स्टन्टको राजनीति कि सेवामुखी राजनीति ?

रुद्रप्रसाद अधिकारी २०८० भदौ १५ गते १२:३६

स्टन्ट अंग्रेजी शब्द हो । सस्तो लोकप्रियता वा सार्वजनिक खपतका लागि गरिने क्रियाकलापलाई स्टन्टको रूपमा बुझ्न सकिन्छ । अर्को शब्दमा भन्नुपर्दा मानिसहरुलाई क्षणिक रूपमा प्रभावित पारी आफूतर्फ आकर्षित गर्न गरिने क्रियाकलाप स्टन्ट हो । यो एक प्रकारको देखावटीपन हो जुन वास्तविकताभन्दा पर हुन्छ ।

Advertisement


स्टन्ट प्रायः कलाकारिताको क्षेत्र, स्टेज तथा टेलिभिजन कार्यक्रमहरुमा प्रचलित छ । तर हामीकहाँ पछिल्लो समय राजनीतिमा यसको प्रयोग गर्ने प्रयास भइरहेको छ । सामाजिक सञ्जाल तथा मिडियामा आम मानिसको पहुँच वृद्धि हुँदै जानु र मिडियामा प्रेसित सामग्रीद्वारा मानिसहरु यथाशीघ्र प्रभावित हुनु यसको प्रमुख कारण हो ।


नेपाली राजनीतिमा स्टन्टको प्रयोग हुन थालेको धेरै समय भएको छैन । पहिलेपहिलेका चुनावहरुमा फाट्टफुट्टमात्र स्वतन्त्र उम्मेदवारले विजय हासिल गर्ने गरेकोमा गएको स्थानीय चुनावमा मुलुकको राजधानी लगायत अन्य केही क्षेत्रहरुमा उल्लेख्य रूपमा स्वतन्त्र उम्मेदवारहरुले विजय हासिल गरे । यसका पछाडि अन्य कुनै खास कारणभन्दा पनि विकृत राजनीतिबाट वाक्कदिक्क भएका आम सर्वसाधारणको परिवर्तनको चाहनाले गर्दा हो भन्ने कुरा प्रष्ट बुझ्न सकिन्थ्यो ।


विकृत राजनीतिबाट आजित भएका आम सर्वसाधारणमा केही गरेर देखाउने हुटहुटी भएको उर्जावान नेतृत्वले राजनीतिलाई सही दिशातर्फ डोहोर्‍याओस् भन्ने चाहना तिव्र थियो फलस्वरूप उनीहरूले गएको संसदीय चुनावमा एउटा नयाँ दललाई उल्लेख्य सिट संख्याका साथ संसदमा स्थापित गरिदिए । यी सबै परिघटनामा सामाजिक संजाल र मिडियाको भूमिका महत्वपूर्ण रह्यो, जसले आम सर्वसाधारणलाई आफ्नो मत परिवर्तन सक्ने बनायो ।

सर्वसाधारणले कुनै पनि राजनीतिक दल स्टन्टमा लागेको छ कि जनसेवामुखी छ भनी छुट्याउने सबैभन्दा सरल उपाय भनेको उसको नीति र व्यवहारबाट नै हो

Advertisement


अब प्रश्न उठ्न सक्छ, सर्वसाधारणले यति छिटो आफ्नो मत परिवर्तन गर्न सक्छन् भने अघिल्ला चुनावहरुमा त्यो किन सम्भव हुन सकेन ? किन मुलुकले लामो समय द्वन्दको सामना गर्नुप¥यो ? यी सबै प्रश्नको सटिक जवाफ हो त्यतिबेला सर्वसाधारणहरु परम्परागत राजनीतिक दलहरुप्रति बढी नै विश्वस्त थिए, नेतृत्वले पनि आशा जगाइराखेको थियो, कुनै न कुनै एजेन्डा दिइरहेको हुन्थ्यो, राजनीतिमा अहिले जस्तो नैराश्यता र एजेन्डाविहीनता थिएन साथै मिडियामा सर्वसाधारणको पहुँच पनि अहिले जस्तो थिएन ।


छोटो समयमै जनसमर्थन प्राप्त गरी सत्तामा पुग्ने उच्च अभिलाषा राखेका राजनीतिक दलले जनतालाई कुनै न कुनै रूपमा आफू जनताकै निकट रहेको देखाउन खोज्नु स्वाभाविक हो । यसका लागि राजनीतिक दलले जनतालाई राहत पुग्ने कार्यक्रममा जोड दिनुलाई सकारात्मक रूपमा लिन सकिन्छ । तर त्यस किसिमका कार्यक्रम क्षणिक रूपमा मात्रै सञ्चालन गरियो, भेदभावपूर्ण तवरले सञ्चालन गरियो र सस्तो लोकप्रियताका लागि मात्र सञ्चालन गरियो भने त्यो झनै प्रत्युत्पादक हुन जान्छ ।


अहिलेको सन्दर्भमा कुरा गर्ने हो भने सामान्य नागरिकले स्टन्टको राजनीति र सेवामुखी राजनीतिको भेद छुट्याउन गार्‍हो छ । छोटो समयमा ठूलो जनसमर्थन प्राप्त गर्न सकिने देखेपछि अहिले पुराना तथा नयाँ प्रायः सबै जसो राजनीतिक दलहरु स्टन्टको राजनीतिमा लागेका छन् । बाहिर राम्रो काम गरे जस्तो गर्ने तर भित्री रूपमा विकृतिलाई प्रश्रय दिने, सेवामुखीभन्दा पनि देखावटी कार्यक्रममा जोड दिने गरेको पाइन्छ ।


पछिल्लो समयमा अधिकांश राजनीतिक दलका कार्यक्रमहरु ठूल्ठूला होटेल, पार्टी प्यालेस र ब्याङ्केटमा आयोजना हुने गरेको पाइन्छ, कार्यक्रमहरु पनि बढी शहर केन्द्रित हुन्छन् र बढी प्रचारमुखी हुन्छन् । त्यतिमात्र होइन त्यस्ता खर्चालु र अनुत्पादक कार्यक्रमहरुका निमित्त ठुल्ठूला व्यापारीसँग साँठगाँठ गरिन्छ, पार्टीमा धनाढय व्यापारीलाई उच्च कोटीमा राखिन्छ र रातो कार्पेट बिच्छ्याएर स्वागत गरिन्छ ।


जनसेवामुखी राजनीति गर्नेहरुले दुरदराजका जनताको दैनिकीसँग पनि प्रत्येक्ष जोडिन सक्नुपर्छ, उनीहरूसँगै रोटोपिठो खाँदै कार्यक्रम गर्न सक्नुपर्छ, गाउँका भिरपाखा छिचोल्दै अघि बढ्नुपर्छ । गाउँका समस्यासँग प्रत्यक्ष जोडिनुपर्छ, समाधानका लागि प्रयत्नहरु जारी राख्नुपर्छ । श्रमजीवी वर्गको सम्मान गर्दै उत्पादनमुखी राजनीतिमा जोड दिनुपर्छ । साथै सेवामुखी राजनीति गर्नेले व्यावहारिक रूपमा जनतासँग निकट रही जनसेवाका क्रियाकलापमा आफुलाई समर्पित गर्नुपर्छ । हरदम जनताका पीर, मर्का, समस्या, गुनासो सुन्ने, बुझ्ने र समाधान गर्ने प्रयत्न गर्नुपर्छ ।


राजनीतिक दल आफ्नो नीतिमा स्पष्ट हुनुपर्छ । मुलुकको शासकीय स्वरुप कस्तो हुने, आर्थिक नीति, विदेश नीति, शिक्षा, स्वास्थ्य लगायत विकास नीति के कस्ता हुने, ती नितिहरु कार्यान्वयन कसरी गर्ने, कसरी ती नीतिहरुका उद्देश्य तथा लक्ष्य हासिल गर्ने भन्ने विषयमा राजनीतिक दलको स्पष्ट रुपरेखा हुनुपर्छ र उक्त रुपरेखाको सञ्चार तल्लो तहसम्म गरिनुपर्छ ।


आम सर्वसाधारणले कुनै पनि राजनीतिक दल स्टन्टमा लागेको छ कि जनसेवामुखी छ भनी छुट्याउने सबैभन्दा सरल उपाय भनेको उसको नीति र व्यवहारबाट नै हो । उसले आफ्ना कार्यक्रम तथा गतिविधिलाई कसरी अघि बढाउँछ, स्रोतसाधन कसरी जुटाउँछ र कसरी परिचालन गर्छ, आर्थिक पारदर्शिता कायम गरेको छ कि छैन, नेतृत्वमा कस्तो पृष्ठभूमिका मानिसलाई स्थान दिएको छ, जनताका लागि भनेका कार्यक्रमहरु अल्पकालीन छन् या दीर्घकालीन हितमा छन्, कार्यक्रमहरु सञ्चालन गर्दा उत्पादनमा जोड दिन्छ कि प्रचारमा मात्र जोड दिन्छ, सामाजिक सदभाव र राष्ट्रिय अखण्डता कायम गर्नमा सक्षम छ कि छैन आदि विषयलाई गहन रूपमा अध्ययन गरेपछि मात्र दलको असलियत थाहा हुन्छ ।


जनसेवामुखी राजनीति गर्नेहरू प्रायः भद्र, सालीन र नम्र स्वभावमा देखिन्छन् । उनीहरू सस्तो प्रचारबाजी मन पराउँदैनन् । सत्ताको लागी मरिहत्ते गर्दैनन्, सरकार बाहिर बसेर पनि जनताको पक्षमा उभिन सकिन्छ भन्ने बुझेका हुन्छन् । उनीहरूले केही सीमित व्यक्ति तथा समूहको स्वार्थपूर्तिका लागि राज्यको सार्वजनिक सम्पत्ति र स्रोतसाधन दोहन हुन दिँदैनन् ।


अहिले दलहरुले जनतालाई राहत हुने कुनै पनि कार्य गरे भने स्टन्टको राजनीति ग¥यो भनी एकअर्कालाई आरोपप्रत्यारोप गर्ने गरेको पाइन्छ । वास्तवमा दीर्घकालीन हित र सुधारका लागि गरिने जनसेवामा केन्द्रित कार्यहरूलाई स्टन्ट भन्नु उपयुक्त हुँदैन । सेवामुखी राजनीति गर्नेले अरुले गरेका असल कार्यहरुको समर्थन गर्दै आफूले त्यस किसिमका कार्यहरु गर्न अग्रसरता देखाउनुपर्छ ।


फेरि पनि यो या त्यो बहानामा जनतालाई झुक्याउने, दिगभ्रमित पार्ने वा धोका दिने काम कुनै राजनीतिक दल या नेताबाट भएमा नयाँ होस् या पुरानो त्यो दलको पतन हुन धेरै समय लाग्ने छैन । जनता अब सचेत र जागरुक भइसकेका छन् । तसर्थ स्टन्टको राजनीतिभन्दा पनि सेवामुखी राजनीतिमा ध्यान केन्द्रित गर्दै आफ्नो मिसन, उद्देश्य तथा लक्ष्य हासिल गर्नेतर्फ लाग्नु नै राजनीतिक दलका लागि बुद्धिमत्तापूर्ण कदम हुनेछ ।

तपाईको प्रतिक्रिया