सरकारकै योजनामा सुन तस्करीः पोखरेल

पोखरा ।
नेपाली एमाले गण्डकीको पहिलो अधिवेशन सोमबारबाट सुरु भएको छ । सोमबार दिउँसो भव्य समारोहमा अधिवेशन उद्घाटन भएसँगै साँझ पोखरा सभागृहमा बन्दसत्र सुरु भएको छ । अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि सहभागी छन् ।
अधिवेशन उद्घाटन सत्रमा एमालेका महासचिव शंकर पोखरेलले सरकारलाई भ्रष्टाचारको जुनसुकै फाइल खोल्न चुनौती दिए । उनले सरकारले नै भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाए ।
पोखरेलले भने, ‘एकातिर सरकार म त भ्रष्टाचारविरुद्धको अभियानमा छु भनेर जनताको बीचमा भ्रम सिर्जना गर्ने कोसिस गर्छ । अर्कोतिर सरकारको संयन्त्रको योजनामा विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन ल्याउने काम हुन्छ । सरकार सुशासनको पक्षमा हुन्थ्यो भने छानबिनलाई प्रभावकारी बनाउन आनाकानी नगर्ने उनको दाबी छ ।
विमानस्थलमा सुन तस्करीमा सत्ता पक्षका नेताहरुको अनुहार उदांगो भएको उनले जनाए । ‘जुनसुकै घटनाको छानबिन गर, तयार छौं । तर, अन्त्यमा एमाले होइन, सत्तापक्षकै नेताहरु जेल जान्छन्,’ पोखरेल भन्छन् । उनले गठबन्धन सरकार रहेसम्म देशको भविष्य बर्बादतर्फ जाने दाबी गरे । तर, संसदको बनावटको कारणले अहिले जनताले चाहे जस्तो एमालेको सरकार बन्न नसक्ने प्रष्ट पारे ।
जुनसुकै घटनाको छानबिन गर, तयार छौं । तर, अन्त्यमा एमाले होइन, सत्तापक्षकै नेताहरु जेल जान्छन् ।
शंकर पोखरेल
एमाले महासचिव
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरेको आरोप लगाए । दाहालले सरकार टिकाउनकै लागि अपराधीसँग सम्झौता गरेको उनको टिप्पणी छ ।
गुरुङले भने, ‘कांग्रेस शोषक, कमिसनखोर र भ्रष्टाचारीहरुको पार्टी हो । आज प्रचण्ड सरकारमार्फत् कमिसनखोर र तस्करहरु समातेको नाउमा कमरेड प्रचण्डले माधव नेपालसँग म्याच फिक्सिङ गरे । हामी सबैलाई थाहा छ । अनुसन्धानको सुइरो एउटा पूर्वप्रधानमन्त्रीको पत्नीतर्फ फर्किन्छ अनि सरकार चूप लागेर बस्छ । सरकार टिकाउन अपराधि लुकाउने कुरामा सम्झौता गरेर सरकार चलिरहेको छ ।’
उनले अहिले सरकारले भ्रष्टाचार विरोेधी अभियानको नाममा नौटंकी गरिरहेको टिप्पणी गरे । उनले माधवको पार्टी धेरै दिन नटिक्ने दाबी गर्दै एमालेमा प्रवेश गर्नसमेत आग्रह गरे । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहको गुरुङले ललिता निवास प्रकरणको फाइल फेरि खुल्ने दाबी गरे । उनले भने, ‘लतिला निवास प्रकरणमा छानबिनको ढोका बन्द भएको होइन ।
यो जनताले फेरि उठाउँछन् । बाबुराम भट्टराई होस् कि माधव नेपाल । जनताको छानबिनको कठघरामा उहाँहरु उभिनैपर्छ ।’
अधिवेशन एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भए पनि मौसमका कारण उनी आएनन् । गण्डकीमा अहिले ४ सय ४९ सदस्यीय कमिटी भने अधिवेशनले १ सय ६५ सदस्यीय कमिटी चुन्ने व्यवस्था छ ।
एमाले गण्डकीले मंगलबार बेलुकाबाट निर्वाचन प्रक्रिया थाल्ने र यथाशक्य १७ गते बेलुकासम्म नयाँ नेतृत्व चुन्ने जनाएको छ । लुुम्बिनी प्रदेश र बागमती प्रदेशमा निर्वाचनबाट नेतृत्व चुनिँदा गण्डकीमा पनि निर्वाचन हुने माहोल बढेको छ । कर्णाली र कोशी प्रदेशमा निर्वाचनपछि मतगणना जारी छ ।
निर्वाचनमा जाँदा पार्टीले अस्वीकार गर्दै आएको गण्डकीका दुई समूहको प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । प्रदेश कमिटी अध्यक्षमा बाहिर आधा दर्जनले आकांक्षा व्यक्त गरेका छन् । ती आकांक्षीका वावजुद अहिलेकै अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीको मुख्य दाबी रहेको स्रोत बताउँछ ।
अधिवेशनका लागि प्रतिनिधि छनोट चरणमा पनि दुई ‘धार’को प्रतिस्पर्धा देखियो । कास्कीको रुपा गाउँपालिकाबाहेक प्रदेशका ८४ स्थानीय तहमा सर्वसम्मत प्रतिनिधि चयन भएका थिए । प्रतिनिधि छनोटपछि दुवै पक्षले आफूअनुकुल प्रतिनिधि नै धेरै भएको दाबी गर्दै आएका छन् ।
अहिलेका उपाध्यक्ष मोहन रेग्मी पनि दोहोरिन आकांक्षी हुन् । उपाध्यक्षमै प्रभा कोइराला, देवका पहारी र मञ्जु अधिकारी पनि आकांक्षी छन् । अधिकारी अहिलेको कमिटीका उपसचिव हुन् । अध्यक्षका आकांक्षी शर्माले सहमतिकै आधारमा नेतृत्व चुन्ने गरी कसरत भइरहेको बताए । अध्यक्षका आकांक्षीमध्ये नवराज शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङको र मायानाथ अधिकारीलाई स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीको साथ छ ।
केन्द्रीय सदस्य राजीव पहारी, बागलुङका जिल्ला अध्यक्ष हीराबहादुर केसी, तनहुँ पूर्व प्रदेश सभा सदस्य केदार सिग्देल, स्याङ्जाका सोभियत ढकालको पनि प्रदेश अध्यक्षमा दाबी छ । तनहुँका विष्णुभक्त सिग्देलले सचिव पदमा उम्मेदवार दिने दाबी गरेका छन् । कास्कीका टीकाराम पँगेनीले पनि पदाधिकारीमा आकांक्षा व्यक्त गरेका छन् । आकांक्षी धेरै भएको हुँदा पनि सर्वसम्मत भन्दा निर्वाचन नै हुने एमाले नेता, कार्यकर्ता बताउँछन् ।
तपाईको प्रतिक्रिया