बालोदय मावि नेसनल च्याम्पियन
पोखरा ।
युएनडिपी नेपाल तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा ग्लोबल ट्राभल एन्ड टुरिजम पार्टनर नेपाल र टुरिजम रिसर्च एन्ड ट्रेनिङ इन्स्टिच्युटद्वारा काठमाडौंमा भएको राष्ट्रिय पर्यटन सम्मेलनमा आयोजित विभिन्न विधासँग सम्बन्धित प्रतियोगितामा बालोदय माध्यमिक विद्यालय नेसनल च्याम्पियन बनेको छ ।
सम्मेलनमा साँस्कृतिक नृत्य प्रतियोगिता, पर्यटनसम्बन्धी रिसर्च रिपोर्ट र पावर पोइन्ट प्रस्तुति तथा ट्राभल फोटो कन्टेस्टका ३ वटै विधामा बालोदय माध्यमिक विद्यालयका विद्यार्र्थीले सर्वोत्कृष्ट प्रस्तुति गरी च्याम्पियन बन्न सफल भएका हुन् ।
सांस्कृतिक नृत्य प्रतियोगितामा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरु प्रेणा गुरुङ, स्नेहा पुन, एन्जिला गुरुङ, दक्षिणा बराल, नवराज गुरुङ र विजय चालिसेले प्रथम स्थान हासिल गर्न सफल भएका छन् भने पर्यटन थिममा तयार पारिएको रिसर्च रिपोर्ट र पावर पोइन्ट प्रेजेन्टेशन कम्पिटिसन कक्षा ११ का विद्यार्र्थीद्वय दक्षिणा बराल र विजय चालिसेले जितेका छन् ।
प्रतियोगिताका विजयी विद्यार्र्थी एवं विद्यालयलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । पावरपोइन्ट प्रेजेन्टेसन कम्पिटिसनकी विजयी छात्रा दक्षिणा बराल आगामी नोभेम्बर महिनामा दुबईमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छानिएकी छन् ।
कार्यक्रमको अर्को विधा जिटिटिपी ट्राभल फोटो कन्टेस्टमा कक्षा १२ मा अध्ययनरत छात्रा मेनुका विकले प्रथम पुरस्कार १ सय अमेरिकी डलरसहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् । उनले खिचेको फोटो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि समेत छनोट भएको छ ।
सम्मेलनमा पूर्व पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले समृद्धिको आधार पर्यटन हुन सक्ने बताए । पर्यटन बोर्डका निर्देशक मणिराम लामिछानेले पर्यटन सचेतना र पर्यटनको महत्वबारे प्रकाश पारे ।
तपाईको प्रतिक्रिया