रक्त सञ्चार सेवा व्यवस्थित बनाइने

समाधान संवाददाता २०८० भदौ ७ गते १३:२९

पोखरा ।
गण्डकी प्रदेश स्तरको रक्त सञ्चार सेवालाई व्यवस्थित ढंगले सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रले बुधबार सरोकारवाला निकायसँग छलफल गरेको छ । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको समन्वयमा भएको कार्यक्रममा प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले समग्र गण्डकी प्रदेशको रक्तसञ्चार सेवाको वर्तमान अवस्थाबारे प्रकाश पारे ।

Advertisement


कार्यक्रममा मन्त्री सुशीला सिंखडाले गण्डकी सरकारले नेपाल रेडक्रस सोसाइटीलाईसहयोग गरी सबै रक्त सञ्चार सेवालाई निशुल्क गरेको जानकारी दिइन् । ‘प्रदेशमा विगतदेखि सञ्चालित निशुल्क रक्तसञ्चार सेवाको निरन्तरता हुन्छ,’ मन्त्री सिम्खडाले भनिन्, ‘रक्त सञ्चार सम्बन्धित आवश्यक सेवाका अलवा थप सहयोग गर्न प्रदेश सरकार तयार छ ।’ उनले उपलब्ध स्रोत, साधनको उच्चतम प्रयोग गर्दै नेपाल रेडक्रस सोसाइटीबाट हुने मानवीय सेवाको निरन्तरताको अपेक्षा गरिन् ।


मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले गण्डकी प्रदेश सरकारले प्रदेशमा बसोबास गर्ने सबै नागरिकलाई रगत तथा रगतजन्य सेवा निःशुल्क गरेको बताए । उनले रेडक्रस सोसाइटीले गरेको मानवीय सेवाको प्रशंसा गरे । नेपाल रेडक्रस सोसाइटी, कास्की शाखाका सभापति डण्डराज शर्माले नेपालमा रेडक्रसले रगत संकलन, भण्डारण र वितरणको काम गरेको जनाए ।


रेडक्रस कास्कीले कम्पाउन्ड सेवासहित ३३ हजार युनिट रगत वितरण गरेको उनले बताए । संकलित रगतको गुणस्तर कायम राख्नका लागि थप योजना बनाउनुपर्ने उल्लेख गर्दै उनले रक्त सञ्चार सेवाका लागि आवश्यक हुने जनशक्ति, भौतिक पूर्वाधार, एम्बुलेन्स, भ्यानसहित औजार–उपकरणको व्यवस्थापनमा चुनौती रहेकाले ती कार्यमा सबैको सहयोगको अपेक्षा गरे ।

उनले कास्की शाखा नेपालकै उत्कृष्ट सेवा प्रदान गरेवापत हालसालै पुरस्कृतसमेत भएको स्मरण गरे । कार्यक्रममा कास्की शाखाका उपसभापति एवं प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका संयोजक धर्म राज अधिकारी, कास्की शाखाका मन्त्री सुरेन्द्र गुरुङले गण्डकी प्रदेश सरकार लगायत सबै क्षेत्रको सहयोगमा रेडक्रसले गण्डकी प्रदेश स्तरको अत्याधुनिक रक्त सञ्चार सेवा (ब्लड बंैक) सहितको बहुउद्देश्यीय भवन बनाएको जनाए ।

Advertisement


अहिलेको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान परिसर रामघाटको विकल्पमा सिर्जनाचोकमा अन्डरग्राउन्ड पार्किङसहित ३ तले भवन सुविधा सम्पन्न भवन बनेको छ । अपांगमैत्री लिफ्ट सहितको ब्लड बैंकको मुल भवनबाट प्रदेश स्तरको सेवा प्रदान गर्ने रेडक्रसको योजना छ । कार्यक्रममा रेडक्रस सोसाइटी म्याग्दीका शाखाका सभापति अम्मर बानियाँ, बागलुङ शाखाका सभापति जगन्नाथ आचार्य, गोरखा शाखाका सभापति यदुविलास भट्टराई, तनहुँ शाखाका कोषाध्यक्ष प्रतापसिंह अधिकारीले जिल्ला तहको रक्त सञ्चार सेवाको जिल्ला तहको प्रगति अवस्थाबारे बोलेका थिए ।

तपाईको प्रतिक्रिया