राजनीतिमा चासो राख्न तमुहरुलाई सांसद गुरुङको आग्रह

समाधान संवाददाता २०८० असोज ७ गते ७:३२

लेखनाथ ।
प्रतिनिधि सभाका सदस्य मनबहादुर गुरुङले तमु जातिले शिक्षा र राजनीतिमा कम चासो देखाएकाले पछि परेको बताएका छन् ।

Advertisement


ङ्योए तमु धि लेखनाथको २२ औं वार्षिक साधारण सभाको शुक्रबार उद्घाटन गर्दै सासंद गुरुङले तमु जातिले शिक्षा र राजनीतिलाई कम चासो र पैसालाई बढी जोड दिएकाले पछि परेको तर्क राखेका हुन् । जीवनका लागि पैसा हो कि ? पैसाका लागि जीवन हो भन्नेप्रति ख्याल गर्न सांसद गुरुङले आग्रह गरे ।


गण्डकी प्रदेशकी सासंद सरस्वती गुरुङले हामीलाई पछि पारियो भन्दै गर्दा हामीले नेतृत्वमा जाने प्रयास गरियो कि गरिने भन्नेतर्फ सोच्नुपर्ने खाँचो औंल्याइन् । जागिरे जीवनमा कमाएको रकमलाई रमाउने र औषधीमूलोमा खर्च गर्ने परिपाटीले अगाडि बढ्न नसकिने उनको भनाइ थियो ।

Advertisement


तमु धि नेपालका केन्द्रीय अध्यक्ष हुम गुरुङले व्यक्तिगत स्वार्थभन्दा पनि सामूहिक स्वार्थका लागि काम गर्नुपर्ने खाँचो औंल्याए । वडा नम्बर २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ र वडा नम्बर २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङले तमु जाति फुटेर होइन जुटेर मौलिक भाषा र संस्कृतिको संरक्षण गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।


संस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पोखरा महानगरपालिका जनजाति महासंघ समन्वय संस्थाका संयोजक जंगबहादुर गुरुङ, मुसेटँुडा तमु प्येहलु संघका अध्यक्ष कृष्णबहादुर गुरुङ, सैनिक बस्ती ग्रुप नम्बर १ का अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङ, सक्नेरी बुद्ध आमा समूहकी अध्यक्ष लक्ष्मी गुरुङ लगायतले कार्यक्रममा आआफ्नो भनाइ राखे ।

Advertisement


विविध सांस्कृतिक कार्यक्रमका साथ भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघको नवनिर्वाचित टिमलाई स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन महासचिव काशीमाया गुरुङ र सहसचिव राजु गुरुङले गरेका थिए । धन्यवाद ज्ञापन उपाध्यक्ष चीनबहादुर गुरुङ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष बुद्धिमाया गुरुङले प्रस्तुत गरे । संस्थामा साविक लेखनाथ नगर क्षेत्रभित्रका २६ वटा क्षेत्रीय तमु समाजहरुको प्रतिनिधित्व छ ।

तपाईको प्रतिक्रिया