका पछि लाग्थे ।


उनी पढाइका लागि उनी पृथ्वीनारायण क्याम्पसमा भर्ना भए । स्ववियुले राखेको स्वागत कार्यक्रममा उनले किशोर कुमारको गीत ‘मेरा जीवन कोरा कागज’ प्रस्तुत गरे । त्यही गीतका कारण उनको जीवनमा प्रेम सुरु भयो । पिएनकै एक छात्राको प्रेम प्रस्ताव उनले स्वीकारे । केही समय उनको जीवन रंगीन भयो ।

Advertisement


प्रेमिकाको प्रोत्साहन मिलेपछि संगीतकर्मलाई उनले दमदार रुपमा अघि बढाए । प्रेम सम्बन्धलाई त्यो जोडीले काठमाडौं पुगेर बिहेमा परिणत गर्‍यो । तर युवतीको परिवारले यो बिहे स्वीकार गरेन । युवतीलाई पोखरा फिर्ता ल्याइयो । अनि सुरु भयो अरुणको वियोगको कथा ।


अरुणले आफ्नो जीवनमा ४ दर्जन हाराहारीमा गीत गाए । उनको पहिलो गीत विक्रम गुरुङले लेखेको ‘कतै तिमीबाट टाढा भएमा’ हो । जुन रेडियो नेपालमा रेकर्ड भएको थियो । तर अरुणलाई गायक भनेर चिनाउने गीत भने विनोद गौचनको ‘जति माया लाए पनि‘ हो । त्यसपछि अरुणलाई गीतकार र संगीतकारले खोज्न थालेको कबि एवं साहित्यकार तीर्थ श्रेष्ठ बताउँछन् ।

Advertisement


गायक अरुणको २४ औं स्मृति दिवसको सन्दर्भमा गरिएको कार्यक्रममा नयाँ पुस्ताका गायक गायिकाले उनका गीत प्रस्तुत गरे । प्रदीप सारु मगर, लवकुश पुन, टीना गुरुङ, यामबहादुर नेपाली, सुनील बराल, रोम तामाङ, जय चापागाईं र एमडी काफ्लेले अरुणका गीत प्रस्तुत गरे । वाद्यवाधनमा रोम तामाङ, बिकाश गुरुङ, बिमर गायक, मिलन गिरी, प्रतीक शर्माले साथ दिए ।


कार्यक्रम संयोजन पोयुसापका संगीत संयोजक एमडी काफ्लेले गरेका थिए । पोयुसापका अध्यक्ष उपेन्द्र पौडेलले अरुणलाई नयाँ पुस्तामा चिनाउन अर्थात पुस्तान्तरणका लागि यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा गायक विनोद बानिया, रीता अधिकारी, डा चैतन्य अधिकारीले समेतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया