मुग्लिन–पोखरा सडक खण्ड विस्तार
‘दिनरात काम गर, बाटो नरोक’

पोखरा ।
अहिले मुग्लिन–पोखरा सडक खण्ड विस्तार र स्तरोन्नतिको काम धमाधम भइरहेको छ । राजमार्गमा काम भइरहँदा अविरल भएको वर्षाले यात्रुलाई थप संकट थपेको छ । ठाउँ ठाउँमा सडक हिलाम्ये छ भने दर्जन ठाउँमा पहिरो जाँदा सडक बारम्बार बन्द हुने गरेको छ ।
यो सडक स्तरोन्नतिलाई व्यवस्थित र छिटो बढाउन पोखराका पर्यटन व्यवसायीले आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विभिन्न सिफ्टमा दिनरात काम गर्ने चाडै राजमार्ग सहज बनाउन अनुरोध गरे । ‘सम्भव भएका ठाउँमा वैकल्पिक मार्ग र डाइभर्सनको व्यवस्था गरी यात्रालाई सहज र छिटो बनाउन बनाउनुपर्छ,’ उनले भने ।
अध्यक्ष श्रेष्ठले सडक विस्तारलाई व्यवस्थित र तीव्र बढाउन सरकार, निर्माण पक्ष र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षणसमेत गराए । भूकम्प, कोभिड १९ लगायतका विपद्ले प्रभावित भएको पर्यटन क्षेत्रमाथि उठ्ने समयमा पोखरा काठमाडौं सडक खण्ड तथा पोखरा मुग्लिन सडक खण्ड निर्माणमा निकै ढिलाइ हुँदा यो क्षेत्र निकै प्रभावित भएको उनको गुनासो छ ।
अव्यवस्थित ढंगले काम भएकाले त्यसलाई सच्च्याउँदै निर्धारित समयमै सक्ने गरी व्यवस्थित तवरले काम गर्न उनले माग गरे । पोखरा मुग्लिङ राजमार्ग अवलोकन गर्दै परिषद्को टोलीले आइतबार तनहुँमा पत्रकारसँग यसबारे छलफल गरेको छ । कार्यक्रममा मार्फत सडक विस्तारको शैली परिवर्तन गरी सडकको एक किनारतर्फ काम गर्ने र अर्कोतर्फबाट सवारी साधन सहज आवतजावतको वातावरण सिर्जना गर्न माग गरियो ।
आँबुखैरेनी–जामुने ३१ र जामुने–पोखरा ८ प्रतिशतमात्र प्रगति भएको छ । राजमार्ग स्तरोन्नति चाडो सक्न पर्यटन व्यवसायीले माग गरेका छन् ।
देशका २ ठूला सहर काठमाडौं र पोखरा जोड्ने पृथ्वी राजमार्गको यो खण्डलाई कम्तीमा ४ लेनको बनाइँदै छ । परिषद्ले यो कार्य निकै महत्वपूर्ण र सराहनीय भएको जनाएको छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा मुग्लिन–पोखरा सडक सुधार आयोजना अन्तर्गत यो खण्डमा सडक स्तरोन्नति जारी छ ।
परिषद् स्तारोन्नति विशेष काम भए पनि यसको कामको गतिले आम उपभोक्ता, निजी क्षेत्र र पर्यटन जगतमा थुप्रै गुनासो उब्जाएको जनाएको छ । अध्यक्ष श्रेष्ठ भन्छन्, ‘छोटो यात्राका लागि लामो समय खर्चनुपर्ने, दिक्कलाग्दो र कष्टपूर्ण यात्रा, बिरामी र अशक्त यात्रुका लागि थप जोखिम तथा हैरानी व्यहोर्नु परेको छ । त्यतिमात्र होइन काम कछुवा गतिमा हुँदा सडक वरपरका बासिन्दाले धुलो, धुँवा र ध्वनि प्रदूषणको समस्याबाट गुज्रँदै स्वास्थ्यमा जोखिम सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’
उनले अव्यवस्थित सडक निर्माणले पर्यटन र उद्योग वाणिज्य क्षेत्रसमेत निकै प्रभावित भएको जनाए । काठमाडौं वा नारायणगढ हुँदै पोखरासम्म यात्रा गर्न चाहने पर्यटकले सिंगो दिन खर्चनुपर्ने अवस्था छ । निजी क्षेत्रले विक्री योग्य वस्तु, अन्य उत्पादन र कच्चा पदार्थ ढुवानीमा लामो समय खर्चनु परेको छ । अध्यक्ष श्रेष्ठले यसबाट पोखरा र वरपरको पर्यटनमा नकारात्मक प्रभाव परेको दाबी गरे ।
पोखरा औपचारिक रूपमै नेपालको पर्यटकीय राजधानी घोषणा हुने तरखरमा भएका बेला सडकको यो अवस्थाले झनै नकारात्मक स्थिति सिर्जना गर्ने परिषदले जनाएको छ । यसअघि परिषद्ले यो विषयमा प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, पर्यटन मन्त्री, गण्डकी प्रदेशका प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरूको ध्यानाकर्षण गराइसकेको छ ।
पोखरा मुग्लिन सडक खण्डको ठेक्का सम्झौता अब ८ महिनामात्र बाँकी छ । पोखरा मुग्लिन सडक सुधार आयोजनाले २ खण्डमा काम गरिरहेको छ । २ वर्षमा पूर्वी खण्ड आँबुखैरेनीबाट जामुने सम्म ३१ प्रतिशत र जामुनेदेखि पोखरा सम्म पश्चिम खण्ड जम्मा ८ प्रतिशतमात्र प्रगति भएको छ ।
पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको थियो । सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि चालु आर्थिक वर्षमा ५ अर्ब ४२ करोड विनियोजन गरेको छ । पूर्वी खण्ड अन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा ७ किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ ।
पश्चिम खण्ड अन्तर्गत जामुनेबाट पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई सोही सालको भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ भदौसम्म छ ।
मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत मुख्य बजारका घर, टहरा भत्काउने तयारी भएको छ । दमौली बजारका घरटहरा भत्काउने तयारी भएको हो । योजना प्रमुख नरेन्द्र सुवेदीले बजार क्षेत्रमा धुलो नउडोस् भन्नका लागि बजार क्षेत्रमा घरटहरा भत्काउन हतार नगरिएको जनाए । यो खण्डमा ५ सय ५ घरटहरा भत्काउनुपर्नेमा हालसम्म ३ सय ५० भत्काइसकिएको छ । घरटहरा भत्काउँदा २६ करोड मुआब्जा निर्धारण भएकामा हालसम्म १७ करोड ५० लाख वितरण गरिएको छ ।
४ लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडा सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रेमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटर हुनेछ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया