‘जूनकीरी’ लिएर आइन् अम्बिका

समाधान संवाददाता २०८० साउन ३१ गते ११:१७

पोखरा ।
लोकगायिका अम्बिका भण्डारी नयाँ तीजगीत लिएर आएकी छन् । केही सालदेखि हरेक तीजमा नयाँ गीत बजारमा ल्याउने गरेकी भण्डारीको यसपालि ‘हो कि होइन जूनकीरी’ बोलको गीत बजारमा आएको छ ।

Advertisement


आर्थिक र अनेक तवरले संकटमा रहेको नेपाली समाजका सदस्यलाई गीतले जीवनमा आशावादी बन्नुपर्ने सन्देश दिएको छ । ‘अहिलेको समयमा जस्तोसुकै दुःख भए पनि सामना गनुपर्छ, दुःखले बाच्न सिकाउँछ,’ गीतकारसमेत रहेकी भण्डारी भन्छिन्, ‘यसअघिका गीतमा आमाबा, गाउँ, साथीसँगीलाई सम्बोधन गरेकी थिएँ, यसपालि अहिले मान्छेले भोगिरहेको समयलाई उतार्न खोजेकी छु ।’ सन्तानबिना बेसाहारा बनेका वृद्धवृद्धाको पीडा गीतमा उतार्ने कोशिश गरिएको छ ।


गीतमा स्वर र लयसमेत उनैको हो । बासुरी स्टुडियो पोखराले तयार गरेको म्युजिक भिडियो एजेन्ज दिवश थापामगरले गरेका छन् । पोखरेली माग्ने बुढा (युवराज भण्डारी)ले निर्देशक गरेको भिडियो छायाँकन सुशील अधिकारी र सम्पादनको युवराज अधिकारीले गरेका हुन् । कलाकार धर्मदत्त दाहालको अभिनय रहेको गीतमा कुलमाया क्षेत्री, करुणा भण्डारी, विष्णुमाया पराजुली, सविना सुवेदी, निस्मा थापामगर, रश्मि भण्डारी लगायतले नृत्य गरेका छन् ।


यसअघि उनका २ दर्जन तीजगीत बजारमा आइसकेका छन् । संसार छाडी गयौं आमा, आऊ नाचौं दिदीबहिनी, सुखी राख्छौं बाबा तिम्लाई, माइती देशै झलल, हाम्रो माइती घर, उही वनपाखामा, आँठा आँठा छेकेर लगायतका उनका तीजगीत लोकप्रिय छन् । साहित्यकारसमेत रहेकी अम्बिकाका मुक्तक १, कविता संग्रह २ र खण्डककाव्य १ गरी ४ पुस्तक प्रकाशित छन् ।

Advertisement

तपाईको प्रतिक्रिया