हाइड्रोको सहयोगमा स्कुल भवन निर्माण सुरु
दमौली ।
तनहुँ जलविद्युत आयोजनाको सहयोगमा भिमाद नगरपालिका ५ ऋषिङपाटन स्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण सुरु गरिएको छ । सामाजिक उत्तरदायित्व विकास कार्यक्रममार्फत् उक्त आयोजनाले विद्यालयको सुविधासम्पन्न भवन निर्माणमा सहयोग पुर्याएको हो ।
भवन शिलान्यास गर्दै नगर प्रमुख दधिराज सुवेदीले यस आयोजनाले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे । आयोजनाबाट असर पर्ने क्षेत्रमा आयोजनाले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार क्षेत्रमा गरेको काम सकारात्मक रहेको उनको भनाइ छ । ९४ लाख ५७ हजारको लागतमा निर्माण सुरु गरिएको भवन विसं २०८१ माघ २४ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाका निमित्त प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
उक्त आयोजनाले त्यस क्षेत्रमा आवश्यकताअनुसारको विकास निर्माणमा सहयोग गरेको उनले जनाए । विद्यालयको भवन जीर्ण रहेकाले नयाँ भवनको आवश्यकता खड्किएको बेला आयोजनाको सहयोगले पठनपाठनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
उक्त आयोजनामार्फत् व्यास नगरपालिका ५ वेनीपाटनमा पराशर माध्यमिक विद्यालयको भवन पनि निर्माण भइरहेको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयको दुई तले आठ कोठा भवनको काम भइरहेको हो । भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच १ करोड ३८ लाख २४ हजारको लागतमा ठेक्का सम्झौता भएको थियो । विद्यालय भवन १८ महिनाभित्रमा निर्माण गर्ने लक्ष्य छ ।
आयोजनाबाट पीडित विभिन्न पालिकामा सामाजिक उत्तरदायित्वअन्तर्गत नाला, तटबन्ध र आमा समूहको भवन निर्माणका साथै सडक बत्ती जडान, नदी नियन्त्रणलगायत काम हुँदै आएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।
आयोजना निर्माणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको उनको भनाइ छ । प्रबन्ध सञ्चालक श्रेष्ठले भने, ‘समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौं, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।’









कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया