सम्पादकीय: एकातिर आँधी, अर्काेतिर झोलुंगो

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिकाको सीमाना लुप्रा पान्डा खोलाको मुख्य राजमार्ग सडकमा पुल बनेको ४ वर्ष पुग्यो । कालिगण्डकी करिडोर (पाल्पा)ले ६ वर्ष लगाएर बनाएको उक्त पुल ४ वर्ष बितिसक्दा पनि बेकाम बनेको छ । पुल रहेको स्थानको भौगोलिक अवस्था र वैज्ञानिक प्राविधिक अध्ययन नगरी हचुवाका भरमा पुलको सर्भे तथा डिपिआर निर्माण गरेर पुल बनाउँदा प्रयोगविहीन हुन पुगेको छ । लुप्रा पान्डा खोलाको पुल वैज्ञानिक तवरले नबन्दा बर्खामा बारम्बार खोला पुलबाहिरबाट बग्ने गरेको छ ।
मुस्ताङको जोमसोम मुक्तिनाथ जोड्ने पक्की खोलाको भौगोलिक अवस्था अध्ययन नगरी निर्माण हुँदा यो मार्गबाट यात्रा गर्नेहरुले सास्ती व्यहोर्नुपरेको छ । बर्खायाममा पूर्वतर्फबाट बग्ने लुप्रा पान्डा खोलाको बाहवले मुक्तिनाथ धाम र उपल्लो मुस्ताङको यात्रा कठिन बनेको छ । खोलाको सतहको आकलन नगरी पुल बनाउँदा बर्खायाममा यहाँ सधै सास्ती हुने गरेको छ । यो मुक्तिनाथ र उपल्लो मुस्ताङ जोड्ने मार्गको पुल हो । यो ठाडो खोला बर्सेनि अनियन्त्रित हुन्छ । फराकिलो भूगोलको छोटो र होचो लुप्रा पान्डा खोलामा बनाइएको पुल बाढीको उच्च जोखिम छ ।
यो त एउटा उदाहरणमात्रै हो । यस्ता धेरै संरचना बनेका छन् । जसको उचित प्रयोग हुन सकेको छैन । आवश्यक ठाउँमा संरचना नबनाउने र आफ्ना, अनावश्यक ठाउँमा योजना हाली संरचना बनाउँदा ती संरचना प्रयोगविहीन अर्थात बेकामे बनेको देखिन्छ । तिनै तहका सरकारले सडक, पुल तथा भवन निर्माणमा धेरै लगानी गरेका छन् । तर, अधिकांश संरचना निर्माण गर्दा निर्माण अघि गरिने वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) प्रभावकारी ढंगले गरेको पाइँदैन । आफूखुसी र आफूअनुकुल योजना हाल्ने र संरचना बनाउने गर्दा संरचना प्रयोगविहीन त भएकै छ । साथै राज्यको आर्थिक नोक्सानीसमेत हुन पुगेको छ ।
भौतिक संरचना निर्माण गर्दा होस् अथवा मर्मत गर्दा नै होस्, संरचना डिपिआर, इआइए ख्यालमा राखेर गर्नुपर्छ । कुनै व्यक्ति वा संस्थाको फाइदाका लागि गरिने सम्पूर्ण कामहरुलाई सधैका लागि बन्द गर्नुपर्छ । मागका आधारमा विना अध्ययनले गरिने निर्माणले विकास होइन, विनास निम्त्याउँछ । संरचना रहरले होइन, कहरले बनाउने प्रणालीको विकास गर्नुपर्छ । कार्यकर्ता पोस्ने नियतले पारेका योजना जनमुखी हुन सक्दैनन् । अनावश्यक रुपमा संरचना निर्माण गरिने प्रणालीलाई जरैदेखि ओखेलेर फाल्नुपर्छ । कहिँ पनि एकातिर आँधी, अर्काेतिर झोलुंगो नहोस् ।
तपाईको प्रतिक्रिया