छिम्केश्वरी मन्दिरको विकासमा पालिकाको पहल

राष्ट्रिय समाचार समिति (रासस) २०८० भदौ १५ गते १३:३३

तनहुँ ।
समुद्री सतहबाट २ हजार १ सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरमा पर्यटकको आर्कषण बढ्दै गएको छ । आँबुखैरेनी गाउँपालिका ५ मा रहेको छिम्केश्वरी मन्दिर पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको हो ।

Advertisement


यो मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल लगायतका प्राकृतिक मनोरम दृश्य अवलोकन गरी आनन्द लिन सकिन्छ । आँबुखैरेनीबाट लाब्दीसम्म करिब १८ किमीमध्ये ९ किमी कालोपत्र छ भने अन्य सडक ग्राभेल छ । ग्राभेल सडकपश्चात् ७ सय ५० मिटर रेलिङ निर्माण गरिएकाले पैदल हिँड्नुपर्ने हुन्छ ।


धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको यस मन्दिरमा हालै ४ सय २५ किलोग्राम पित्तलको पाता प्रयोग गरी मन्दिरको छाना छाइएको गाउँपालिकाका इन्जिनियर पंकज मगरले जानकारी दिनुभयो । प्यागोडाशैलीमा पुनः निर्माण गरिएको उक्त मन्दिरमा छाना, मुकुट, नागोल, झलर र गजुर निर्माण लगायतका कार्यमा पित्तल प्रयोग गरिएको हो ।

Advertisement


गाउँपालिकाको २१ लाख ५० हजार ४ र बाँकी रकम उपभोक्ता समितिले व्यहोर्ने गरी २३ लाख ९७ हजार २ सय १८ लागतमा यो कार्य गरिएको हो । मन्दिरको छानाका लागि मात्रै ज्यालासहित १२ लाख खर्च भएको छ । मन्दिर परिसरमा मौला निर्माण गर्ने, मन्दिरको भित्री भागमा टायल बिच्छाउने, रङरोगन र टल्काउने लगायतका कार्य गरेर चिटिक्क बनाइएको छ ।


धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले यस स्थानको मन्दिर जीर्ण बनेपछि गाउँपालिकाले करिब ४५ लाख बजेट विनियोजन गरी पुनर्निर्माण गरेको हो । छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित गाउँपालिका अगाडि बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए ।

Advertisement


गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएको छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने विश्वास रहँदै आएको छ । ७ देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साइली गोरखाकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोहीस्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीको डाँडामा खानेपानीको स्रोत नभएकाले प्लास्टिकको पोखरीमा पानी सङ्कलन गरेर गत वर्षदेखि मन्दिर पुनर्निर्माणको काम सम्पन्न गरिएको छ ।


मन्दिर जीर्ण भएपछि गाउँपालिकाले गत वर्षबाट मन्दिर निर्माणको काम सुरु गरे पनि भौगोलिक विकटताका कारण निर्माण कार्यमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । मन्दिरको भौतिक संरचना परिवर्तन गरी आकर्षण स्थल बनाएसँगै पर्यटकीयस्थलका रूपमा विकास गर्न लागिएको उनी बताउँछन् ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया