एमाले गण्डकी अधिवेशन

एमाले गण्डकीमा सहमति टर्दै, चुनावी माहोल बन्दै

समाधान संवाददाता २०८० असोज १४ गते १०:४७

पोखरा ।
नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनका लागि प्रदेशभरबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएका छन् । लुुम्बिनी प्रदेश र बागमती प्रदेशमा निर्वाचनबाट नेतृत्व चुनिँदा गण्डकीमा पनि निर्वाचन हुने माहोल बढेको छ । गण्डकीको अधिवेशन १५ र १६ गते हुँदै छ ।

Advertisement


निर्वाचनमा जाँदा पार्टीले अस्वीकार गर्दै आएको गण्डकीका दुई समूहको प्रतिस्पर्धा हुने निश्चित प्राय छ । प्रदेश कमिटी अध्यक्षमा अहिलेकै अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीको दाबा छ ।


अधिवेशनमा दुई ‘धार’को प्रतिस्पर्धा हुने संकेत प्रतिनिधि छनोटले गरेको छ । अधिवेशनका लागि प्रतिनिधि छनोट चरणमा पनि ती दुई ‘धार’ को प्रतिस्पर्धा रह्यो । आफू अनुकुलका प्रतिनिधि छनोट गर्न दुई ‘धार’ बिच निकै प्रनिस्पर्धा भयो । कास्कीको रुपा गाउँपालिकाबाहेक प्रदेशका ८४ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भयो । तर, सर्वसम्मत चयन सकस नै हुन पुग्यो । प्रतिनिधि छनोटपछि दुवै पक्षले आफूअनुकुल प्रतिनिधि नै धेरै भएको दाबी गर्दै आएका छन् ।

सामान्य अवस्थामा म प्रतिनिधि भएर आउँदैनथेँ । रहर लागेर प्रदेश अधिवेशनको प्रतिनिधि भएर आएको होइन । बन्द सत्र हेर्न आएको होइन । केन्द्रीय सदस्य भइरहेको मान्छे प्रदेशमा आउने आवश्यकता पनि थिएनः मायानाथ अधिकारी ।


शर्मालाई अध्यक्ष दोहो¥याउन चाहने पक्ष प्रतिनिधिको ७० प्रतिशतभन्दा धेरै आफ्नो पक्षको प्रतिनिधि रहेको दाबी गर्छ । ‘हाम्रो पक्षमा ६ सयभन्दा बढी मत भएको हाम्रो निष्कर्ष हो,’ उनीनिकट एक नेताले भने । केन्द्रीय सदस्य मायानाथ अधिकारी पक्षको पनि ६५ प्रतिशतभन्दा बढी आफ्नो पक्षको प्रतिनिधि रहेको दाबी छ । शर्मा पक्ष भने ८० प्रतिशत प्रतिनिधि आफूहरुको पक्षमा भएको दाबी गर्छ ।

Advertisement


‘हाम्रो पक्षका प्रतिनिधि नै ८० प्रतिशत छन् भने सर्वसम्मत नै शर्मालाई बनाए भइहाल्यो नि,’ शर्मानिकट एक नेताले भने, ‘लड्ने भए पनि चुनाव लड्न तयारै हो ।’ दुवै पक्षको रस्साकस्सीका कारण अरु प्रदेशमा जस्तै गण्डकीमा पनि चुनावी माहोल नै बढी तातिएको छ ।


अधिवेशनको बन्द सत्र हेर्नमात्रै प्रतिनिधि भएर नआएको केन्द्रीय सदस्य मायानाथले बताए । ‘सामान्य अवस्थामा म प्रतिनिधि भएर आउँदैनथेँ । रहर लागेर प्रदेश अधिवेशनको प्रतिनिधि भएर आएको होइन । बन्द सत्र हेर्न आएको होइन । केन्द्रीय सदस्य भइरहेको मान्छे प्रदेशमा आउने आवश्यकता पनि थिएन,’ उनले भने ।


मायानाथले विगतको अनुभव र पृष्ठभूमिले प्रदेश अध्यक्ष भएर काम गर्नु सक्ने विश्वासका साथ अगाडि बढेको सुनाए । ‘पार्टीमा सबै साथीहरुले पार्टीलाई सुदृढ बनाउन तपाईं नै आउनुपर्छ । तपाईंको आवश्यकता छ । अगाडि बढ्नुस् भनेपछि म प्रतिनिधि भएर आएको हुँ,’ उनले भने, ‘विगतको अनुभव र पृष्ठभूमिले प्रदेश अध्यक्ष भएर काम गर्नु सक्छु भन्ने विश्वासका साथ अगाडि बढेको छु । त्यसमा साथीहरुले पनि विश्वास गर्नुहुनेछ भन्ने मेरो अपेक्षा छ ।’


केही दिनअघि मात्रै अध्यक्ष नवराज शर्माले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रदेश कमिटी अध्यक्ष बन्ने आंकाक्षा व्यक्त गरेका थिए । त्यसबाहेक हालका सचिव धनञ्जय दवाडी पनि अध्यक्षका बलियो दाबेदार हुन् । तर उनी शर्मा अघि बढ्दा आफू सचिवकै जिम्मेवारीमा रहन पनि तयार हुन सक्छन् । अहिलेका उपाध्यक्ष मोहन रेग्मी पनि दोहोरिन आकांक्षी हुन् । उपाध्यक्षमै प्रभा कोइराला, देवका पहारी र मञ्जु अधिकारी पनि आकांक्षी छन् । अधिकारी अहिलेको कमिटीका उपसचिव हुन् ।

सहमतिमा नेतृत्व चुने राम्रै हुन्छ । हामी अन्तिमसम्म सर्वसम्मत नेतृत्व चुन्ने कसरतमा छौं । निर्वाचनमा जाने अवस्था आयो भने त्यो परिस्थिति हेरेर अगाडि बढ्छु । नेतृत्वले जे निर्णय गर्छ, त्यो मानेर अगाडि बढ्छुः नवराज शर्मा


अध्यक्षका आकांक्षी शर्माले सहमतिकै आधारमा नेतृत्व चुन्ने गरी कसरत भइरहेको बताए । ‘सहमतिमा नेतृत्व चुने राम्रै हुन्छ । हामी अन्तिमसम्म सर्वसम्मत नेतृत्व चुन्ने कसरतमा छौं । निर्वाचनमा जाने अवस्था आयो भने त्यो परिस्थिति हेरेर अगाडि बढ्छु । नेतृत्वले जे निर्णय गर्छ, त्यो मानेर अगाडि बढ्छु,’ उनले भने ।


अध्यक्षका आकांक्षीमध्ये नवराज शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङको र मायानाथ अधिकारीलाई स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीको साथ छ । नेताहरु किरण गुरुङ र पद्मा अर्याल सर्वसम्मत कमिटी गठनको पक्षमा छन् ।


केन्द्रीय सदस्य राजीव पहारी, बागलुङका जिल्ला अध्यक्ष हीराबहादुर केसी, तनहुँ पूर्व प्रदेश सभा सदस्य केदार सिग्देल, स्याङ्जाका सोभियत ढकालको पनि प्रदेश अध्यक्षमा दाबी छ । तनहुँका विष्णुभक्त सिग्देलले सचिव पदमा उम्मेदवार दिने दाबी गरेका छन् । कास्कीका टीकाराम पँगेनीले पनि पदाधिकारीमा आकांक्षा व्यक्त गरेका छन् । आकांक्षी धेरै भएको हुँदा पनि सर्वसम्मत भन्दा निर्वाचनकै माहोल देखिन्छ ।

तपाईको प्रतिक्रिया