ओझेलमा बेगनास बराह

पोखरा उपत्यका आफैंमा तालैतालको प्रसिद्ध सहर हो । यहाँ साना ठूला गरी ९ वटा ताल छन् । यी सबै तालको महत्वले नै पोखरा उपत्यकाको गरिमा र विशेषता बढाएको हो भन्ने कुरामा दुई मत छैन । पोखराका तालका सम्बन्धमा विश्व रामसार सूची लगायत बिभिन्न समयमा हुने गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रसंग तथा परिवेशहरुले यसलाइ पुष्टि गरिसकेको कुरा हो ।
तर स्थानीयदेखि राष्ट्रिय तहमा नीतिगत र व्यवहारगत रुपमा पोखरामा फेवाताल मात्र पर्यटन र आर्थिक उन्नयनको स्रोत हो भन्ने बुझाइ प्रतिबिम्बित छ । किनभने, फेवाताल बाहेकका बाँकी अरु तालका निम्ति विकास, निर्माण र पर्यटनसम्बन्धी कार्यक्रमले तुलनात्मक रुपमा धेरै कम चर्चा र प्राथमिकता पाएका छन् ।
फेवाताललाई मात्र पर्यटनको केन्द्रबिन्दु मानिएका कारण पोखरा उपत्यकाको पूर्वी भूभागमा प्राकृतिक सुन्दरताले भरिपूर्ण तथा पोखराका बाँकी ७ वटा ताल रहेको लेखनाथ क्षेत्रसमेत विकासका दृष्टिकोणले ओझेल परेको छ । सात तालको सुन्दर बगैंचा सहरको नामले समेत चिनिएको यस लेखनाथ क्षेत्रले विकासमा भने न्याय पाएको छैन । यहाँका सुन्दर र उत्पादनमूलक स्रोत, साधन परिचालन तथा उपयोगमा सम्बन्धित निकायको ध्यान पुगेको छैन ।
लेखनाथ जैविक विविधता, प्राकृतिक स्रोत र सम्पदा, हरियाली सुन्दर जंगलहरु, अनेकौं भाषभाषी र धर्मालम्बीको समिश्रण, गुम्बा, गल्छी, कोट, भैरवका मन्दिर, पौराणिक, धार्मिक, सामाजिक र साँस्कृतिक झल्कने संस्कृति लगायतका प्राकृतिक र सांस्कृतिक स्रोत, साधनले आफैंमा सम्पन्न छ । विश्वविख्यात हिम श्रृंखलाहरुको काखमा अग्ला, होचा विभिन्न आकृतिका पर्वतमालाले घेरिएर सुन्दर विशाल फाँटको रुपमा लेखनाथ नगर निर्माण भएको छ । त्यही सुन्दरता र मनोहर हिमश्रृंखलाको दृश्यावलोकन गर्न ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक घुमफिर र आनन्द लिन संसारभरबाट यहाँ आउँछन् ।
सात तालको सुन्दर बगैंचा सहरको नामले समेत चिनिएको लेखनाथ क्षेत्रले विकासमा भने न्याय पाएको छैन
आफूले घुमफिर गर्दा प्राप्त गरेको मीठो अनुभव र अनुभूति सञ्चारका विभिन्न माध्यमबाट प्रचारप्रसार गरी यस क्षेत्रको थप महत्व उनीहरुले बढाएका छन् । विशेष गरी लेखनाथलाई चिनाउने ती सात ताल वेगनास, रुपा, गुँदे, न्यूरेनी, खाष्टे, दिपाङ र मैदीतालले पनि पर्यटन क्षेत्रको लागि महत्वपूर्ण भूमिका खेलेका छन् ।
तैपनि सरकारी तवरबाट यी सात तालको जस्तो हिसाबले पर्यटन विकासको निम्ति जस्तो प्रचारप्रसार हुनुपर्ने हो, त्यस्तो किसिमले केही पनि हुन सकेको छैन । यी तालको संरक्षण र सम्वद्र्धनका लागि नीति, नियम, योजनाहरु समयमै ल्याउन सकिएन भने यी ताल पनि क्रमशः अतिक्रमणमा बढेर संकटको परिस्थितिमा पुग्न सक्छन् । तसर्थ समयमै सोच, विचार पु¥याउनुपर्ने परिस्थिति देखिन्छ ।
यी सात तालमध्ये ठूलो र पर्यटन विकासका लागि विशेष चर्चामा रहेको बेगनास ताल हो । बेगनास तालको पानी स्वच्छ, सफा र दृश्यावलोकनका लागि पनि अति सुन्दर छ । यो तालको संरक्षण, संवद्र्धनका लागि समयमै एकीकृत विकास कार्यक्रम ल्याएर अगाडि बढ्न सकेको खण्डमा यसको सुन्दरता बचाउन धेरै सजिलो छ । यही बेगनास तालको उत्तरी भूभागमा रहेको कडेलटुँडामा ज्यादै पुरानो, ऐतिहासिक, धार्मिक, पौराणिक र सांस्कृतिक महत्व बोकेको प्रसिद्ध शक्तिपीठ र धार्मिक धरोहरको रुपमा बराह क्षेत्र छ ।
बराह क्षेत्रको तीनतिर जलले घेरेको छ भने एक क्षेत्रमात्र जमिनले जोडेको छ । अत्यन्तै रमणीय भूभागमा बराह मन्दिर रहेको छ । बेगनास तालको डुंगाघाट मन्दरेपार्कबाट सहजै ५/१० मिनेटमै पर्यटकीय भूमि बराह क्षेत्रमा आधुनिक डुंगाको सुविधाले पुग्न सकिन्छ । धार्मिक क्षेत्रमा शक्तिपीठहरुको विकासले के कस्तो प्रभाव र महत्व पार्दोरहेछ भन्ने विषयमा फेवातालको बाराही मन्दिरलाई हेर्न सकिन्छ । पोखराको लेकसाइडको विकासमा फेवातालमात्रै होइन, तालबराही मन्दिर नै प्रमुख स्रोत र माध्यम हो ।
जहाँ धार्मिक हिसाबले आन्तरिक तथा बाह्य पर्यटकको भीड नै लाग्छ । त्यसैको माध्यमबाट हजारौं मानिसले रोजगारी र आर्थिक उन्नति गरेर लेकसाइडलाई संसारभर चिनाउन सफल भएका छन् । बेगनासतालमा पनि पर्यटकले जलयात्राको माध्यमबाट सरर बराह क्षेत्रसम्म आधुनिक मोटरबोटबाट सहज रुपमा पुग्न सक्छन् । त्यस समयमा उनीहरुले सबै कुरा बिर्सेर स्वर्गीय आनन्दको अनुभूति प्राप्त गर्छन् । प्रकृतिको अपार देन र त्यसको भू–बनोट र तपस्वीले तपस्या गरेको तपोभूमि भएकाले त्यसको प्रभावले पर्यटकले छुट्टै किसिमको अनुभव महसुस गर्छन् ।
उनीहरुका लागि जीवनभर अविस्मरणीय रहनेछ । बेगनासताल वराह क्षेत्रमा वार्षिक रुपमा वराहमेला लाग्छ । सो समयमा पोखरा फेवातालबाट बराही देवी त्यहाँ आउने र एक आपसमा दुवैको भेटघाट हुने जस्ता कुरामा स्थानीय विश्वास गर्छन् । त्यस क्षेत्रमा कैयौं तपस्वीले तपस्या गरेको तपोभूमि र उनीहरुले आफ्नो सिद्धि प्राप्त गरेका ऐतिहासिक कुराहरु पनि बयोवृद्धहरुबाट सुन्न पाइन्छ ।
यस्तो ऐतिहासिक, धार्मिक, पौराणिक र सांस्कृतिक महत्व बोकेको धार्मिक शक्तिपीठको समग्र विकास गर्न नसक्दा वेगनास ताल बराह क्षेत्र विकासको क्रममा छायाँमा पर्न गएको छ । यस क्षेत्रको विकास र समृद्धिका लागि सबै स्थानीय तहमा धेरै प्रयास भए तापनि राष्ट्रिय रुपमा विकासको आँखामा पार्न सकिएन । हाम्रो निरन्तर प्रयासले आ.व.०७९÷८० का लागि वन, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशबाट ५० लाख विनियोजन भई वेगनासताल वराहक्षेत्रको पर्यटकीय विकासको पूर्वाधारको हिसाबले तालबराह र लक्ष्मी नारायण मन्दिरको निर्माण कार्य अगाडि बढिरहेको छ ।
महायज्ञको सञ्चित रकमबाट थप निर्माणका कार्य क्रमशः अगाडि बढाउँदै लैजाने लक्ष्य छ । यस क्षेत्रको पर्यटकीय विकासका लागि सबै संघ, संस्था, राजनीतिक दल, जनप्रतिनिधि, पर्यटन व्यवसायी र सम्पूर्ण स्थानीयमा सहयोग, सद्भाव राय, सल्लाह र सुझावको अपेक्षा हामीले निरन्तर गरिरहेका छौं । हाम्रो क्षेत्रको विकासका लागि हामी एकै ठाउँमा जुट्न जरुरी छ । अन्यथा जति ढिला सुस्ती हुन्छ, त्यति हामी पछाडि पर्छौं ।
अब हामीले पनि बेगनासताल क्षेत्रलाई पर्यटकीय गन्तव्य स्थल बनाउने हो भने आपसी साना मतभेदहरु बिर्सेर एकै ठाउँमा जुट्नु पर्दछ । स्थानीय संघ, संस्था, जनप्रतिनिधि, पर्यटन व्यवसायी र स्थानीय एकै ठाउँमा जुटेर एकै स्वरमा धार्मिक, आर्थिक, सांस्कृतिक, सामाजिक र राजनीतिक हिसाबले बेगनास ताल बराह क्षेत्रको समग्र विकासका लागि गुरुयोजना बनाएर एकताको सन्देश दिँदै चौतर्फी आह्वान र अनुरोध गर्नैपर्ने समय, सन्दर्भ र परिस्थिति सिर्जना भएको छ । विकासको क्रममा छाँयामा परेको बराह क्षेत्रलाई प्रकाशमा ल्याएर प्रचारप्रसार र विकास गर्न सकेको खण्डमा अनेकौं रोजगारीका अवसरको ढोका खुल्नेछ । हाम्रो आर्थिक उन्नति भई समृद्धितर्फ उन्मुख हुनेछौं । बराह क्षेत्रको विकास र पर्यटन प्रवर्धनका लागि निम्न अनुसारको पूर्वाधार आवश्यक रहने हुनाले क्रमशः ती पूर्वाधारको विकास जरुरी छ ।
१. गुरुयोजना
– पोखरा महानगरपालिकाबाट यसको गुरुयोजना निर्माण भएको छ । सो क्षेत्रको विकासका लागि करिब १२ करोड लागत आवश्यक भएकाले सो सम्पन्न गर्न पोखरा महानगरमा अनुरोध गर्ने ।
– बराह क्षेत्र विकासका लागि आवश्यक पर्ने रकम सहयोगका लागि दाता र संघ, संस्थाको खोजीको प्रयासलाई निरन्तरता दिने ।
– दीर्घकालीन र अल्पकालीन योजनाहरु छनोट गरी ती योजना कार्यान्वयन गर्ने ।
– स्थानीय सरकार पोखरामहानगर, गण्डकी प्रदेश सरकार र केन्द्रीय सरकारमा आर्थिक सहयोगका निम्ति निवेदन, आमन्त्रण र अनुरोधलाई निरन्तरता दिने ।
२. प्राकृतिक, सांस्कृतिक पर्यटन र जैविक विविधता
सांस्कृतिक पर्यटनको विकासका लागि हाम्रा चाडपर्व, रीतिरिवाज र संस्कृतिको संरक्षण र संवर्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन, अवलोकन, भ्रमण गर्ने व्यवस्था गर्ने । प्राकृतिक, धार्मिक, सांस्कृतिक र सामाजिक रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमहरुको संरक्षण संवर्धन र विकास गर्ने ।
३. आपनत्वको भावनाको विकास
खराब सूचनाको न्यूनीकरण गर्दै ताल हाम्रै हो, हामीले नै संरक्षण गर्नुपर्दछ, तालमा गरिने फोहोर र अतिक्रमण रोक्नका लागि कडा नीति, नियम, आचारसंहिता, अनुशासन, मर्यादा र खराब सूचना न्यूनीकरणका लागि तत्परता, एकता र कार्यन्वयनमा प्रतिवद्धता चाहिन्छ ।
संरक्षण र विकासका लागि यो ताल हाम्रै हो, हामीले संरक्षण र विकासका लागि प्रयास गरेनौं भने ताल अतिक्रमण हुनेछ भन्ने बुझ्न जरुरी छ । अब तै चूप, मै चुप भएर नबसौं, एकै स्वरमा विरोध र तत्परताको भावना देखाउँदै सहभागितामा जुटौं ।
४.पैदल यात्रा
ताल क्षेत्रवरपर चारैतिर पर्यटकका लागि पैदलयात्रा गर्न सकिने तरिकाले बाटो निर्माण गर्ने, पर्यटक विश्राम स्थल, छहारी, चौतारी तथा स–साना चिया चमेना गृह आदि बनाउने ।
५. सूचना केन्द्र
बेगनासताल क्षेत्रको आकर्षक दृश्यावलोकन गर्ने ठाउँहरु पहिचान, तालवरपर घुम्नफिर्नका लागि नक्सा/परिचय, सूचना सामग्री, चित्र, पुस्तिका, अध्ययनका लागि पाठ्य सामग्री, उपहार किन्ने पसलहरु आदिको व्यवस्था गर्ने ।
६. सुविधायुक्त बासस्थान
राम्रा स्तरीय रिसोर्ट, होटल, लज, होमस्टे, रेस्टुरेन्ट आदिको व्यवस्थापन जरुरी छ ।सर्वसुलभ यातायातका साधानहरुः प्लेन, बस, ट्याक्सी, भेन, मोटरसाइकल, साइकल व्यवस्थापन ।
विश्राम स्थलः चौतारी, छाहारी, चमेना गृह ।
सुरक्षाको राम्रो प्रबन्धः पर्यटकलाई निर्भिक भएर घुमफिर गर्नका लागि सुरक्षाको राम्रोे प्रबन्ध गर्ने ।
पर्यटन गाइड पुस्तिकाः पर्यटकका लागि सहयोगी, गाइड पुस्तिका, नक्सा आदिको व्यवस्था ।
७. अवसर र चुनौतीबारे समीक्षा
हाम्रो क्षेत्रमा पर्यटन विकासका लागि के के राम्रा अवसर छन्, तिनको खोजी गर्नुपर्छ । त्यसका लागि विद्यमान समस्याहरु पहिचान गरी समाधान गर्नका निम्ति लाग्नुपर्छ । पर्यटनसम्बन्धी गोष्ठी, तालिम, भ्रमण, अध्ययन, अवलोकन र व्यवस्थापन जरुरी छ ।
वेगनासताल धार्मिक तथा पर्यटन विकास संस्था, धार्मिक तथा पर्यटन विकासका पूर्वाधारका लागि निरन्तर रुपमा क्रियाशील छ । त्यसको अभियान, लक्ष्य र उद्देश्यलाई साथ दिन सम्पूर्ण संघ, संस्था र स्थानीय सबैलाई अनुरोध छ ।
तपाईको प्रतिक्रिया