स्वास्थ्यमा दरबन्दी थप्छौंः मुख्यमन्त्री

समाधान संवाददाता २०८० असोज १५ गते १२:१४

पोखरा ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार मातहतका अस्पतालहरु स्तरोन्नति गर्ने प्रतिवद्धता जनाएका छन् । प्रदेश सरकारअन्तर्गत बाह्र अस्पताल छन् ।

Advertisement


सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय गण्डकीले आयोजना गरेको आर्थिक वर्ष २०७९ ÷०८०मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको गण्डकी प्रदेश स्तरीय वार्षिक समिक्षा कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सीमित स्रोत र ठूलो अवश्यकताबीच समन्वय गर्दै अघि बढ्ने जनाए । गण्डकी प्रदेश सरकारका अस्पतालमा अहिले जम्मा तीन सय ६५ शैया छन् भने अहिले सात सय ३५ शैयाबाट सेवा प्रवाह भइरहेको छ ।


सात सय ३५ बेडमा अस्पतालहरुलाई स्तरोन्नति गर्दा तीन अर्बभन्दा बढी लगानी हुने प्रक्षेपण छ । मुख्यमन्त्री पाण्डेले भने, ‘मलाई पनि स्तरोन्नति गरिहालौं भन्ने लागेको छ । यसैपालि नसके पनि मेरो कार्यकालभित्र अस्पतालहरुको स्तरोन्नतिको काम सक्ने प्रतिवद्धता गर्दछु ।’ आर्थिक संकटका बेला संघको अनुदान घट्ने र प्रदेशले पनि करका दर बढाउन नसक्दा सरकार खुम्चिनुपरेको उनको भनाइ छ ।

मलाई पनि स्तरोन्नति गरिहालौं भन्ने लागेको छ । यसैपालि नसके पनि मेरो कार्यकालभित्र अस्पतालहरुको स्तरोन्नतिको काम सक्ने प्रतिवद्धता गर्दछु ।


सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले स्वीकृत दरबन्दीभन्दा दोब्बर बढी क्षमतामा सेवा दिदा पनि अझै नागरिकको अपेक्षा पूरा नभएको बताइन् । सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच ग्यारेन्टी गर्न पैसा नभएरै कसैले उपचारबाट वञ्चित हुने अवस्था आउन दिनुनहुनेमा उनको जोड छ ।

Advertisement


मन्त्रालयका स्वास्थ सचिव डा विनोदविन्दु शर्माले प्रदेशका ३९ स्वास्थ्य संस्थामा २६ प्रतिशत कर्मचारीको पदपूर्ती हुन बाँकी रहेको जानकारी दिए । प्रदेशमा ७ सय ९२ कर्मचारी आवश्यक रहेकोमा ५ सय ८८ कर्मचारी कार्यरत रहेको उल्लेख गर्दै उनले २सय ४ कर्मचारी पदपुर्ती हुन बाँकी रहेको बताए । उनले प्रदेशको मातृमुत्यु दरको अवस्था कमजोर रहेको उल्लेख गरे ।


नेपालमा प्रति १ लाखमा मातृमुत्यु दर १ सय ५१ रहेकोमा गण्डकीमा प्रति १ लाखमा १ सय ६१ मृत्युदर रहेको उनले जानकारी दिए । स्वास्थ्य क्षेत्रको नीति, बजेट, पूर्वाधार तथा जनशक्तिको अवस्थाबारे प्रकाश पार्दै उनले स्वास्थ्य क्षेत्रमा कुल बजेटको १० प्रतिशत बजेट आवश्यक भएता पनि ६ प्रतिशत बजेटले काम चलाउनु परेको बताए । उनले स्वास्थ्य सम्बन्धी प्रादेशिक ऐन, नियमावली र रणनीति निर्माण गर्न आवश्यक भएको जानकारी दिए ।


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीले कुन स्वास्थ्य संस्थाले के काम गर्ने किटान गर्न नसकेको बताए । संस्थागत रुपमा कसले के काम गर्ने भन्ने बारेमा कार्यक्षेत्र निर्धारण गर्नुपर्ने उनले उल्लेख गरे । उनले सचेतनामा ठूलो भूमिका खेल्न सके उपचारको भीड कम हुने बताए । उनले सार्वजनिक खरिद ऐन जस्ता कानुनले स्वास्थ्य क्षेत्रमा तत्काल गर्नुपर्ने काम गर्न रोकेको गुनासो गरे ।


कार्यक्रममा गण्डकीका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि डा यदुचन्द्र घिमिरे, निर्देशनालयका वरिष्ट स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेल, नर्सिङ क्याम्पस पोखराका प्रमुख निता ताम्राकारले लगायतले प्रदेश तहको स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन चाल्नुपर्ने कदमबारे प्रकाश पारे ।

कार्यक्रममा मन्त्रालयका सचिव शर्मा, महानिर्देशक खड्का, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक डा राजन रिजाल, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्र, स्वास्थ्य तालिम केन्द्रका निमित्त महानिर्देशक रमेशप्रसाद अधिकारी, क्षयरोग उपचार केन्द्रका निमित्त निर्देशक डा अरुणकुमार झाले आर्थिक वर्ष २०७९/०८० को मुख्य मुख्य उपलब्धि प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया