‘शिक्षकको सही व्यवस्थापन समस्याको हल’

समाधान संवाददाता २०८० असोज ४ गते ११:४२

पोखरा ।
‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा, राष्ट्रको इच्छा’ भन्ने नाराका साथ गण्डकी प्रदेशमा राष्ट्रिय शिक्षा दिवस मनाइएको छ । २ असोज २०७५ मा अनिवार्य र निशुल्क शिक्षा ऐन जारी भएको अवसरमा शिक्षा दिवस मनाएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिम्खडाले बताइन् ।

Advertisement


शिक्षा विभागका पूर्व महानिर्देशक बाबुराम पौडेलले अनिवार्य र निशुल्क शिक्षा २०३५ सालदेखि प्रयास गरेको भए पनि अझै पूरा नभएको बताए । आधारभूत शिक्षामा सबैको सहज र समतामूलक पहुँच निश्चित गर्नुपर्ने उल्लेख गर्दै उनले आधारभूत शिक्षापछि प्राविधिक शिक्षा अनिवार्य दिने भनिए पनि कार्यान्वयन नभएको चर्चा गरे ।


उनले अनिवार्य र निशुल्क शिक्षा प्रदान गर्नको लागि राज्यका निकायको इच्छा र प्रतिवद्धता आवश्यक भएको उल्लेख गरे । उनले नेपालमा अहिले पनि ३ लाख विद्यार्थी शिक्षाको पहुँच बाहिर रहेको दाबी गरे ।


शिक्षा क्षेत्रको सुधारका लागि ३ तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्य आवश्यक भएको खाँचो औल्याउँदै उनले शिक्षामा लगानी सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरे । उनले विद्यालय शिक्षा विधेयक २०८० ले तीन तहको सरकारको काम कर्तव्य र अधिकार किटान नगरेको तर्क गरे ।


विद्यालय शिक्षाको जिम्मा स्थानीय तहलाई दिएको भएता पनि संघीय सरकार मातहतका शिक्षकले स्थानीय तहलाई नटेर्दा समस्या आएको दाबी पौडेलको छ । ‘शिक्षा क्षेत्रका ८० प्रतिशत समस्या पनि शिक्षक हुन्,’ उनले भने, ‘शिक्षकको सही रुपमा व्यवस्थापन गर्न सके शिक्षा क्षेत्रका ८० प्रतिशत समस्या समाधान गर्न सकिन्छ ।’

Advertisement


उनले पोशाक, स्टेसनरी र खाजा सबै विद्यार्थीका लागि समान हुनुपर्ने उल्लेख गर्दै कक्षा ६ का विद्यार्थीको खाजा कटौती गरेकोमा असहमति प्रकट गरे । उनले विद्यार्थी आएनन्, बसेनन्, सिकेनन् र पढेर पनि विकेनन् भने साधारण शिक्षा गुणस्तरीय नभएको तर्क गरे ।


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सीपमूलक शिक्षा दिएर युवालाई स्वदेशमै टिकाउनु मुख्य चुनौती रहेको बताए । कोही पनि नेपालमा पढ्न पनि नचाहने, बस्न पनि नचाहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले देशको मुल शिक्षा नीति सही भए विदेश पलायन रोक्न सकिने तर्क गरे । उनले गण्डकी प्रदेश सरकारले शिक्षामा सुधारका लागि इमान्दार भएर प्रयास गरेको दाबी गरे ।


मुख्यमन्त्री पाण्डेले सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले कुनै पनि विश्वविद्यालय र क्याम्पसमा नभएको विषयलाई पठनपाठन गर्नुपर्ने सुझाए । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सिम्खडाले शिक्षा क्षेत्रमा सुधार तथा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नयाँ ढंगले काम गर्नुपर्ने उल्लेख गरिन् । शिक्षा तीन तहको साझा अधिकार सूची अन्तर्गत रहेको चर्चा गर्दै उनले प्रदेशले प्राविधिक शिक्षाको विकास र विस्तारमा ध्यान दिएको दाबी गरिन् ।


प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् गण्डकी प्रदेशका निर्देशक दामोदर देवकोटाले प्राविधिक शिक्षमा सबैको पहँुच पु¥याउने सरकारको लक्ष्य रहेको बताए । सीपको प्रमाणीकरण गरी दक्षता अभिवद्धि नहँुदा प्रािवधिक शिक्षाको गुणस्तर खस्केको उनले उल्लेख गरे ।


कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव वद्रीनाथ अधिकारी र शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिकाप्रसाद आचार्यले शिक्षा दिवसको बारेमा बोलेका थिए । कार्यक्रममा कलाकारहरु राजबहादुर गुरुङ र उषा गुरुङले गण्डकी प्रज्ञा प्रतिष्ठानले गण्डकी प्रदेशको चिनारी गीत गाएका थिए ।

तपाईको प्रतिक्रिया