६१ औं नेपाल रेडक्रस दिवस

रेडक्रस अभियानमा उत्कृष्ट कास्की शाखा

धर्मराज अधिकारी २०८० भदौ १९ गते १२:१३

मनैदेखि सेवा भन्ने नाराका साथ ६१ औं नेपाल रेडक्रस दिवस मनाउने सन्दर्भमा रेडक्रस अभियानका संस्थापक जाँ हेनरी डियुनालाई स्मरण गर्नु हाम्रो कर्तव्य हो । सन् १८२८ मे ८ मा स्विजरल्यान्डको जेनेभामा हेनरी डियुनाको जन्म भएको थियो । उनी व्यापारको सिलसिलामा सन् १८५९ को जुन महिनामा इटालीको सल्फेरिनो पुगेका थिए । त्यस बेला इटाली फ्रान्स र अस्ट्रियाबीच युद्ध भइरहेको थियो । युद्धमा ६ हजार सैनिक मरिसकेका थिए भने ४० हजार घाइते भएको अवस्था थियो । त्यो दर्दनाक अवस्था देखेर उनको मनमा मानवीय करुणा पलायो र तत्काल सहयोग पुर्‍याउने काम गरे ।

Advertisement


त्यस युद्धको दुःखद दृश्यबाट प्रभावित भएर उनले सन् १८६२ मा फेञ्च भाषामा ‘सल्फिेरिनोको सम्झना’ नामक पुस्तक प्रकाशन गरे । त्यस पुस्तकमा युद्धको समयमा सेनाको चिकित्सक सेवा अपर्याप्त हुने भएकाले घाइतेहरुको उद्धारका लागि हरेक देशमा स्वंसेवी उद्धार संस्था स्थापना हुनुपर्ने र समन्वयको लागि एउटा अन्तर्राष्ट्रिय सम्झौता हुनुपर्ने दुई प्रमुख सुझाव उल्लेख भए । ती विषयमा साथीहरु लुइस एप्पिया, गुलियन हेन्री डुफोर, थेडोरी म्याक्नोयर, गुस्तेभ माइनरसगँ मिलेर डियुनाले सन् १८६३ मासहयोगमा घाइतेहरुको सहयोगका निम्ति अन्तराष्ट्रिय समिति नामको संस्था स्थापना गरे ।


पछि त्यही सस्था अन्तर्राष्ट्रिय समितिमा परिणत भयो । सन् १८६४ मा सम्पन्न अन्तर्राष्ट्रिय भेलाको जेनेभा महासन्धिको व्यवस्था ग¥यो । त्यो सन्धि अनुसार राष्ट्रिय सोसाइटी स्थापना गर्नेसम्बन्धी देशको सरकारले हस्ताक्षर गनुपर्ने प्रावधान राखियो । विश्वमा रेडक्रस स्थापना भएको १ सय वर्षपछि मात्र नेपालमा तत्कालीन स्वास्थ्य मन्त्री डा नागेश्वरप्रसाद सिंहको अध्यक्षता भएको भेलाले विंस २०२० साल भाद्र १९ गते तत्कालीन अधिराजकुमारी प्रिन्सेप शाहको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गर्‍यो ।

कास्कीमा अहिले ६ सयभन्दा बढी संघ, संस्थाले स्वतःस्फूर्त रुपले नियमित रक्तदान आयोजना गर्ने गरेका छन् ।


त्यही दिनको सम्झनामा आज हामी नेपाल रेडक्रस दिवस मनाउँदै छौँ । विसं २०२१ साल भदौ २४ गते नेपाल सरकारले जनेभा महासन्धिमा हस्ताक्षर गरेपश्चात संस्थाका गतिविधि अगाडि बढिरहेका छन् । रेडक्रस अभियानका सात सिद्धान्तलाई मार्गदर्शक शिद्धान्तको रुपमा आत्मसात गरेको नेपाल रेडक्रस सोसाइटीले संस्थाको दूरदृष्टि र दूरगामी लक्षलाई निर्धारण गरेपश्चात मानवीय सेवाको दृष्टिकोणबाट संस्थालाई अगाडि बढाउन बल मिलेको हामी पाउछौँ ।

Advertisement


नेपाल रेडक्रस सोसाइटीको विधानमा २०४८ मा भएको संशोधनले रेडक्रसमा उपशाखा प्रथाको थलानी ग¥यो । उपशाखा स्थापनाका कारणले सहरी तथा ग्रामीण क्षेत्रका समुदायसम्म रेडक्रसका अभियानका गतिविधि सञ्चालन गर्ने सहज व्यवस्था भएको छ । हाल नेपाल रेडक्रस सोसाइटीको विधान, २०२० सत्रौं संशोधन, २०७४ बमोजिम सबै तहका रेडक्रस स्वंसेवकहरु मानवीय सेवामा क्रियाशील हुने गरेका छन् ।


तत्कालीन गण्डकी अञ्चलका अञ्चालाधीश नन्दबहादुर मल्लको नेतृत्वमा अञ्चल रेडक्रसको रुपमा पोखरामा रेडक्रसको स्थापना २०२२ साल भदौ १९ गते भएको हो । गण्डकी अञ्चलमा स्थापित त्यही रेडक्रसपछि कास्की रेडक्रसमा परिणत भई जिल्ला कार्यसमिति, विभिन्न उपसमितिको समेत कार्यशीलताका कारण संस्थाको मानवीय गतिविधि अगाडि बढाउन सफलता मिल्ने गरेको छ ।


हजारौं आजीवन सदस्य, सयौं विशिष्ट र यशस्कर सदस्य, करिब २ सय जुनियर युवा सर्कल र ४८ उपशाखा कास्की रेडक्रसका दह्रा हात हुन् । यिनीहरु सबैको योजनाबद्ध सञ्चालन नियमित रुपले गर्न कार्यक्रमहरु कास्की शाखाले बनाइरहेको छ । विपद्मा निस्वार्थ रुपले सेवा गर्ने उद्देश्यबाट स्थापना भएको संस्थाको मर्मलाई आत्मसात् गर्ने काममा आवश्यकता अनुसार आफ्ना सञ्जाल सबैलाई परिचलान गर्ने गरिन्छ । विपद्को अवस्थामा १ सय परिवारसम्मलाई राहत उपलब्ध गराउने तयारी अवस्थामा कास्की शाखा रहने गरेको छ ।


शाखा अन्तर्गतका उपशाखाले १० परिवारसम्मलाई राहत उपलव्ध गराउने क्षमता बनाउने प्रयत्न गरेका छन् । रेडक्रस केन्द्रले गैर खाद्य सामग्री दिएर यस काममा सहयोग पुर्‍याउने काम गर्दै आएको छ । विपदको समयमा विपद् प्रभावितलाई राहत पुर्‍याउन हामी सबैभन्दा पहिला हुन पनि कोशिस गर्दछौं । हामीले सञ्चालन गरेको रक्त सञ्चार सेवालाई समयानुकूल बनाउन प्रयत्न हुँदै आएको छ । बिरामीले उपयोगमा लिने रगतको स्तरीयतालाई ध्यान दिने गरिएको छ ।


रगतको माग बढ्दै जाँदा वर्षमा ३३ हजार युनिटसम्म रगत वितरण गर्नुपर्ने परिस्थिति सृजना भएको छ । माग अनुसारको आपूर्ति व्यवस्थाका लागि प्रभावकारी ढंगबाट सञ्चालन हुने गरेका उत्प्रेरणा कार्यक्रमले मद्दत पुर्‍याइरहेका छन् । यही कारण अहिले ६ सयभन्दा बढी संघ, संस्थाले स्वतस्फूर्त रुपले नियमित रक्तदान गर्ने गर्दछन् । आरदायु र स्वयंसेवी रक्तदाता संस्थाले पनि रगत संकलनमा सहयोग पुर्‍याएका छन् । अस्पतालहरुबाट रगत माग भई आएको अवस्थामा रगत छैन भन्ने अवस्था हामीले अन्त गर्न सकेका छौं ।


कहिलेकाँही चितवन र काठमाडौं पनि रगत पठाएर सहयोग पुर्‍याउने गरेका छौं । कास्की शाखाकै पहलमा २०७८ फागुन १ गतेदेखि गण्डकी प्रदेश सरकारको सहयोगमा सबै सेवाग्राहीले रगत निःशुल्क उपयोग गर्न पाउने व्यवस्था भएको छ । यी सबै गतिविधिका कारण कास्की शाखाद्वारा सञ्चालित रक्त सञ्चार सेवाले देशभरमै समुन्नत रक्त सञ्चार सेवाको रुपमा पहिचान बनाएको छ ।


कास्की शाखाले सञ्चालन गरेका २ एम्बुलेन्सले नियमित रुपले जिल्लाभित्र र बाहिर भरपर्दो सेवा दिँदै आएका छन् । सामुदायिक विकासको काममा पनि कास्की शाखाले विगतका वर्षदेखि नै सफलता पाउँदै आएको छ । हालसम्म दाताको आर्थिक सहयोगमा जिल्लाभित्र र बाहिरसमेत गरी १ सयभन्दा बढी दूरदराजका समुदायमा खानेपानी तथा सरसफाइ कार्यक्रम सम्पन्न भएका छन् । हजारभन्दा बढी सुधारिएको चुलो वितरण गर्ने काम पनि भएको छ ।


दाताहरुकै आर्थिक सहयोगमा कास्की शाखाले सञ्चालन गरेका एचआइभी एड्स, जलवायु परिवर्तन र संक्रामक रोगलाई निरुत्साहित गर्ने खालका परियोजना पनि हामीले सञ्चालन गर्न सक्यौं । विपद्को हिसाबले सहरमा देखिन थालेका जोखिमहरुलाई विस्तार हुन नदिनका लागि उत्थानशील नगर प्रवद्र्धन तथा सहभागितात्मक कार्यक्रम सफलतापूर्वक सञ्चालन हुन सकेबाट सहरी समुदाय उत्थानशील हुँदै गएको पनि छ । यसैसँग सम्बन्धित अर्बानसी र जीविकोपार्जन कार्यक्रमले पनि सहरी समुदायको अप्ठ्यारोलाई सुल्झाउन मद्दत पुर्‍याएको छ ।


विपद्मा काम गर्ने संस्था भएकाले विपद्को सामना गर्न दक्ष जनशक्ति आवश्यक पर्दछ भन्ने कुरालाई दृष्टिगत गरी कास्की शाखाले नियमित रुपले प्राथमिक उपचार, विपद् व्यवस्थापन, नेतृत्वसीप विकास, क्याड्रे जस्ता तालिम सञ्चालन गर्ने गरेको छ । संस्थाको कार्यसमिति, लैंगिक तथा सामाजिक समावेशीकरण समिति, शिक्षक नायक, युवा सर्कल तथा कर्मचारीभित्र यी तालिम सञ्चालन गरी जनशक्तिको हिसाबले संस्थालाई सबल बनाउने गरिएको छ ।


उल्लिखित गतिविधिका कारण कास्की शाखा देशका ७७ वटै जिल्ला शाखामा अब्वल दर्जाको शाखा मानिन्छ । केन्द्रीय महाधिवेशन हुने बेला केन्द्रले गर्ने मूल्यांकनमा शाखा, महिला समिति, जुनियर युवा समिति, शिक्षक नायक, रक्त सञ्चार सेवा तथा विपद् व्यवस्थापनले समेत उत्कृष्टता पाउने गरेबाट हामी गौरवान्वित छौं ।


अधिकारी नेपाल रेडक्रस सोसाइटी कास्की उपसभापति हुन् ।

तपाईको प्रतिक्रिया