शिविरमा ४ सयको आँखा जाँच

पोखरा ।
पोखरामा अटोवेज प्रालिले विद्यालयका बसचालक तथा सहचालकलाई लक्ष्य गरी निःशुल्क आँखा जाँच शिविर गरेको छ । ‘आँखा जचाऊ, दृष्टि बचाऊ’ भन्ने नाराका साथ अटोवेजले गरेको शिविर ४ सय ६ जनाको आँखा जाँच गरिएको म्यानेज इन्फोमेसन सिस्टम अफिसर श्रीकृष्ण पराजुलीले जानकारी दिए ।
शिविरमा सहभागी ३१ जनामा आँखा पाक्ने रोगको संक्रमण देखिएको छ । उनीहरुलाई निशुल्क औषधी वितरण गरिएको छ । जटिल समस्या भएका बिरामीलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको अफिसर पराजुलीले जानकारी दिए ।
पोखराको नयाँबजारस्थित अटोवेज सोरुमको भवनमा साउन २४ गतेदेखि ३ दिनसम्म भएको शिविर मंगलबार सकिएको हो ।साउन २९ गते लेखनाथस्थित गण्डकी बहुप्राविधिक शिक्षालयमा र साउन ३० गते लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको प्रांगणमा शिविर भएको छ ।
पोखरामा आँखा पाक्ने रोगको संक्रमण देखिएकाले त्यसलाई मध्यनजर राख्दै अटोवेजले शिविर गरेको हो । पोखरामा टोयटा, आइसर, कोमात्सु तथा बुलको आधिकारिक बिक्रेता अटोवेजले विद्यार्थी, अभिभावक र विद्यालयसँग जोडेर सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्य गर्दै आएको छ । अटोवेजले गोविन्द कलावती फाउन्डेसनमार्फत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोगसमेत गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया