व्यवसायीलाई कर शिक्षा

समाधान संवाददाता २०८० भदौ १२ गते १५:२८

पोखरा ।
उद्योगी, व्यवसायीलाई कर शिक्षा दिन पोखरा चेम्बर अफ कमर्स कास्की र महिला चेम्बर अफ कमर्स कास्कीले संयुक्त रुपमा खुला अन्तक्र्रिया गरेका छन् । आन्तरिक राजस्व कार्यालय पोखराको सहकार्यमा भएको करदाता शिक्षा कार्यक्रममा कर अधिकृत गोपाल गिरीले सहजीकरण गरे ।

Advertisement


करसम्बन्धी ज्ञान बढाउन सकेको खण्डमा उद्योग, व्यवसाय प्रवद्र्धनका लागि सहयोग पुग्ने भएकाले कार्यक्रम गरेको चेम्बर अफ कमर्स कास्की अध्यक्ष यमनाथ पौडेलले बताए । करको दरभन्दा दायरा बढाउन सान्दर्भिक हुने उल्लेख गर्दै उनले धेरैभन्दा धेरै उद्योगी व्यवसायीलाई करको दायरामा ल्याएर राजस्व वृद्धि गर्नु जरुरी भएको जनाए ।


कर अधिकृत गिरीले आर्थिक विधेयक २०८० ले प्रदान गरेको छुट तथा सुविधासम्बन्धी विषय र ऐनहरुमा भएका संशोधनका बारेमा प्रकाश पारेका थिए । साबिकका विषय तथा आर्थिक विधेयक २०८० ले थप गरेका नयाँ व्यवस्थाबारे उनले जानकारी दिए ।

Advertisement


‘आयातीत मदिरा, पाँचतारे र सो भन्दा माथिका होटलले २ प्रतिशतका दरले कर तिर्नुपर्ने नयाँ व्यवस्था गरेको छ,’ उनले भने, ‘पर्यटन भिसामा विदेश भ्रमणमा जाने नेपाली पर्यटकले ५ प्रतिशतको दरले कर तिर्नुपर्ने व्यवस्था छ ।’ उनले सहकारीले गाउँपालिकामा १०, नगरपालिकामा १५ र महानगरपालिकामा २० प्रतिशतका दरले कर तिर्नुपर्ने जानकारी दिए ।


कार्यक्रममा कर अधिकृत अर्जुन दाहालले करसम्बन्धी व्यवस्थाका बारेमा बोलेका थिए । कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योगतर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपाली, वस्तुगततर्फका उपाध्यक्ष उमराज बास्तोला, वाणिज्यतर्फका उपाध्यक्ष प्रेमप्रसाद सुवेदी, सचिव विष्णुप्रसाद बास्तोला, महिला चेम्बर अफ कमर्स कास्की अध्यक्ष सीमा कोइराला लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया