सम्पादकीयः भयावह हुन नदिऔं

पछिल्लो समय देशैभरी आँखा पाक्ने समस्या (कन्जग्टिवाइटिस) फैलिएको छ । देशैभरका अधिकांश आँखा अस्पतालहरुमा आँखा पाक्ने रोगका बिरामीहरु चाप बढिरहेको छ ।
अहिले आँखा अस्पतालमा आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५०देखि ५५ प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको हो । कतिपय स्थानमा अस्पतालको चाप थामिनसक्नु भिड लागेको छ । हरेक बर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएतापनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको छ । सुरुवातमा भारताको सिमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशैभरी फैलिएको छ । देशैभरी यो समस्या फैलिएपछि अहिले कतिपय स्थानीय तहहरुले त विद्यालय बन्दको निर्णय समेत गरिसकेका छन् ।
आँखा पाक्ने समस्या नेपालमा प्रायः हरेक वर्ष फैलन्छ । सुरुवातमा भारतको सिमावर्ती क्षेत्रहरुमा मात्र कन्जग्टिवाइटिसको समस्या देखिएको थियो तर अहिले देशैभरी यो समस्या फैलिरहेको छ, अहिलेको संक्रमण दर हेर्दा यो अझै बढ्ने जस्तो देखिन्छ ।
आँखा पाक्ने संक्रमण भएका बिरामीमा आँखा रातो हुने, आँसुु आउने, बिझाउने, चिप्रा लाग्ने जस्ता समस्या देखिन्छ । आँखा पाक्ने रोगको भाइरसको असर आँखामा सीमित नरहन सक्छ । यसले फ्लू हुँदाका लक्षणहरू सहित मानिसको शरीरका अन्य अंगहरूमा पनि प्रभाव पार्छ ।
कतिपयलाई टाउको र घाँटी दुख्छ, ज्वरो आउँछ, कानको अगाडिको भाग सुनिनेजस्ता समस्या देखिन्छन् । यस्तो समस्या देखिएका बिरामीहरुले आँखा चिसोले तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने, संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने गर्न र बढि समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परिक्षण गर्र्नु पर्छ ।
आँखा पाकेको समयमा जथाभावी औषधीको प्रयोग गर्दा थप जटिलता समेत आउन सक्छ आँखा परीक्षण गरी डाक्टरको सल्लाह अनुसार उपचार गर्नु पर्छ । नेपालमा आँखा उपचारको क्षेत्रमा नेपाल नेत्रज्योति संघ अन्तर्गतका आँखा अस्पतालहरुको ८० प्रतिशत भन्दा बढी योगदान छ । सुरुवातमा देशैभरी अहिले कन्जग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रीत भएर सेवा प्रवाह गर्न संघ अन्तर्गतका अस्पताल तथा उपचार केन्द्रहरुलाई निर्देशन जारी गरिसकिएको छ ।
आँखा पाक्ने रोगको देश व्यापी रुपमा बढ्दो संक्रमण छ । जसले जनजीवन नै प्रभावित पार्ने गरी देखिएको छ । सबै नागरिकले स्वास्थ्य सतर्कता अपनाउनु पर्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई यस भाइरसले चाँडो पक्रने भएकाले ज्येष्ठ नागरिक र बालबालिकाले विशेष सुरक्षा अपनाउनु पर्छ । यो प्रकोपको रूपमा फैलदै गरेकोले सरकारी निकाय, स्वास्थ्यसँग सम्बन्धित निकायले रोकथाम तथा नियन्त्रणको पाटोमा ध्यान दिनु अत्यावश्यक छ ।
तपाईको प्रतिक्रिया