कृष्णको तीज गीत ‘चरित्रहीन ३’ सार्वजनिक

पोखरा ।
लोकप्रिय गायिकाहरु समीक्षा अधिकारी र प्रीति आलेको साथ लिएर गायक तथा सर्जक कृष्ण सुवेदीले तीज गीत चरित्रहीन ३ बजारमा ल्याएका छन् । गायक सुवेदीले २०७८ र २०७९ सालको तीजमा क्रमशः चरित्रहीन १ र २ ल्याएका थिए ।
गायक सुवेदीले २०८० का लागि ल्याएको गीतमा गायिकाहरु समीक्षा, प्रितीका अलवा उनकै छोरा अनुरोध सुवेदीको आवाज छ । उनले अहिलेको गीतमा पुरुष पात्रलाई चरित्रमा दोषी देखाएको जानकारी दिए । ‘पहिलो र दोस्रो गीतमा आफ्नो श्रीमान् विदेश गएपछि श्रीमतिको परपुरुषसँगको हिमचिमले परिवारमा परेको कलहलाई चित्रण गरिएको थियो,’ उनले भने, ‘अहिलेको गीतमा श्रीमतीलाई माइत पठाएर परस्त्रीसँग रोमान्स गरेको पुरुषको चरित्रमाथि गीतको भाव बगेको छ ।’
उनले वैदेशिक रोजगारीका कारण केही परिवारमा सामाजिक विचलन बनेको कथा देखाउन खोजेको सुनाए । खराब पात्रको रुपमा प्रस्तुत महिला तथा पुरुषका कारण परिवारिक कलह बढेको अवस्थामा दुबै पात्रले विगतको गल्तीप्रति क्षमा मागेपछि पारिवारिक वातावरण राम्रो भएको सन्देश गीतले दिएको उनले बताए ।
सो गीतको म्युजिक भिडियोमा आशिरप्रताप जंग, पवी सुवेदी र अनुरोध सुवेदीले अभिनय गरेका छन् । यही गीतबाट नव मोडल अस्मिता सुनारले डेब्यु गरेकी छन् । नयाँ तीज गीत गायक सुवेदी आफैंले निर्देशन गरेका छन् । तीज गीत चरित्रहीन भाग ३ गायक कृष्ण सुवेदीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । चरित्रहीन भाग १ र २ मा गायक सुवेदीलाई चर्चित गायिका शर्मिला गुरुङले साथ दिएकी थिइन् ।
तपाईको प्रतिक्रिया