सम्पादकीयः कोरलामा नेपालको तयारी

नयाँ संविधान जारी भएपछि भारत सरकारले नेपालविरुद्ध अघोषित नाकाबन्दी गर्यो । यो नाकाबन्दीलाई कतिपय राजनीतिक दलले नाकाबन्दी नै भन्न सकेनन्, कतिपयले संघर्षका कार्यक्रममै गरे । त्यही नाकाबन्दीपछि मुस्ताङमा रहेको कोरला नाका बढी चर्चामा आएको हो । यो नाका प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका बेला खोलिने सहमति भएको छ ।
सहमतिसँग उपल्लो मुस्ताङीलाई बाह्रै महिना नाका खुला हुने देखिन्छ । अहिले बेनी जोमसोम कोरला सडक स्तरोन्नति भइरहेको छ । गण्डकी प्रदेशलाई चीनसँग जोड्ने यो नाका खुला भएमा आर्थिक रुपमा ठूलै परिवर्तन हुने अपेक्षा छ । तर उपल्लो मुस्ताङीलाई मात्र खुला हुँदा यसले गण्डकी प्रदेश र देशकै अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्दैन । व्यापार मेला आयोजना र उपल्लो मुस्ताङीलाई पासका आधारमा आवतजावतको व्यवस्थाले मात्र ठूलो राख्दैन । यसलाई द्विपक्षीय व्यापारको नाकाका रुपमा विकास गर्नु जरुरी छ ।
चीन सरकारले तिब्बत र नेपाल सीमाना जोडिएका १४ नाका फेरि खोल्ने निर्णय गरेसँगै त्यसका लािग नेपाली पक्षले पनि तयारी थालेको छ । सीमावर्ती क्षेत्रको ३० किमीभित्र बसोबास गर्ने नेपालीको सहजताका लागि चिनियाँ पक्षले बाह्रै महिना यो नाका खुला गर्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालयलाई नेपाल चीन सीमापार पास वितरण गर्न निर्देशन भइसकेको छ । अबको साता नै नाका खोल्ने तयारी छ । कोभिड महामारीपछि बन्द भएको नाका सीमित प्रयोजनकै लागि भए पनि खुला हुनु सकारात्मक पक्ष हो । नेपाली पक्षले यसलाई आर्थिक कारोबार गर्ने नाकाका रुपमा विकास गर्नुपर्छ । कोरला नाका सञ्चालन भएपछि नेचुङ भन्सारका कर्मचारीलाई कार्यस्थलमा खटाउने तयारी छ । चिनिया पक्षले नाकामा आवश्यक पूर्वाधारहरु बनाइसकेको छ । नेपालतिर भने तयारी निकै सुस्त छ, जुन चिन्ताको विषय हो ।
कोरलाको दशगजा क्षेत्रमा नेपाल पक्षले भौतिक संरचना निर्माण गर्न सकेको छैन । नेपालले कोरला नाकामा आवश्यक भौतिक संरचना निर्माणका लागि बल्ल डिपिआरको प्रक्रिया थालेको छ । अहिले नेपाली सुरक्षाकर्मी नाकाबाट दक्षिण १६ किमी नेचुङमा छन् । नेचुङमा भन्सार, क्वारेन्टाइन, प्रहरी चेक पोस्टका साथै सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएका छन् ।
लोमान्थाङको थुर्लुङफाँटमा ५ वर्षअघि नेपाली सेनाको क्याम्प राखिएको छ । नाका स्थायी रुपमा खोल्न र यसको अधिकतम प्रयोग गर्न यति टाढा बनाइएका संरचनाले काम चल्दैन । यो नाका चीनलाई भन्दा बढी नेपाली पक्षलाई आवश्यक छ । महामारीपछि उताबाट भेडा, च्यांग्रा नआउँदा तिनको मूल्य छोइनसक्नुभएको थियो । दैनिक उपभोग्य सामान पनि त्यहाँ उनैबाट ल्याउन सहज हुन्छ । अर्बाै खर्च गरी निर्माण गरिएको बेनी जोमसोम कोरला सडक पनि यही नाका सञ्चालन र व्यापारको लक्ष्यले बनाइएको हो । कोरलालाई व्यापारिक रुपले उपयोग गर्न अर्जुनदृष्टि राख्नु जरुरी छ ।
तपाईको प्रतिक्रिया