जोखिम कम गर्न तारजाली वितरण

समाधान संवाददाता २०८० साउन १८ गते १५:०७

दमौली ।
विपद्ले पुयाउने जोखिम न्यूनीकरणका लागि तनहुँको व्यास नगरपालिकाले १ वर्षमा ३ सय ५१ वटा तारजाली निःशुल्क वितरण गरेको छ । चालु वर्ष ७९/८० मा नगरपालिकाले नदी तथा खोलाको कटान नियन्त्रण, घर–बस्ती तथा सामुदायिक संरचनाको जोखिम संरक्षण, सिँचाइ कुलो क्षति न्यूनीकरणका लागि तारजाली वितरण गरेको हो ।


नगर भित्रका विभिन्न स्थानमा विपद्ले पुर्‍याएको क्षति रोक्न तथा थपक्षति हुन नदिन तारजाली वितरण गरिएको घर नक्सा शाखाका प्रमुख अमृत केसीले बताए । आपतकालीन प्रयोजनका लागि नगरपालिकाले खरिद गरेको तारजाली सम्बन्धित वडाको सिफारिस र विपद् व्यवस्थापन समितिमार्फत अनुमोदन गराई तारजाली वितरण गर्ने गरिएको छ । उनले भने, ‘लाभग्राही, बस्ती तथा टोलले वडामार्फत सिफारिस र निवेदन लिएर आएपछि छानबिन गरी वितरण गर्छाैं ।

बर्खाको समयमा आएको बाढी–पहिरोबाट पुग्ने क्षतिलाई तत्कालै नियन्त्रण तथा न्यूनीकरण गर्न तोकिएको स्थानमा सम्बन्धित लाभग्राहीबाट ढुंगा भरेर जोखिम रोक्नलाई तारजाली उपलब्ध गराइन्छ ।’ नगरपालिकाले गएको वर्ष ६४ ह्युपाइप पनि वितरण गरेको थियो । जोखिम औँल्याइएका स्थानमा काम नगरी तारजाली थन्काइएको तथा अनाश्यक क्षेत्रमा दुरुपयोग हुनबाट जोगाउन नगरपालिकाले अनुगमनसमेत गदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया