पोखरेली रंगमञ्चमा ‘दुई नाटक’

समाधान संवाददाता २०८० साउन १५ गते १७:११

पोखरा ।
कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर तयार भएको ‘दुई नाटक’ मञ्चन सुरु भएको छ । नाटकलाई पहिलो दिन ‘प्रिमियर शो’ मार्फत गन्धर्व नाटकघरमा मञ्चन गरिएको हो ।

Advertisement


पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक अब भने ‘बुकिङ सो’मार्फत मञ्चन हुने भएको छ । जसका लागि पोखराका विद्यालयबाट ‘सो बुक’ हुने क्रम सुरु भइसकेको पोखरा थिएटरले जनाएको छ ।


नाटकमा कुसुम आचार्य शर्मा, कृष्टिना अर्याल, अमृत परियार, रोहित पौडेल, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, जनक पराजुली र रोशनी रामदामको अभिनय हेर्न पाइनेछ । भीमनिधि तिवारीले लेखेको कथा र एकांकीलाई परिवर्तनको परिकल्पना र निर्देशनमा नाटक तयार भएको हो । निर्देशक परिवर्तनले पछिल्लो समयमा विद्यार्थीको आर्कषण नाट्य क्षेत्रमा बढ्न थालेकाले उनीहरुलाई लक्षित गरेर नाटक मञ्चन गर्न लागिएको बताए ।


यो नाटकले विद्यार्थीलाई उनीहरुको स्थानिय संस्कृतिसँग जोड्ने मात्र नभएर समाज र इतिहासमा कलाको प्रभावबारे सिकाउने उनको भनाइ छ । ‘यो नाटकले विद्यार्थीका लागि व्यवहारिक दृष्टिकोण प्रदान गर्नेछ । उनीहरुमा विषयवस्तु तथा सन्देशहरुको विश्लेषण र व्याख्या गर्ने क्षमता बढाउनेछ,’ पोखरा थिएटरका अध्यक्षसमेत रहेका निर्देशक परिवर्तनले भने ।


नाटकलाई सुन्दर बनाउन रमेशबाबु तिमल्सिनाले प्रकाश परिकल्पना, रञ्जु दाहालले ध्वनि परिचालन, सुशन पौडेलले प्रकाश परिचालन, दिप्सना विश्वकर्माले कस्टुम म्यानेजर, सोनिया कार्की खत्रीले आर्टिष्ट म्यानेजरको रुपमा सघाएका छन् ।

Advertisement

यसैगरी पोष्टर तथा स्केचमा अमृत परियार र मनोज तामाङ, डिजाइनमा दयाराज ढुंगाना, मञ्च व्यवस्थापकमा रोशनी रामदाम, बजार व्यवस्थापकमा प्रकाश पराजुली, मञ्च निर्माणमा धनकाजी श्रेष्ठ, रोहित पौडेल, अमृत परियार र मिलन श्रेष्ठ तथा बक्स अफिसमा रहेर शुभेक्छा शर्माले साथ दिएका छन् ।


१ घन्टाको यो नाटक दर्शकको माग आएमा ‘पब्लिक सो’मार्फत समेत मञ्चन गरिने पोखरा थिएटरले जनाएको छ ।

तपाईको प्रतिक्रिया