सिर्जनाचोकमा स्मार्ट शौचालय

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ८ को वडा कार्यालयले सिर्जनाचोकमा स्मार्ट र आधुनिक सार्वजनिक शौचालय बनाएको छ ।
आकासे पुलमुनि गणेशमान सिंह पार्कको छेऊमा स्टिलको सामान प्रयोग गरेर सुविधा सम्पन्न शौचालय निर्माण गरेको वडाध्यक्ष रुद्रनाथ बरालले जानकारी दिए । पोखरा महानगरपालिकाको नीति अन्तर्गत बाटो हिड्ने बटुवा तथा पार्कमा आउने व्यक्तिलाई लक्ष्य गरी निर्माण गरिएको शौचालय उपमेयर मञ्जुदेवी गुरुङले बुधबार उदघाटन गरिन् ।
महानगरले आर्थिक वर्ष २०७९/०८०मा सार्वजनिक स्थलमा शौचालय निर्माण गर्ने योजनाअघि सारेको छ । उनले पोखराको मुख्यचोकमा सार्वजनिक शौचालय आवश्यक रहे पनि जग्गा व्यवस्थापन हुन नसेकेको बताइन् ।
‘पोखराका पर्याप्त रुपमा सार्वजनिक शौचालय नभएकाले जताततै माग छ । तर स्थान अभाव छ,’ उनले भनिन्, ‘घरको नजिक फोहोर हुन्छ भनेर शौचालय बनाउन नदिने परिपाटी पनि छ ।’ उनले शौचालयको सञ्चालन, व्यवस्थापन र सरसफाईमा ध्यान दिन सुझाव दिइन् ।
५ फिट लम्बाइ र ५ फिट चौडाइको शौचालय ६ लाख ८ हजार लागतमा निर्माण भएको हो । शौचालय स्टिलको बाकस जत्रो सानो छ । नमुनाको रुपमा अन्यत्र वडामा समेत बनाउन सक्ने गरी शौचालय निर्माण गरिएको वडाध्यक्ष बरालले बताए । उनले आर्थिक वर्ष २०७६/०७७ सालमा २५ लाख बजेट विनियोजन गरेको भएता पनि शौचालय निर्माण गर्न नसकेको बताए ।
महानगरको वातावरण तथा विपद् समितिका संयोजकसमेत रहेका बरालले ३३ वडामा सार्वजनिक शौचालय निर्माणका लागि ६ करोड बजेट रहेको जानकारी दिए । शौचालयको व्यवस्थापनका लागि सिर्जना विकास केन्द्रलाई जिम्मा दिइएको उल्लेख गर्दै उनले सरसफाइको लागि कर्मचारीको व्यवस्थापन गरेको बताए । उनले ५० लाख लागतमा शुद्ध पिउने पानीको व्यवस्था गर्न लागेको उल्लेख गरे ।
निर्माण कम्पनीका रेशमलाल पन्थीका अनुसार आवश्यक परे शौचालयलाई अन्यत्र सर्न सकिन्छ । शौचालयको स्टिलका सामान फेरि प्रयोग गर्न सकिन्छ । उनले सहरी सुन्दरता कायम गर्ने गरी बनाइएको शौचालय लामोसम्मको ग्यारेन्टी भएको दाबी गरे । शौचालयको कुनै पनि समान बिग्रिएमा तुरुन्त फेर्न सकिन्छ ।
शौचालय निर्माण समिति अध्यक्ष पुष्पराज सिग्देलले शौचालयभित्र बच्चालाई डाइपर वा न्याप्किन फेर्ने ठाँउ रहेको बताए । उनले शौचालय सानो भए पनि हात धुने ठाँउका अलवा महिलाका लागि आवश्यक स्यानिटरी प्याड राख्ने ठाँउ महिलामैत्री भएको जनाए ।
उनले शौचालयमा फोहोर फाल्ने डस्टिविनदेखि पिसाब फेर्ने प्यान भएको उल्लेख गरे । उनले चौबाटोको चोकमा सडकमा हिडने बटुवा र पार्क आउनेलाई दिशा पिसाब लाग्दा चिनेका व्यक्तिको घर वा खाजा खाने होटल खोज्दै हिड्नुपर्ने बाध्यता हटेको दाबी गरे ।
पोखरा महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बरालले मुख्य सहरी क्षेत्रका वडाले सरसफाइ, वातावरण संरक्षण र पार्क निर्माणमा जोड दिनुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस वडा इकाइ कार्यवहाक अध्यक्ष विश्व बिजुक्छे, नेकपा (एमाले) वडा कमिटी सचिव दीपक घिमिरे, नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि दामोदर सिग्देल, नेकपा (एकीकृत समाजवादी)का वडा कमिटी अध्यक्ष बालकृष्ण बराल, राप्रपाका प्रतिनिधि बाबुराम चलिसे, सिर्जना विकास केन्द्रका सचिव भीमप्रसाद सुवेदी र वडा सचिव सविता ढुंगानाले बोलेका थिए ।









तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया