पोखरा सहरको पहिलो बजार छब्बिस कुरिया र ताहामचा

क्षेत्रफलको हिसाबले देशकै सबैभन्दा ठूलो महानगरपालिका भएपनि पोखरा धेरै पुरानो सहर होइन । विसं १८०९ मा चौबिसी राज्य कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले बन्द व्यापार सञ्चालन गरी पोखरालाई सहरको रुपमा परिणत गर्नका लागि २६ कुरिया जग्गा उपलब्ध गराएर भक्तपुर, ललितपुर र काठमाडौंका नेवारहरु ल्याएर बजार सुरुआत गरेको इतिहासविद्हरुले लेखेको पाउँछौं । नेवारहरुमध्ये पनि व्यापारी, शिल्पी, कालीगढहरु बढी थिए । २६ कुरिया अन्तर्गत आउने ठाउँहरु अहिले रामकृष्णटोल, गणेशटोल, नालामुख, भीमसेनटोल, भैरवटोल, मोहरियाटोल, तेर्सापट्टि टोलको रुपमा स्थापित छन् ।
सुरुमा लगभग १५० जनालाई बसोबास गराइएको दस्तावेजमा उल्लेख भएको पाउँछौं । क्रमशः विक्रम संवत् १८२६ मा भक्तपुरका राजा रणजीत मल्ल युद्धमा हारेपछि ठूलो जमात नै पोखरा आएको र मानिस बसोबास गनेर्को संख्या ७०० पुगेको थियो । पोखरा पहिलेदेखि कास्की राज्य अन्तर्गत नै थियो । कुलमण्डन शाह कास्कीका राजा भएको बेला विसं १६३७ तिर पहाडी र अधिकारी थर भएका ब्राह्मणहरुलाई बैदाममा बसोबास गराएको माटेपानी, मझेरीपाटन चाउथेमा नुवाकोटबाट कार्की थरका क्षेत्रीहरुलाई बसोबास गराइएको समेत इतिहासमा उल्लेख गरिएको छ ।
कास्कीकोटमा नै राजा बस्ने भएकाले हिउँद महिनामा बाटुलेचौरमा बिताउने व्यवस्था मिलाइएको उल्लेख गर्दै मनोरञ्जन गर्न तनहुँबाट गायकहरु ल्याएर बसोबास गरेको पाइन्छ । हाल पुरानो राज्य मुकाम भएको कास्कीकोट पनि महानगरपालिकाभित्र नै समावेश छ । पोखरा बजार स्थापना भएको २७२ वर्ष भएको छ । पोखरालाई सहरको रुपमा परिणत गर्न थालिएको वर्ष विक्रम संवत् १८०९ हो भन्ने कुरा नेपाल र विदेशका इतिहासविद्हरूले आफ्ना किताबहरुमा उल्लेख गरेको पाइन्छ । सबैभन्दा पहिले यसबारे उल्लेख गर्ने इतिहासकार एफवि हैमिल्टन हुन्, जो विक्रम् संवत् १८५० मा नेपाल आएर नेपालको इतिहास लेखेका थिए ।
पोखरालाई सहरको रुपमा परिणत गर्न थालिएको वर्ष विक्रम संवत् १८०९ हो भन्ने नेपाल र विदेशका इतिहासविद्हरूले आफ्ना किताबहरुमा उल्लेख गरेको पाइन्छ
कुनै पनि सहरको आधिकारिता स्थापित गर्ने काम सम्बन्धित पालिकाले गर्नुपर्दछ । आउँदा दिनमा पोखराको महिमा र गरिमालाई लिपिबद्ध गर्ने काममा महानगरपालिका लाग्नुपर्दछ र विदेशी पाहुनाहरुलाई चिनाउने क्रममा पोखरा २७२ वर्ष अगाडि १५० जना मानिसबाट सुरु भएको सहर हो भन्न कुनै अप्ठेरो मान्नुहुँदैन ।
अहिले पोखरा उपत्यका नै महानगरपालिकाको भूगोल हो, तसर्थ उपत्यकाभित्रका सबै समुदाय, जातजाति को भाषा, भेषभूषा, कला, धर्म, संस्कृतिको मौलिकता तथा इतिहास जगेर्ना गरी भविष्यका लागि सुरक्षित राख्ने तथा पर्यटक आकर्षण गर्ने जिम्मेवारी पनि महानगरपालिकाको हो । अहिलेकै मेयर धनराज आचार्यकै पालामा छब्बिस कुरिया सम्बन्धी इतिहास लिपिबद्ध गर्न सके पोखरा बजार स्थापनाको २७५ औ वर्ष विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाउन सकिन्छ ।
