भोलि बिहान १० बजेदेखि महानगरले लामेआहालमै फोहर लैजाने, अवरोध भए बल प्रयोग हुने

समाधान संवाददाता २०८० साउन २२ गते १९:४६

पोखरा ।

Advertisement

स्थानीयले अवरोध गरेर रोकिएको पोखरा महानगरपालिकाको फोहोर भोलि मंगलबारदेखि उठ्ने भएको छ । संकलन गरिएको फोहोर पोखरा ३२ लामेआहालमै लगेर व्यवस्थापन गरिने भएको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वासुदेव घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले मंगलबारदेखि फोहोर व्यवस्थापन लामेआहालमा लगेर व्यवस्थापन गर्ने निर्णय गरेको जानकारी पोखरा महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले दिए ।

फोहोर व्यवस्थपानमा आवश्यक सुरक्षा प्रदान गर्ने निर्णय जिल्ला सुरक्षा समितिको निर्णय छ । सुरक्षा प्रदान भनिए पनि खासमा अवरोध भए बल प्रयोग गर्ने अर्थात प्रहरी परिचालन गर्ने हो । तर महानगरपालिका प्रवक्ता तिमिल्सिनाले स्थानीयबाट अवरोध नहुने र बल प्रयोग गर्नु नपर्ने विश्वास व्यक्त गरे ।

महानगरपालिकाका तर्फ गरिएका १६ बुँदे प्रतिबद्धता अक्षरश पालना हुने पनि तिमिल्सिनाले बताए । ‘फोहोर व्यवस्थापन गर्दा दिनदिनै माटोले पुर्ने प्रतिबद्धता झनै कडाइका साथ पालना गरिनेछ,’ उनले भने, ‘स्थानीयसँग गरिएका कुनै पनि प्रतिबद्धता पालना गर्न महानगरपालिकाबाट कमजोरी हुने छैन ।’

Advertisement

११ दिनअघिदेखि लामेआहालमा फोहोर फाल्न अवरोध हुँदै आएको छ । स्थानीय मध्येका केहीले फोहोर फाल्न रोक लगाउने अन्तरिम आदेशको माग गरी उच्च अदालत पोखरामा हालेको मुद्दामा अदालतले आइतबार अन्तरिम आदेश दिनु नपर्ने आदेश गरगरेको थियो । त्यसपछि महानगरपालिकालाई लामेआहालमा फोहोर व्यवस्थापन गर्ने कानुनी बाटो खुला भएको हो ।

तपाईको प्रतिक्रिया