पोखराका बसमा इ-टिकेटिङः सम्झौताको २ महिनापछि बल्ल चाँजोपाँजो

समाधान संवाददाता २०७६ जेठ ३० गते १४:२५

विकास रोकामगर
पोखरा

पोखरा महानगरले चैत ३ गते महानगरभित्र सवारीसाधनमा विद्युतीय टिकट (इ–टिकेटिङ) प्रणाली लागू गर्ने भन्दै पोखराका बस व्यवसायी र एन्क्लाउड कम्पनीबीच त्रिपक्षीय सम्झौता गरेको थियो । सम्झौता अनुसार वैशाखदेखि पोखराभित्र चल्ने सवारीसाधनमा ‘इ–टिकेटिङ सिस्टम’ सुरु गर्ने भनिएको थियो ।

सम्झांता कार्यक्रममा महानगरका मेयर मानबहादुर जिसीले वैशाखदेखि यात्रु र सवारी धनी ठगिनु नपर्ने र समय तथा पैसा दुबैको बचत हुने दाबी गरेका थिए । तर वैशाखदेखि लागू गर्ने भनिएको इ–टिकेटिङ सिस्टम जेठको अन्तिम साता बितिसक्दा पनि लागू हुन सकेको छैन ।

Advertisement

काठमाडौंको एन्क्लाउड कम्पनीले विद्युतीय टिकट प्रणाली लागू गर्न स्रोत र प्रविधि उपलब्ध गराउने महानगरसँग सम्झौता छ । पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस व्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि, र ट्याक्सी व्यवसाय समितिसँग महानगरले विद्युतीय टिकट प्रणाली लागू गर्न सम्झौता गरिसकेका छन् ।

इ–टिकेटिङ सिस्टम लागू गर्ने सम्झौता भएको करिब २ महिना बितिसक्दा पनि घोषणा अनुरुप समयमै काम गर्न नसकेको मेयर मानबहादुर जिसीले स्वीकारे ।

Advertisement

उनले भने, ‘वैशाखदेखि नै सुरु गर्ने भनेका थियौं । तर भनेजस्तो सजिलो नहुँदो रहेछ ।’ उनले यात्रु, चालक र सवारी मालिकलाई इ–टिकेटिङबारे बुझाउनै अप्ठेरो भएको र जसका कारण उनीहरुलाई ‘झिंजो’ लाग्ने पनि बताए ।

‘प्यासेन्जर र व्यवसायी दुबैलाई झिंजो लाग्ने हो कि ! भन्ने पनि लागिरहेको छ,’ मेयर जिसीले भने, ‘सुरुमा प्रविधि लफडै हुन्छ । तर पछि सहज हुँदै जाने हो ।’ उनले सकेसम्म इ–टिकेटिङ कार्डलाई स्मार्टकार्डमा परिर्वतन गर्दै लैजाने पनि महानगरको योजना रहेको बताए । इ–टिकेटिङ लागू भइसकेपछि यात्रुलाई ‘बसमा चढिसकेपछि भाडा तिर्नुपर्छ है !’ भन्ने भावना जागृत हुने उनको दाबी थियो ।

कार्यक्रममा मेयर जिसीले पोखरामा इ–टिकेटिङ लागू भइसकेपछि बाहिरबाट पोखरा आउने यात्रुलाई पनि त्यसबारे जानकारी दिने बताए । उनले भने, ‘यहाँका मान्छेले सिक्दै गर्छन् । बाहिरबाट पोखरा भित्रिने मान्छेहरुलाई पनि कार्डको प्रयोग गर्नुपर्छ है भन्ने मान्यताको विकास गराउनु पनि जरुरी छ ।’ उनले अबको व्यवसाय ‘लेनदेन’को नभई प्रविधिमैत्री हुनुपर्ने सुनाए ।

यातायात कर्मचारीलाई दिन तालिम सुरु
वैशाखदेखि सुरु गर्ने भनिए पनि तत्काल लागू गर्न नसकिएको विद्युतीय टिकट प्रणाली साउनदेखि सुरु गर्ने गरी महानगर, एन्क्लाउड कम्पनीले यातायात व्यवसायीलाई बुधबारदेखि तालिम दिन सुरु गरेको छ ।

बुधबारदेखि सुरु भएको तालिम ३० दिनसम्म चल्ने एन्क्लाउड कम्पनीले जनाएको छ । ‘पहिलो चरणमा ८ सय सवारी चालक, सहचालक र सवारीधनीलाई इटिकेटिङ प्रविधि प्रयोगबारे जानकारी दिने उद्देश्यले तालिम दिन सुरु गरेका छौं,’ कम्पनीका सिइओ दीपेन्द्रनारायण श्रेष्ठले भने ।

सिइओ श्रेष्ठले यातायातसँग सम्बन्धित व्यक्तिलाई तालिम दिएर दक्ष बनाइसकेपछि मात्रै विद्युतीय टिकट प्रणाली सुरु गरिने बताए । उनले भने, ‘तालिम अवधि १ महिनाको हुन्छ । त्यसपछि हामीले तत्काल ८ सय वटा बसमा इ–टिकेटिङ सुरु गरिहाल्छौं ।’ उनले टिकट प्रणाली लागू भइसकेपछि पहिलो चरणमा कार्ड रिचार्ज गर्ने, सहचालकलाई कार्ड मेसिन प्रदान गर्ने जानकारी दिए ।

‘दास्रो चरणमा हामीले ६ महिनापछि सुरु गर्नेछौं । त्यसमाचाहिँ बसकै मेसिन हुन्छ । यात्रुले आफैं मेसिनमा कार्ड स्क्यान गराएर ‘चेक इन र चेक आउट गर्न सक्छन्,’ उनले भने । पोखराबाहेकका अन्य क्षेत्रमा २ महिनापछि इ–टिकेटिङ सिस्टम लागु गर्ने तयारी रहेको उनले जनाए ।

बस व्यवसायी समितिले विद्युतीय टिकट प्रणाली लागु भएपछि प्रत्येक यात्रुलाई विशेष प्रकारको कार्ड उपलब्ध गराउनेछन् । उक्त कार्ड मूल्य १ सय ५० रुपैयाँ पर्ने र त्यसमा १ हजार रुपैयाँसम्म रिचार्ज गर्न सकिने सुविधा हुनेछ । ‘यात्रुले पाएको कार्ड गाडीका सहचालकसँग भएको मेसिनमा घुसाएपछि जिपिएसका आधारमा भाडा स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुनेछ,’ एनक्लाउडका श्रेष्ठले भने ।

व्यवसायीलाई विद्युतीय टिकट मेसिन चलाउने तालिम पनि आफैं नै दिने र त्यसबापत प्रत्येक बसबाट २ हजार २ सय रुपैयाँ उठाउने कम्पनीसँग सम्झौता भएको छ । ‘उनीहरुले पहिले निश्चित ठाउँ (बैंक)मा रकम जम्मा गरेका हुन्छन्, त्यसकै आधारमा कार्ड पाउँछन्,’ श्रेष्ठले भने, ‘यात्रुले सजिलोका लागि कार्ड नम्बर डायल गरे पनि हुन्छ ।’ उनले सुरुमै सबैसँग कार्ड असम्भव हुने हुँदा इ–टिकेटिङ नै भरपर्दो हुने बताए ।

तपाईको प्रतिक्रिया