नेवारहरू संस्कृतिमा धनी छन् । आफ्नो संस्कृति जगेर्ना गर्न नेवारहरू जति अरू सिपालु हुँदैनन् पनि । वर्षको ३६५ दिनमा ३६६ वटा चाड मनाउँछन् भनेर नेवारलाई भन्ने गरिन्छ । त्यसैले त पुरानो कथन छ, ‘राणा बिग्रियो मोजले नेवार बिग्रियो भोजले’ । नेवारहरू हरेक अवसरलाई चाडको रूपमा मनाउन अग्रसर हुन्छन् । तर पोखराका छब्बिस कुरियामा बसोबास गर्ने नेवार जात्रा मनाएर व्यापार वृद्धि गर्दथे ।
भक्तपुरबाट पोखरा आएका नेवारहरुले मौलिक गीतसँगै विभिन्न बाजाहरुका साथ ताहामचा नाच नचाउने प्रचलन भिœयाएका हुन् ।
ताहामचा गना ते ग्वाखू प्वाले ते
ग्वाखु प्वाले मन्ह्यासा खुशीङ चुइक छ्वे
भन्दै गीत गाउदै घिन्ता घिसिङ नाच्ने गर्दछन् । यो मौसम सर्प निस्कने र सर्पको बच्चा जन्माउने समय हुदा गीतले प्राकृतिक जीवप्रतिको माया दर्शाउँछ ।
पोखरामा ताहामचा
पोखरामा पनि अठारौं शताब्दीको सुरूमा प्रवेश गरेका नेवारहरूले आफ्नो बाहुल्यको आधारमा भक्तपुरको सापारूलाई नै भित्रयाएको पाउँछौं । विक्रम संवत १९९० को दशकसम्म गाइको चारवटा खुट्टामा लामो लामो बाँस राखेर बनाइने ताहासाँलाई बजार परिक्रमा गरिन्थ्यो । गाई नै नबनाए पनि डोकोमा बाँस राखेर दोक चि साँ बनाउने चलन भने अध्यावधि छ । भक्तपुरमा झै पोखरामा पनि यसरी बनाइएका अग्ला अग्ला मृतात्माको प्रतीक आकृतिलाई ताहामचा भनिन्थ्यो ।
भक्तपुरमा जसरी नेवारहरूले साँपारू वा साँजात (गाईजात्रा) को साथमा मनोरञ्जनको रूपमा घिन्ता घिसी, माक प्याख, हनुमान नाच प्रदर्शन गरे झै विसं १९४० को दशकतिर कृष्ण जन्माष्टमीको केही दिन अगाडि भीमसेन मन्दिरमा रहेको नासःद्यः को दर्शन गराएर कृष्णलीला प्रदर्शन हुने गर्दथ्यो । कृष्ण र गोपिनीहरुको लीलासहित रमाइलो नृत्य हुने हँुदा यसको आकर्षण अझ बढी हुन्थ्यो । यस नाचलाई मन पराएपछि गाउँबाट नाच हेर्न आउनेको संख्या अचानक बढ्न थाल्यो । यसले त्यसबेला अप्रत्यक्ष रूपमा व्यापार बढ्न थाल्यो ।
यसरी नौलो प्रस्तुति गर्दा यसको व्यापकता बढ्दै गयो र त्यसपछि यो नाच बर्सेनि देखाउन थालियो । यही क्रममा मोहरिया टोलबाट नाचमा नाच्नेहरूमा केही परिवर्तनको सुरूआत भयो । नाचमा नाच्ने गोपिनीलाई पखेटा तथा शिरमा ताज राखेर परी बनाइयो । नाचमा पनि समय समयमा परिवर्तन हँुदै गयो र नाचले झन् रौनकता पायो ।
समग्रमा भन्नु पर्दा १८औ शताब्दीको सुरुमा नेवारहरुले पोखरामा प्रवेश गरेपछि नै पोखराको सांस्कृतिक, धार्मिक तथा आर्थिक विकासले गति लियो । तसर्थ आजको पोखरा बजार बन्नुमा छब्बिस कुरिया नेवारहरुको प्रमुख भूमिका छ ।
विसं २०२५ सालमा रानी रत्नको जन्मदिन र कन्या स्कुलको वार्षिकोत्सव मनाउने क्रममा कन्या स्कुलको प्रांगणमा अनौपचारिक रुपमा प्रतियोगिताको आयोजना गरिएको थियो । विसं २०३८ सालमा पहिलोपटक पोखराको युनेस्को क्लबबाट प्रतियोगिताको आयोजना भयो । २०४१ देखि पोखरा सांस्कृतिक परिवारले आयोजनाको जिम्मेवारी लियो । ४३ सालपछि महेन्द्रपुल क्लबले आयोजनाको जिम्मा लियो । तर नियमित आयोजना हुन सकेन । २०५० साउन १९ गते स्थानीय क्लबको रूपमा स्थापित सिद्धार्थ क्लबले जमर्को गरेर पूरा गरेको थियो ।
श्रेष्ठ छब्बिस कुरिया संरक्षण समूह पोखराका संयोजक हुन्
तपाईको प्रतिक्रिया