पत्रकार आरकेमाथि पक्राउ पुर्जीले ल्याएको तरंग

पर्वतका पत्रकार तथा संरक्षणकर्मी आरके अदिप्त गिरीलाई पक्राउ पुर्जी जारी भएको विषयले तरंग ल्याएको छ । पत्रकार महासंघ पर्वतकै जिम्मेवार पदाधिकारीहरुको उजुरीका आधारमा उनलाई पक्राउ पुर्जी जारी भएपछि अहिले विभिन्न कोणबाट बहस, विवेचना र आलोचना भइरहेका छन् । खासगरी अभिव्यक्ति स्वतन्त्रता, पत्रकारहरुको आचरण, उनीहरुको निश्पक्षता, विभिन्न संगठनको नाममा पत्रकारहरुको दलीय आवद्धता लगायत विषयमा प्रश्नहरु खडा भएका छन् ।
विगतको लामो पत्रकारिता यात्राका क्रममा धेरै पत्रकार मित्रहरुसँग परिचित रहे पनि गिरी भने मेरो लागि परिचित रहेनछन् । हुन त उनी पत्रकारितासँगै कालीगण्डकी बचाउ अभियान तथा साहित्यमा पनि रुचि भएका व्यक्ति रहेछन् । उनलाई पक्राउ पुर्जी जारी भइसकेपछि सामाजिक सञ्जालमा प्राप्त क्रिया–प्रतिक्रियाहरु पश्चात उनका बारेमा सामाजिक सञ्जालबाटै बुझ्ने प्रयास गरियो । सञ्जालमा उनले व्यक्त गरेका विचारहरु नियाल्दा पर्वतका पत्रकारहरुहरुको आचरण र व्यवहारप्रति उनले तिखो प्रहार गरेका छन् । विगत केही दिनदेखिका उनका सामाजिक सञ्जाललाई नियाल्ने हो भने पत्रकारहरुप्रति उनी कडारुपमा प्रस्तुत भइरहेका छन् ।
पत्रकारहरु आफ्नो जिम्मेवारीबाट बहकिन्छन् भने आरके मात्र होइन सिंगो समाज पत्रकार र पत्रकारितामाथि औंला ठड्याउन अघि सर्छ
पत्रकारिता बौद्धिक, मर्यादित, प्रतिष्ठित र विवेचनात्मक पेशा हो । राज्य, राज्यका निकाय, त्यसका नेतृत्वकर्ता र समाजका अगुवाहरुले जब बाटो बिराउँछन्, तब पत्रकारिताको माध्यमबाट उनीहरुका कर्तुतलाई भण्डाफोर गरी सही बाटोमा ल्याउने जिम्मा पत्रकारहरुको हो । यस्तो गहन भूमिकामा रहनुपर्ने पत्रकारहरु आफ्नो जिम्मेवारीबाट बहकिन्छन् भने आरके मात्र होइन सिंगो समाज पत्रकार र पत्रकारितामाथि औंला ठड्याउन अघि सर्छ ।
पत्रकार आरकेले लगाएका सबै आरोप सही छ भन्नु र आक्षप लगाइएका पत्रकारहरु गलत छन् भन्ने निष्कर्ष होइन तर उनले लगाएका आरोप र उठान गरेका विषय, त्यसको सापेक्षित अर्थ र अवस्थाबारे भने समीक्षा गर्नैपर्ने हुन्छ । पहिलो, पत्रकार आरकेले सामाजिक सञ्जालमा व्यक्त गरेका धारणा उनलाई पक्राउ गर्ने हदसम्मको अपराध हो ? अथवा उनी र अन्य पत्रकारहरुबीच केही अरु विषयमा समस्या छन् र त्यसको परिणामास्वरुप पक्राउ गर्नुपर्नेसम्मको अवस्था आइलाग्यो । अरु समस्या भए उनीहरुले नै जान्ने विषय भए । तर सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिका आधारमा मात्रै पक्राउ गर्नुपर्ने अवस्था आइलागेको हो भने त्यो दुर्भाग्यपूर्ण हो ।
संविधानले मर्यादितरुपमा अभिव्यक्ति व्यक्त गर्न, विरोध गर्न, अलोचना गर्ने अधिकार प्रत्याभूत गरेको छ । त्यसकै आधारमा जो कसैले सार्वजनिक सञ्चार माध्यम अथवा सामाजिक सञ्जालको माध्यमबाट आफ्नो धारणा व्यक्त गर्न सक्छन् । तर कसैप्रति व्यक्तिगत आक्षेप लगाउने, मर्यादामाथि ठेस पु¥याउने अधिकार भने कसैलाई छैन । व्यक्तिगत आक्षेप लगाएर मानहानीसम्मको अवस्था हो भने पत्रकार आरकेलाई पनि उन्मुक्तिको छुट छैन । तर पेशाको मर्यादाको विषयलाई जोडेर लगाइएका आरोप र आक्षेप भने पत्रकारले पनि सहन गर्नैपर्छ र त्यही किसिमले आफूलाई सुधार्दे लैजानुपर्छ ।
दोस्रो, नेपालको पत्रकारिताको मर्यादामाथि पत्रकार जगतबाटै आँच आउने काम भइरहेका छन् । अधिकांश पत्रकारले निश्पक्षता प्रदर्शन गर्न सकेका छैनन् । केही पत्रकारहरु दलीय आवरणमा पत्रकारिता गरिरहेका छन् । यसको अपजस सबै पत्रकारहरुले लिनुपरिहेको छ । दलीय आवरणमा गरिएको पत्रकारिताबाट निश्पक्षताको आशा गर्न सकिँदैन । राज्य सञ्चालक, नीतिनिर्माता, अगुवाहरुबाट हुने गलत उजागर गर्नुपर्ने दायित्व उनीहरुले पूरा गर्न सक्दैनन् ।
पत्रकारिताको खोल ओडेर समाजमा गलत धन्दा गर्नेहरुको कमी छैन हाम्रो समाजमा । आरके जस्ता व्यक्तिहरुबाट औंला नठड्याउने हो भने गलत प्रवृति बोकेका पत्रकारहरुको कारण पत्रकारिता निरंकुश र बदनामको भागिदार बन्न पुग्दछ । त्यसलाई रोक्न पनि पत्रकारहरुको गलत प्रवृतिमा बोल्ने आँट जोकसैले गर्नैपर्छ । समाजमा पत्रकारहरुमाथि जाइलाग्यो भने दुःख पाइन्छ भन्ने मानसिकता हावी छ । त्यसैले पनि उनीहरुका गलत क्रियाकलाप र बेइमानी सहेर बस्न बाध्य छन् । त्यसबाट उठेर आरके जस्ता केही हिमम्तशाली व्यक्तिहरुले पत्रकारमाथि औंला ठड्याउने हिम्मत गर्छन् ।
आचार्य ११ वर्षको पत्रकारितापछि हाल व्यवसायमा संलग्न छन् ।
तपाईको प्रतिक्रिया