गाउँ ब्लक पुर्जा वितरण

कृष्ण न्यौपाने
दमौली
नापी कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका ४ भाँगेका सर्वसाधारणलाई गाउँ ब्लक पुर्जा वितरण गरेको छ । वर्षौदेखि जोतभोग गर्दै आएका भूमिहीनलाई नापी कार्यालयले गाउँ ब्लक जग्गाको धनी पुर्जा वितरण गरेको हो ।
सर्वसाधारणको सहजतालाई ध्यानमा राखी गाउँमै पुगेर त्यहाँका २७ जनामध्ये २३ जनालाई गाउँ ब्लक जग्गाको जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । ४ जनालाई भने कागजात नमिलेका कारण पुर्जा वितरण गर्न नसकिएको उनले बताए । उनले भने, ‘ग्रामीण भेगका जनतालाई सदरमुकामसम्म आउन नपरोस् भनेर गाउँमै पुगेर पुर्जा वितरण गर्याै । ४ जनामध्ये कोही उपस्थिति हुनुभएन, कोहीको भने कागजात नमिलेका कारण वितरण गर्न सकिएन ।’
आचार्यका अनुसार गाउँ ब्लकको जग्गाधनी पुर्जा पाउनेमध्ये धेरैले २ रोपनी जग्गा पाएका छन् भने १ आना, २ आना र ३ आनासम्म पाउने पनि छन् । पुर्जा पाएपछि स्थानीयवासी खुशी भएका छन् । पुर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशवण्डा गर्नबाट बञ्चित थिए । विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नक्सानाप गरिएको थियो । तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । एकै ठाउँमा धेरै घरहरु भएका ठाउँमा नापनक्सा हुन छुट भएको थियो । उक्त समयमा ती जग्गामा ब्लक नं लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नं नापेर भोगको आधारमा पुर्जा वितरण गरेको हो ।
तनहुँमा विसं २०७१ सालदेखि गाउँ ब्लक नाप्न सुरु गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ वटा गाविसमा गाउँ ब्लक रहेको छ । गाउँ ब्लक अन्तर्गत रहेका सर्वसाधारणले कार्यालयमा आएर ब्लक पुर्जा बनाउन सक्नेछन् । नापी कार्यालयले आँबुखैरेनी गाउँपालिका ६ हिलेखर्कमा २ महिना अगाडि ३३ जनालाई ब्लक पुर्जा वितरण गरेको थियो ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया