
जोमसोम ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका १ छोसेरको न्हेचुङमा निर्माणाधीन सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) भवन अन्तिम चरणमा पुगेको छ । भवनको ९८ प्रतिशत काम सकिएको छ ।
अब १ महिनाभित्र भवन सशस्त्र प्रहरी बल ३३ नं. गुल्मलाई हस्तान्तरण गर्ने तयारी छ ।
सरकारले भारतीय नाकाबन्दीमा उत्तरी कोरला नाका सञ्चालन गर्ने लक्ष्यसहित सडक तथा पूर्वाधार निर्माणको काम थालेको थियो । कोरलामा सीमा क्षेत्रको सुरक्षा र स्थानीयलाई शान्ति सुरक्षाको प्रत्याभूति दिन बिओपी स्थापना गरिएको हो । सीमामा सम्भावित आपराधिक तथा अवान्छित गतिविधिलाई निगरानी गर्न सक्ने गरी न्हेचुङमा बिओपी भवन निर्माण गरिएको हो ।
सीमा सुरक्षाका लागि सरकारले ०७७ जेठमा न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको जस्ताले छाइएको एकतले क्वारेन्टाइन भवनमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको थियो । कोरलापासको न्हेचुङमा बिओपी स्थापना भएको ६ महिनापछि सरकारले त्यहाँ यसअघि प्राप्त गरेको ३३ रोपनीमा भवन निर्माण थालेको थियो ।
कोरलामा सशस्त्रको बिओपी भवन करिब तयार भएको छ । भन्सारको जग्गा अपायकमा भएकाले फेरि दशगजामा १ हजार रोपनी प्राप्ति भइसकेको छ
सशस्त्रका पूर्व अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले न्हेचुङमा सशस्त्रको बिओपी सुरुआत गरेका थिए । त्यसको ६ महिनापछि तत्कालीन गृह सचिव महेश्वर न्यौपाने, तत्कालीन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल लगायतको टोली उपल्लो मुस्ताङ पुगेर बिओपी भवन शिलन्यास गरेको थियो । भवन निर्माण गर्न ६ करोड ३५ लाख बजेट छुट्याइएको थियो ।
२०७६/०७७ को असारमा ठेक्का सम्झौता गरिएको भवन निर्माणको जिम्मा नापी कन्ट्रक्सनले लिएको छ । समद्री सतहदेखि करिब ४ हजार ५ सय मिटरमा अवस्थित न्हेचुङमा बाह्रै महिना सशस्त्र प्रहरी बलका जवान बस्न सक्ने मौसम अनुकूलित २ तलाको ५५ कोठे भौतिक संरचना निर्माण हुँदै छ । उपल्लो मुस्ताङमा हिउँद याममा हुने हिमपात र चिसो थेग्न सक्ने गरी भवन निर्माण गरिएको बताइन्छ ।
२०७८ असारमा सकिनुपर्ने भवन उपल्लो मुस्ताङको प्रतिकूल मौसम, बर्खायाममा निर्माण सामग्री ढुवानीमा कठिनाइ, कोरनो कहर लगायतका कारण ढिलाई भएको नापी कन्ट्रक्सनका प्रबन्ध निर्देशक ज्ञानेश महर्जनले उल्लेख गरे । ‘भवनको अब केही फिनिसिंहको काम बाँकी छ, त्यो दुई हप्तामा सक्ने गरी लागेका छौं,’ महर्जनले भने, ‘अब हाम्रो तर्फबाट भवन हस्तान्तरण गर्ने तयारी हुन्छ ।’ न्हेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउँट पोस्टमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा २० जवान ब छन् । त्यहाँ सशस्त्रको आफ्नै भवन बनेपछि ३५ जनासम्म बस्न मिल्ने जनाइएको छ ।
न्हेचुङमा सशस्त्र प्रहरीलाई ३३ रोपनी, जनपथ प्रहरीलाई १३ रोपनी, अध्यागमनलाई १२ रोपनी, भन्सार कार्यालयलाई १ सय ९ रोपनी र लोमान्थाङको थुर्रलुङ फाँटमा नेपाली सेनालाई १ह जार २ सय ७१ रोपनी गरी ५सरकारी कार्यालयलाई १ हजार ४ सय ३६ रोपनी सरकारी पर्ति उपलब्ध गराइएको छ ।
उपल्लो मुस्ताङमा ४ वर्षअघि नै नेपाली सेनाले लोमान्थाङ र चराङको मध्य भागमा संरचना निर्माण गरी क्याम्पसमेत खडा गरिसकेको छ । सरकारले भन्सार र अध्यागन निर्माणका लागि नेचुङमा जग्गा उपलब्ध गराए पनि सो जग्गा कोरलानाका भन्दा करिब १५ किमी दक्षिणतर्फ अपायक पर्ने भएकाले पुनः उत्तरी कोरला नाकाको दशगजा क्षेत्रको दाँया र बाँया १ हजार रोपनी जग्गा सरकारले भन्सारको नाममा जग्गा प्राप्त गरिसकेको छ ।
चीनले कोरलाको आफ्नो भूमीमा पूर्वाधार निर्माण गरिसकेको छ । नेपालतर्फ पूर्वाधार निर्माण गर्ने उद्देश्यले जग्गा प्राप्तिको प्रक्रियाअघि बढाएको थियो । पछिल्लो समय सरकारले कोरला नाकामा भन्सार लगायतका संरचना निर्माण गर्न १ करोड बजेट विनियोजन गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम भइरहेको छ । कोरलामा पूर्वाधार निर्माणका लागि माटो परीक्षण गर्ने काम गरिरहेको मुस्ताङका सिडिओ अनुप केसीले जानकारी दिए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया